साप्ताहिक संवाददाता
विश्वमै होचा ब्यक्तिको रुपमा गिनेज बुक अफ वल्र्ड रेकर्डस्मा नाम लेखाएका चन्द्रबहादुर डाँगीको अमेरिकन सामोआ द्धिपमा शुक्रवार मृत्यु भएको छ ।
म्याजिक सर्कस अफ सामोआमा विगत ३ महिनादेखि कार्यरत रहेका डाँगीले काम गर्ने सर्कस अमेरिकन सामोआमा सर्ने क्रममा विमारी परेका थिए । अमेरिकन सामोआमा कार्यरत नेपाली चिकित्सक डा. लव चौरासियाका अनुसार उनलाई पुरानो निमोनियाले सताएको थियो । डा. चौरासियाका अनुसार डाँगीको देब्रे फोक्सो खराव रहेको र दाहिनेमा इन्फेक्सन भएको पाइएको थियो । उनी अर्धचेत भएपनि स्वास्थमा सुधार आएर होसमा आएका थिए । शुक्रवार विहान उनको खुट्टा सुन्निदै गएको थियो । गत आईतवार अस्पताल भर्ना भएका डाँगीको उपचारकै क्रममा शुक्रवार निधन भएको हो ।
उनको शव हाल अस्पतालमा रहेको छ । पोष्टमार्टमको प्रकृया भैरहेको उनको भतिज दोलखबहादुर डाँगीले जानकारी दिएका छन् । उनका अनुसार काकाको शव नेपाल ल्याएर अन्तिम संस्कार गर्ने भन्ने छ ।