नेपाली मूलका अहिलेसम्मकै सबैभन्दा ठूला फुटबल स्टार श्याम थापा केही वर्षअघि नेपाली राष्ट्रिय टिम पनि सम्हाल्थे । उनी प्राय: भन्थे, नेपाललाई पनि फुटबलको एउटा ठूलो स्टार चाहिन्छ । पछिल्लो समय यस्तै सम्भावित ठूला स्टार खेलाडीका रूपमा चित्रण हुन थालेका छन्— विमल घर्तीमगर । अखिल नेपाल फुटबल संघ (एन्फा) को नेतृत्व अहिले विमललाई यस्तै धेरै सम्भावना बोकेका खेलाडीका रूपमा व्याख्या गर्न व्यस्त छ । नेपालले भर्खरै काठमाडौंमा साफ यू–१९ साफ च्याम्पियनसिप जितेको छ र त्यसमा यिनै विमलले नेतृत्व गरेका थिए ।
प्रतियोगितामा सहभागी अरू दक्षिण एसियाली टिमले पनि उनका बारेमा धेरै सुनेका थिए, त्यसैले प्रतिद्वन्द्वी टिम उनलाई रोक्ने रणनीति बनाइरहेका थिए । विमलसँग युरोपमा अभ्यास गरेको अनुभव छ । उनले आफूलाई युरोपमा स्थापित गर्ने हो भने त्यहाँको फुटबल खेल्ने पहिलो व्यवसायिक नेपाली खेलाडी पनि हुन सक्छन् । निश्चित रूपमा उनका सम्भावना धेरै छन् ।
विश्व खेलकुदमा एउटा शब्द प्रयोग हुन्छ— ‘बर्नबाउट’ । यसको अर्थ हुन्छ, कम उमेरमै खेलाडीले ठूलो न ठूलो स्टारडम देख्छ । यद्यपि त्यो कम समयका लागि मात्र हुन्छ र खेलाडी चाँडै हराउँछ । सानो उमेरमा खेलाडीले धेरै ठूलो बोझ उठाउन सक्दैन । ठूलो बोझकै कारण सानो उमेरमा चम्किएका खेलाडी हराउँछन् पनि ।
विमललाई लिएर यो डर छ कि छैन ? यदि उनी पनि ‘बर्नबाउट’ को सिकार भए भने ? एन्फा र त्यसको नेतृत्व तहले विमललाई अघि बढाउन हतार त गरेको छैन ? यस्ता धेरै प्रश्न छन्, विमललाई लिएर । एन्फाले केही समयअघि यस्तै एक अर्का युवा खेलाडीलाई प्रस्तुत गरेको थियो र दाबी गरेको थियो, यी नेपाली फुटबलकै सबैभन्दा ठूला स्टार हुनेछन् । उनी हुन्— निराजन मल्ल । उमेर समूहको फुटबल खेल्दा नीराजन कति राम्रा खेलाडी थिए भने कतारले उनलाई आफ्नो देशमा रहेर खेल्न प्रस्ताव राखेको थियो । उनलाई कतारी नागरिकता दिने प्रस्तावसमेत राखिएको थियो । निराजनले त्यसो गर्न मानेनन् र चाँडै नेपाली मूल धारको फुटबलमा प्रवेश गरे तर उनले धेरै बोझ उठाउन सकेनन् । लगातार चोटग्रस्त रहे ।
विमललाई लिएर यस्तै डर छ । विमलले नेपाली राष्ट्रिय टिमबाट पनि डेब्यु गरिसकेका छन् । अहिलेसम्म आठ क्याप जितिसकेका विमलले काठमाडौंमा भएको पछिल्लो साफ च्याम्पियनसपका क्रममा राष्ट्रिय टिममा प्रवेश पाएका थिए । उनलाई टिममा रहेर नजिकबाट हेरिरहेका प्रशिक्षकदेखि साथी खेलाडीहरू मान्छन्, विमलको पहिलो समस्या हो, उनले स्टारडम पचाउन सकेका छैनन् । त्यसैले उनले खेलभन्दा फेसन र अरू कुरामा बढी ध्यान दिने गरेका छन् । उनमा अनुशासनको कमी देखिन थालेको छ भने ठूलालाई पनि मान्न छाडेका छन् । दोस्रो समस्या, विमल वास्तवमै किशोर उमेरमा छन् । यो उमेरमा यति चाँडै माथिल्लो दर्जाको फुटबलको बोझ थाम्न सकिँदैन । यो शारीरिक र मानसिक दुवै स्थितिमा लागू हुन्छ । विमल आफैं र नेपाली फुटबलले उनी ‘बर्नबाउट’ को सिकार नहुन् भनेर सावधान हुनैपर्छ ।
यद्यपि विमल केही हदसम्म परिपक्व पनि देखिएका छन् । उदाहरण उनले यू–१९ साफ च्याम्पियनसिप जितेपछि दिएको प्रतिक्रियाबाट झल्कन्छ । विमलले भनेका थिए, ‘म आफूलाई कहिल्यै स्टार खेलाडी मान्दिनँ । मेरा लागि सबैभन्दा ठूलो कुरा टिम हो । टिमले राम्रो गर्न सकेको खण्डमा मात्र मेरो खेल पनि राम्रो हुने हो । म आफ्नो खेल जीवनलाई लिएर सजग छु ।’