बेनिशा हमाल युवापुस्ताद्वारा रुचाइएकी कलाकारमध्ये एक हुन् । सकारात्मक सोच तथा विचारमै मानिसको व्यक्तित्व निर्भर रहने मान्यता राख्ने बेनिशा भन्छिन्– पहिरनमा मानिसको व्यक्तित्व निखारिन्छ । त्यसैले सकारात्मक सोचका साथ सुहाउँदो पहिरनमा ध्यान दिन सके सुनमा सुगन्ध हुन्छ । घरमा खुल्ला वानपिसमा बस्न रुचाउने बेनिशालाई कुर्ता–सुरुवाल असाध्यै मन पर्छ । समय र कार्यक्रमको स्वरूप हेरेर पहिरनमा ध्यान दिने बेनिशा आफ्ना लागि डिल्लीबजारस्थित पालमोड कलेक्सनबाट पहिरन खरिद गर्छिन् ।
बेनिशा सौन्दर्य प्रसाधनका विषयमा भने ब्रान्ड कन्सियस छिन् । उनी निक्स ब्रान्डका फाउन्डेसन, पाउडर, लिपिस्टिक तथा गाजल प्रयोग गर्छिन् । साधारण केश भएकी बेनिशालाई लामो केश मन पर्छ, तर त्यसका लागि उनीसँग विगबाहेक अरु विकल्प छैन । सुटिङका क्रममा केशमा विभिन्न रसायनयुक्त सौन्दर्य प्रशाधन प्रयोग गर्नुपर्ने बाध्यताका कारण उनी रसायनको असरबाट जोगिन केशमा तेल मसाज गराइरहन्छिन् ।
गहनामा खासै रुचि नभएकी बेनिशा दुईवटा औंलामा राशि अनुसारका औंठी लगाउँछिन् । औंठीबाहेक उनको शरीरमा अरु कुनै गहना देखिँदैनन् । बेनिशा घडीकी सौखिन हुन् । अघिपछि एनिकलेनको घडी लगाउने बेनिशा पार्टीहरूमा गेसको घडीमा देखा पर्छिन् । पहिरनअनुसार हाते व्याग बोक्ने बेनिशा हाई हिलयुक्त स्यान्डिल प्रयोग गर्छिन । उनको कलेक्सनमा प्राय: हाई हिल भएका स्यान्डिल नै छन् ।
सामसुङको ग्यालेक्सी एस्ट्रिक मोबाइल र एचपीको ल्यापटप प्रयोग गर्ने बेनिशाको तर्क छ–अवसर हेरेर आफूलाई प्रस्तुत गर्न र सकारात्मक दृष्टिकोण राख्न सकिएन भने हेर्दा जतिसुकै क्युट देखिए पनि त्यसले व्यक्तित्वलाई खासै सपोर्ट गर्दैन ।