साप्ताहिक संवाददाता
लोकदोहोरी गायनमा सफलताको स्वाद चाखिरहेकी गायिका चन्दा अर्यालले तीजलाई लक्षित गरेर तयार गरेको तीज गीतको म्युजिक भिडियोमा नायिका मेलिना मानन्धरले नृत्य गरेकी छिन् ।
‘मेरो रुपैले पोखरामा तहल्का मच्चायो’ शिर्षकको यो गीतको भिडियोलाई नायिका मेलिनाको कमब्याकका रुपमा लिइएको छ । सुन्दर जिउडाल र उत्कृष्ट नृत्य प्रस्तुत गर्ने क्षमता भएकी मेलिना भिडियोमा उत्तिकै राम्री देखिएकी छिन् । ऋषि खड्काको लय तथा शब्दमा चन्दाका साथमा गायक भागिरथ चलाउनेको स्वर छ । मेलिनाका साथमा मोडल दिनेश थापाले अभिनय गरेको यो गीतिसंग्रहलाई रक्षा म्युजिकले बजारमा ल्याएको हो । शम्भु चालिसेको छायाकंन र शिव विकको निर्देशन रहेको यो भिडियोले दर्शकको मन जितेको चन्दाले बताइन् । गतवर्ष मेरो लचक्कै कम्मर शिर्षकको गीतको म्युजिक भिडियोमा चन्दाले नायिका झरना थापालाई नचाएकी थिइन् । मकवानपुरमा जन्मिएकी चन्दा पछिल्लो समय देशविदेशका कार्यक्रममा व्यस्त छिन् । २०६६ सालमा मनमा जलन छ गीत गाएर सांगीतिक यात्रा प्रारम्भ गरेकी चन्दाले रमाउदै आयो तीज, मायाले झुक्यायो, पिडालु कोक्यायो जस्ता तीज गीत गाएकी छिन् । चन्दा भन्छिन्– ‘विगतमा झैं यसपटकको तीजमा दर्शकस्रोताले माया गरिदिनुहुनेछ भन्ने अपेक्षा राखेकी छु ।’ आगामी दिनमा लोकपप गीतिसंग्रह गर्ने योजनामा रहेकी चन्दाले स्तरिय संगीत सृजनामा आफुलाई समर्पित गर्ने बताईन् ।