साप्ताहिक संवाददाता
उच्च माध्यमिक शिक्षा परिषद्को प्लस टु तथा सिटिइभिटीको ३ वर्षे डिप्लोमा तहकै समकक्षी अर्को स्ट्रिम हो–ए लेभल । ए लेभल केही महँगो र अंग्रेजी राम्रो भएकाले मात्र अध्ययन गर्न सक्ने भएकाले यो सहरी क्षेत्रमा सीमित छ । परीक्षा प्रणाली र पाठ्यक्रमका दृष्टिकोणले नेपालमै बसेर अन्तर्राष्ट्रिय स्तरको शिक्षा हासिल गर्ने राम्रो माध्यम हो– ए लेभल । बेलायतस्थित क्याम्ब्रिज विश्वविद्यालयको जनरल सर्टिफिकेट अफ एजुकेसन (जिसिई) कार्यक्रमअन्तर्गत ए लेभल कार्यक्रम सञ्चालनमा छ ।
‘ए लेभलप्रति नेपाली विद्यार्थीको चासो उत्साहप्रद देखिन्छ’ ए लेभल सञ्चालन गरिरहेको चेल्सी इन्टरनेसनल एकेडेमी नयाँ बानेश्वरका प्राचार्य सुधीरकुमार झा भन्छन्– एसएलसीको परिणाम आए लगत्तै विद्यार्थीहरू ए लेभलका सम्बन्धमा बुझ्न आउने चाप देखेर पनि यो कुरा भन्न सकिन्छ । स्वदेशमै बसेर विदेशी डिग्री हासिल गर्न पाइने भएकाले ए लेभलप्रतिको आकर्षण बढेको विज्ञहरू बताउँछन् । हाल नेपालमा ३४ वटा शैक्षिक संस्थाले क्याम्ब्रिज विश्वविद्यालयको सम्बन्धनमा ए लेभलका कक्षा सञ्चालन गरिरहेका छन् ।
खासगरी सहरी क्षेत्रमा एसएलसीमा उत्कृष्ट अंक हासिल गरेर उत्तीर्ण हुने अधिकांश विद्यार्थीको पहिलो रोजाइ ए लेभल नै हुने गरेको छ । न्यून आय भएका जेहेन्दार विद्यार्थीलाई ए लेभल रोज्न यहाँका शिक्षण संस्थाले दिने छात्रवृत्तिले लोभ्याउने ट्रेण्डको विकास भएको छ । यो शैक्षिक प्रणालीमा सबै नेपालीको पहुँच भने अझै असम्भव नै छ ।
छिमेकी मुलुक भारत र पाकिस्तानमा ए लेभल गजबले स्थापित भएको देखिन्छ । दक्षिण भारतमा ए लेभल अनिवार्यजस्तै छ भने पाकिस्तान ए लेभलमा सबैभन्दा धेरै वल्र्ड टपर जन्माउने देशका रूपमा परिचित छ । हरेक वर्ष आधा दर्जन नेपाली विद्यार्थीले ए लेभलमा वल्र्ड टप गरेको समाचार आउँछन् । वल्र्ड टप गर्ने ती विद्यार्थीले विकसित मुलुकका राम्रा विश्वविद्यालयमा छात्रवृत्ति कोटामा उच्च शिक्षाको अवसर पनि पाएका उदाहरण छन् । विद्यार्थीको आकर्षण देखेर अथवा परिणाममुखी शिक्षा प्रणाली भएकैले हुनसक्छ, झण्डै तीन दर्जन कलेजले क्याम्ब्रिज विश्वविद्यालय अन्तर्गतको यो पाठ्यक्रमको सम्बन्धन लिएर अध्यापन सुविधा मिलाएका हुन् ।
यहाँका कलेजलाई यो पाठ्यक्रमको सम्बन्धन दिन, अनुगमन गर्न तथा परीक्षा प्रणाली सञ्चालनका लागि क्याम्ब्रिज विश्वविद्यालयले नेपालस्थित ब्रिटिस काउन्सिललाई अधिकार प्रत्यायोजन गरेको छ । प्लस टु समकक्ष शिक्षा प्रणालीका रूपमा ए लेभललाई लान यो पाठ्यक्रम अध्यापनको अनुमति र अनुगमनमा नेपाल सरकारको शिक्षा मन्त्रालयले पनि काम गर्दै आएको छ । मन्त्रालयको उच्च शिक्षा महाशाखाले यो शिक्षा प्रणालीलाई प्रत्यक्ष अनुगमन गर्छ ।
३ दशक अघि बूढानीलकण्ठ स्कुलले २७ जना विद्यार्थी लिएर ‘ए लेभल’ को कक्षा प्रारम्भ गरेको थियो । सुरुमा विदेशी कूटनीतिज्ञका छोराछोरीलाई लक्षित गरेर सञ्चालन गरिएको यो शिक्षामा अहिले नेपाली विद्यार्थीहरूको आकर्षण मात्र बढेको छैन, उनीहरूको नतिजासमेत उत्साहजनक छ । ‘नेपालमै अन्तर्राष्ट्रिय स्तरको शिक्षा हासिल गर्न सकिन्छ’ भन्ने कुरालाई प्राथमिकतामा राख्दै ए लेभल सञ्चालन गर्ने कलेजहरूले विद्यार्थी आकर्षित गर्ने काम गर्दै आएका छन् ।
ए लेभल लहड मात्र नभएर व्यवहारिक एवं सिर्जनशील शिक्षाप्रतिको मोह भएको बताउँछन् विद्यार्थीहरू । विश्वका विद्यार्थीमाझ बौद्धिक प्रतिस्पर्धा गर्न पाइनु ए लेभलका विद्यार्थीका लागि चुनौती र अवसर हो । ए लेभल विश्वका १ सय ८० देशमा पढाइ हुन्छ । यी सम्पूर्ण विद्यार्थीको प्रश्नपत्र एउटै मात्र हुँदैन, परीक्षा पनि एकै समयमा हुन्छ । ए लेभलको अध्ययनपछि वैदेशिक शिक्षाको बाटो सहज हुने भएकाले पनि कतिपय विद्यार्थी यसतर्फ तानिएका पाइन्छन् ।
ए लेभल पढ्नेहरूमध्ये ६० प्रतिशतभन्दा बढी विद्यार्थी पूर्ण र आंशिक छात्रवृत्ति तथा आफ्नै खर्चमा उच्च शिक्षाका लागि बिदेसिने गरेका छन् । घोकन्ते एवं सैद्धान्तिक शिक्षामा आधारित हाम्रो पाठ्यक्रमको तुलनामा बढी व्यवहारिक र मौलिक हुने भएकाले पनि ए लेभल शिक्षाले जरा गाड्दै गएको शिक्षाविद्हरू बताउँछन् । आफूले चाहे छुट्टाछुट्टै विषयको परीक्षा दिन र नतिजा चित्त नबुझे पुन: परीक्षा दिन पाइनु, समयसापेक्ष परिवर्तन हुने पाठ्यक्रम, ७० भन्दा बढी विषय, अध्ययन–अनुसन्धानमा जोड दिइने तथा वैदेशिक शिक्षाको अवसर ए लेभलका आकर्षक पक्ष हुन् ।
‘ए लेभल अध्ययन गर्नु पूर्व यो शैक्षिक प्रणालीका सम्बन्धमा विद्यार्थीले विस्तृत बुझ्न आवश्यक छ’ जेभियर इन्टरनेसनल कालोपुलका प्रमुख कार्यकारी लोकबहादुर भण्डारी भन्छन्–‘ए लेभल शिक्षा लिन विद्यार्थीको शैक्षिक पृष्ठभूमि, पारिवारिक पृष्ठभूमि जस्ता कुरा ‘म्याच’ हुनुपर्छ, अन्यथा विद्यार्थीले भर्ना भैसकेपछि पश्चाताप महसुस गरेका उदाहरण पनि प्रशस्तै छन् ।’ ए लेभलका लागि कलेजहरूले मासिक १० हजारदेखि २० हजारसम्म शुल्क लिने गरेका छन् । यस्तै भर्नाबापतको शुल्क कलेजअनुसार फरक–फरक छ । यसबाहेक परीक्षा शुल्क डलरको मूल्यअनुसार थपघट हुन सक्छ । यो परीक्षा शुल्क छुट्टै तिर्नुपर्छ ।
ए लेभलको पाठ्यक्रममा राम्रो नतिजा ल्याउने ध्याउन्नमा विद्यार्थीहरू वर्षौंसम्म अल्झिइरहेका उदाहरण पनि त्यतिकै छन् । ‘एउटा विद्यार्थी ५ वर्षसम्म एउटा विषयको परीक्षामा अनुत्तीर्ण भएको पनि देखेको छु’ एक शिक्षक भन्छन्– ‘त्यसैले ए लेभलको शिक्षा आफ्ना लागि उचित वा अनुचित के छ, राम्रो परामर्श लिएर मात्र अध्ययनको बाटोमा जानुपर्छ ।’ बिदेसिने होडमा अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम भनेर स्वदेशकै सस्तो लोकप्रिय प्लस टु कार्यक्रम अध्ययन नगर्ने ट्रेन्डको विकास हुनु नकारात्मक पक्ष हो ।
के हो ए लेभल ?
बेलायतको क्याम्ब्रिज विश्वविद्यालयको जनरल सर्टिफिकेट अफ एजुकेसन (जिसिई) कार्यक्रमअन्तर्गत सञ्चालन हुने एक शैक्षिक कार्यक्रम हो, ए लेभल । क्याम्ब्रिज इन्टरनेसनल एक्जामिनेसन (सीआईई) बोर्डका थुप्रै अन्तर्राष्ट्रिय स्तरका योग्यताहरूमध्ये ए लेभल गोल्ड स्ट्यान्डर्डको योग्यता हो । जीसिईले विश्वमा नै उच्चस्तरको परीक्षा सञ्चालन गर्ने प्रतिष्ठा आर्जन गरेको छ । ए लेभललाई विश्वका ख्यातिप्राप्त विश्वविद्यालयमा प्रवेश पाइने गेट पास पनि मानिन्छ ।
पाठ्यसामग्री
नेपालका ए लेभल कलेजहरूले जनरल पेपरअन्तर्गत इङ्लिस ल्याङ्वेज अनिवार्य विषयका रूपमा र अन्य तीन विषय कूनै समूहबाट लिने व्यवस्था छ, तर विषय छनौटमा एउटा समूहबाट नलिन पनि पाइन्छ । विद्यार्थीको रुचि र चाहनाअनुसार थप एक विषय लिन पाइने व्यवस्था पनि छ । साइन्स समूहमा फिजिक्स, केमेस्ट्री, बायोलोजी, म्याथम्याटिक्सजस्ता विषयहरू छन् भने म्यानेजमेन्ट समूहमा एकाउन्टेन्सी, बिजनेस स्टडिज, इकोनोमिक्स, म्याथम्याटिक्स, कम्प्युटरजस्ता विषय समावेश छन् । मानविकी समूहमा सोसियोलोजी, साइकोलोजी, इकोनमिक्स, म्याथम्याटिक्स, इन्भारोमेन्ट स्टडिज, जर्नालिज्म, आर्ट एन्ड डिजाइनिङ, कम्प्युटर आदिमध्येबाट छनौट गर्न सकिन्छ, तर विषय छनौटमा विद्यार्थीले कुनै एक समूहमा सीमित हुनुपर्ने बाध्यता छैन । पहिलो वर्ष एड्भान्स सब्सिडियरी (एएस) मा आधा कोर्सहरू तथा दोस्रो वर्ष एड्भान्स लेभल (ए लेभल) मा बाँकी आधा कोर्सको अध्ययन पूरा गरिन्छ ।
सुधीर झा, प्रिन्सिपल,
चेल्सी इन्टरनेसनल एकेडेमी
ए लेभल शिक्षा आवश्यकता हो कि लहड ?
ए लेभल लहड होइन, आवश्यकता नै हो । यसले स्वदेशमै बसेर अन्तर्राष्ट्रिय कोर्स गर्न चाहने विद्यार्थीहरूको आवश्यकता पूरा गरिदिएको छ । क्याम्ब्रिज विश्वविद्यालयअन्तर्गत सञ्चालित ए लेभल शिक्षा नेपालमा मात्र होइन, विश्वका थुप्रै देशमा लोकप्रिय छ । ए लेभलमा अत्यन्तै गहिरिएर अध्ययन गर्नुपर्ने हुन्छ । त्यसैले मेहनती, सिर्जनशील एवं अंग्रेजीमा राम्रो आधार वनाएका विद्यार्थीले ए लेभल पढ्न सक्छन् ।
यसको खास आकर्षणचाहिँ के हो ?
क्याम्ब्रिज विश्वविद्यालयअन्तर्गत सञ्चालित भएकाले यसको सर्टिफिकेटले विश्वभर मान्यता पाउँछ । त्यस्तै प्रत्येक वर्ष परिमार्जित कोर्स, व्यावहारिक शिक्षा, विश्वका विद्यार्थीहरूमाझ क्षमता प्रदर्शन गर्न पाउने अवसर, लचिलो परीक्षा प्रणाली एवं वैदेशिक शिक्षाका लागिसमेत सहज हुनु नै ए लेभलका आकर्षक पक्ष हुन् ।
यसलाई वैदेशिक शिक्षाको गेटपासका रूपमा पनि लिइएको पाइन्छ नि ?
ए लेभलको अध्ययनपछि वैदेशिक शिक्षाको बाटो खुला हुन्छ । यहाँको सर्टिफिकेटले विश्वव्यापी मान्यता पाउँछ । विदेश जानेले आईएलटीएस, टोफेल गरिरहनुपर्दैन । यसो भन्दैमा ए लेभललाई वैदेशिक शिक्षाको गेटपासका रूपमा हेरिनु उपयुक्त होइन । किनभने यो त अन्तर्राष्ट्रिय मापदण्डको शिक्षा प्रणाली हो । ए लेभलमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीले विश्वका उत्कृष्ट कलेज, विश्वविद्यालयमा छात्रवृत्ति पाउने गरेका छन् । त्यसैले कतिपय विद्यार्थी ए लेभलको अध्ययनपछि बाहिरिने गरेका छन् ।
यो शिक्षा महँगो छ भनिन्छ नि ?
ए लेभललाई नेपालमा कक्षा १२ वा प्रमाणपत्र तहसरहको मान्यता दिइएको छ । यही तहको अध्ययन तुलनात्मक रूपमा सस्तो हुने भएकाले ए लेभल महँगो लाग्न सक्छ । तैपनि अन्तर्राष्ट्रिय मापदण्डको शिक्षाको दृष्टिले त्यति महँगो पनि भन्न मिल्दैन ।