साप्ताहिक संवाददाता
सारा नेपालीले पहिले देशका लागि सोच्नुपर्छ । यो देशमा म जनता नै देख्दिनँ, सबै जना कुनै न कुनै पार्टीको कार्यकर्ता छन् । कुनै न कुनै पार्टीको झन्डामुनि छन् । पार्टीभन्दा माथि उठेर सबैले देशका बारेमा सोच्नुपर्छ, अनि मात्र बन्द सधैंका लागि बन्द हुन्छ ।
रेखा थापा, नायिका
सबैले एकसाथ बन्दको प्रतिकार गर्नुपर्छ, अनि मात्र बन्दकर्ता निरुत्साहित हुन्छन् ।
नितु पोखरेल, नायिका
आफ्नो नियमित काममा अनियमितता नगर्ने हो भने बन्द आफैं निरुत्साहित हुन्छ । कैले बन्द होला र छुट्टी मनाउन पाइएला भनेर बस्नु भएन ।
सोमनाथ खनाल, रंगकर्मी
सामाजिक सञ्जाल तथा समाचारहरूमा बन्दका हल्लालाई मूल विषय नबनाएर वा वास्ता नै नगरेर पनि निरुत्साहित गर्न सकिन्छ ।
वर्षा शिवाकोटी, नायिका
लौन, के गर्नुपर्ला त ? मेरो प्रश्न पनि यही हो ।
आसिफ शाह, निर्देशक
बन्दले समस्या समाधान हुन्छ भन्ने सोच त्याग्नु आवश्यक छ । संवाद र वार्ताबाट पनि समस्याको हल निस्कन सक्छ ।
आरुष गुरुङ, नायक
देशको विकास ढिलो भए बन्दकर्ताहरूको व्यक्तिगत विकास पनि रोकिन्छ भन्ने कुरा उनीहरूको कानमा छिराउन सकियो भनेचाहिँ हो, नत्र त उही हो ।
अनुप सक्सेना, कोरियोग्राफर
नेता र जनताको बीचमा नङ र मासुको सम्बन्ध बनाउन पहल गर्नुपर्छ ।
रमेश त्वयना, चलचित्रकर्मी
बन्दकर्ताका मागको सुनुवाइ हुने परिपाटी बन्द गर्नुपर्छ, अनि बन्द आह्वान गर्नेहरू त्यसै निरुत्साहित हुन्छन् ।
अरुणा कार्की, अभिनेत्री/रंगकर्मी
काठमाडौंमा जस्तो बन्द आह्वान भए पनि सबै खुला हुनुपर्यो । बन्द भनेर कामकाज बन्द गरेर घरमा बस्नु भएन, आ–आफ्नो काम सुचारु गर्नुपर्यो । सबैले बन्दलाई अटेर गरेर काम गर्ने हो भने बन्द गर्ने हिम्मत कसले गर्छ ?
नरेन्द्र महर्जन, चलचित्रकर्मी
देशमा बेरोजगारी बढी भयो । रोजगारीको व्यवस्था गरे नेताको चाकडी गर्दै कार्यकर्ता हुने संख्या क्रमश: घट्दै जान्थ्यो अनि कार्यकर्ता नै नभएपछि कसको आडमा कसले गर्ने बन्द ?
शान्तिप्रिय, रंगपत्रकार
तीनवटा तरिका छन्— १. बन्दकर्ताहरूलाई उक्साउनु भएन, २. बन्द गर्ने भनेर जो आउँछ, त्यसलाई पाता कसेर चुट्नुपर्यो, ३. बन्द भन्ने शब्द शब्दकोशबाटै हटाउनुपर्यो, अनि त्यसपछि टन्टै साफ ।
कुमार श्रेष्ठ, हास्यकलाकार
बन्दको राम्रो विकल्प के हुनसक्छ,त्यसो खोजी गरिनु पर्दछ ।
नरहरी प्रेमी, संगीतकार