मुस्ताङका बासिन्दाहरूले यार्तुङ पर्व मनाएका छन् । यो पर्वलाई विशेष गरी घोडा कुदाउने पर्वका रूपमा लिइन्छ । गत साता तीन दिन मुस्ताङ यार्तुङ मेलामय भयो । ‘बर्खायाममा मनाइने यो पर्व मुस्ताङेहरूको ठूलो पर्व हो,’ पुजारी आम्जी घ्याचु विष्टले भने— मुस्ताङेहरू यो पर्वमा महँगा घोडा कुदाउँछन् ।’
उनका अनुसार यसपटक मुस्ताङका राजारानी मेलामा सहभागी नभएकाले दुवैको तस्बिर बोकेर लोमान्थाङ बजार घुमेर दरबार क्षेत्रमा पुगी नाचगान गरियो । हरेक वर्ष मुस्ताङका पूर्वराजारानी सहभागी भएर यो पर्व मनाइँदै आए पनि यसपालि भूकम्पले दरबार चर्किएका कारण उनीहरू काठमाडांैबाट थातथलो फर्किएनन् ।
यार्तुङ तिब्बती शब्द हो । यसलाई बर्खायाममा मनाइने पर्व भनेर बुझिन्छ । आलु, फापर, गहुँ आदि अन्नबाली लगाएर फुर्सद भएपछि हरेक वर्षजसो यहाँका बासिन्दाले यो पर्व मनाउँदै आएका छन् । टोलटोलबाट बाजागाजा र घोडामा निस्केर यो पर्व सामूहिक रूपमा मनाइन्छ । राम्रो, महँगो र स्वस्थ घोडा चढे रोग–व्यथाले नछुने स्थानीय बासिन्दाहरूको मान्यता छ ।