संगीता खड्का, फेसन डिजाइनर
केही फेसन शोमा डिजाइनर वेयरसहितको क्याटवाक गरेर मोडलिङ क्षेत्रमा करियर बनाउने लक्ष्य लिएकी संगीता खड्काको ध्यान केही वर्षअघि फेसन डिजाइनिङतर्फ आकर्षित भयो । मोडलका रूपमा निश्चित समयसम्म मात्र सक्रिय हुन सकिने यथार्थता बुझ्दै संगीता फेसन डिजाइनिङतर्फ लागिन् । आईईसीबाट फेसन डिजाइनिङमा डिप्लोमा गर्ने क्रममा संगीता विभिन्न फेसन डिजाइनिङ प्रतियोगितामा सहभागिता जनाएर पुरस्कृतसमेत भइन् । मिस नेवा, मिस बाला म्हयजु, किड क्विन, लिटिल मिस एन्जल, मिस टिन क्विन आदि सौन्दर्य प्रतियोगितामा संगीताका डिजाइनले स्थान पाइसकेका छन् । पछिल्ला केही वर्षयता उनका डिजाइन म्युजिक भिडियोहरूमा समेत उपयोग भएका छन् । संगीताले डिजाइन गरेका पहिरन तीन दर्जनभन्दा बढी भिडियोमा प्रयोग भैसकेका छन् भने अहिले पनि उनी म्युजिक भिडियोहरूका लागि पहिरन तयार पारिरहेकी छिन् ।
केही नेपाली चलचित्रका पहिरन डिजाइन गरिसकेकी संगीता म्युजिक भिडियो, विज्ञापन तथा चलचित्रमा व्यवसायिक फेसन डिजाइनरका पहिरन प्रयोग गर्ने क्रमको विकाससँगै दर्शकहरूलाई समेत पहिरनका नयाँ–नयाँ डिजाइनका बारेमा जानकारी दिन सकिएको बताउँछिन् । अहिले एक दर्जनभन्दा बढी सेलिब्रेटी विशेष समारोहहरूमा उनकै मात्र पहिरन प्रयोग गर्न थालेका छन् । भिजे तथा नायिका अकेशा विष्ट, आरजे सविना कार्की, गायिका भूमिका सुब्बा, प्रविशा अधिकारी, सिन्धु मल्ल, नायिका पवित्रा आचार्य आदि संगीताका पहिरन भनेपछि हुरुक्क हुन्छन् । विगत तीन वर्षदेखि कुपन्डोलमा क्रिएटिभ एण्ड स्टाइल हाउस (सि.ए.एस.एच.) सञ्चालन गरिरहेकी संगीतासँगको तीन प्रश्न :
मोडलिङमै स्थापित हुने सम्भावना थियो, डिजाइनमा कसरी आउनुभयो ?
आफूमा भएको कला प्रदर्शन गर्ने थुप्रै माध्यम छन् । मोडलिङ पनि तीमध्ये एक हो । केही समय मोडलिङ गरेपछि मैले त्यसमा भन्दा फेसन डिजाइनिङमा बढि सम्भावना देखें । मानिसहरू फेसन कन्सस हुन थालेपछि फेसन डिजाइनरको माग अझ बढ्ने देखेर यो विधातर्फ आकर्षित भएकी हुँ ।
तपाईंको कस्ता पहिरन सेलिब्रेटीले मन पराएका छन् ?
म सबै प्रकारका पहिरन डिजाइन गर्छु । सेलिब्रेटीहरूले चाहिं मैले डिजाइन गरेको लेहेंगा चोली तथा अनारकली बढी मन पराउनुभएको छ ।
भविष्यको योजना के छ ?
अहिले सुन्नेभन्दा हेर्ने कुरा बढी प्रभावकारी हुँदै गएको छ । म आगामी दिनमा म्युजिक भिडियो तथा चलचित्रमा बढी सक्रिय हुनेछु । त्यसबाहेक आफ्ना डिजाइनरलाई विदेशसम्म पुर्याउने कार्यमा पनि लाग्नेछु ।