ललितपुरको लगनखेलस्थित कर्मचारी संचय कोषमा रहेको ललितपुर मल तथा ललितपुर मोबाइल कम्प्लेक्सले अन्तर्राष्ट्रिय स्तरको तथा नेपालकै सबैभन्दा ठूलो मल्टिब्रान्ड मोबाइल शोरुम सञ्चालनमा ल्याएको छ । मोबाइल ग्राहकहरूलाई मोबाइलसँग सम्बन्धित विभिन्न सेवा सुविधाहरू एकै स्थानबाट प्रदान गर्न पहिलो पटक मोबाइलहरूको मल्टिब्रान्ड शोरुम ललितपुर मलमा सञ्चालन गरिएको व्यवसायीहरूले बताएका छन् ।
ललितपुर मोबाइल कम्प्लेक्सका अध्यक्ष पुरुषोत्तम बस्नेतका अनुसार नेपालमै पहिलो पटक नौलो अवधारणामा मल्टिब्रान्ड मोबाइल शोरुम सञ्चालन गरिएको हो र यो कम्प्लेक्सबाट सिल प्याक गरिएका मोबाइल फोन मात्र बिक्री गरिनेछ । अध्यक्ष बस्नेतले अन्य स्थानहरूमा बेचिने मोबाइलका विभिन्न एसेसरिज झिकेर सस्ता एसेसरिज राख्ने गरिएको भन्दै यो कम्प्लेक्समा ग्राहकहरूलाई गुणस्तरीय उत्पादन मात्र बिक्री गरिने स्पष्ट पारेका छन् ।
ललितपुर मलको दोस्रो तल्लामा ४० भन्दा बढी मोबाइल शोरुम तथा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आउनेछन् । त्यस्तै मलको दोस्रो तलामा नेपालमै पहिलो पटक सबैभन्दा ठूलो मोबाइल शोरुम स्थापना हुनेछ, जहाँ एकै पटक ४ हजारदेखि ५ हजार ग्राहकले सुविधा प्राप्त गर्न सक्नेछन् ।
नेपालकै सबैभन्दा ठूलो मोबाइल शोरुम तथा ललितपुर मल सञ्चालनमा आउन लागेको अवसरमा आज भदौ २५ गतेदेखि ३ गतेसम्म ललितपुर मोबाइल कम्प्लेक्सले मोबाइल एक्सपो २०७२ आयोजना गर्न लागेको हो । कम्प्लेक्सको शुभारम्भको अवसरमा मेला अवधिभर हरेक मोबाइलको खरिदमा ७ देखि ७० प्रतिशतसम्म छुट प्रदान गरिनेछ । यो मोबाइल कम्प्लेक्समा न्यूनतम ९ सयदेखि १ लाख रुपैयाँसम्मको ब्रान्डेड मोबाइल सेट उपलब्ध हुनेछ ।
विगत १३ वर्षदेखि मोबाइल व्यवसायमा संलग्न मोबाइल व्यवसायीद्धारा सञ्चालन हुने यो मोबाइल कम्प्लेक्समा एक्स्पोको अवसरमा हरेक दिन लक्कि ड्रमार्फत पाँचवटा स्मार्टफोन उपहार प्रदान गरिनेछ ।
नेपालको सबैभन्दा ठूलो मोबाइल शोरुममा दक्ष प्राविधिकबाट मोबाइल मर्मत त गरिने नै छ, यहाँ नेपालभरि कतै पनि बन्न नसकेको मोबाइल पनि मर्मत गर्नसक्ने क्षमता छ । यो मलमा विश्व बजारमा आएका नयाँ मोबाइल फोनहरू लन्चिङ गराई बिक्रीका लागि उपलब्ध गराईने व्यवस्था मिलाइएको छ ।
मलको उद्घाटन तथा मोबाइल कम्प्लेक्सको शुभारम्भसँगै हुने यो एक्स्पो करिब १० लाख भन्दा बढीले अवलोकन गर्ने अनुमान गरिएको छ । एक्स्पोको अन्तिम दिन मोबाइल खरिदकर्ता ग्राहकहरूमध्येबाट १ जनालाई लक्की ड्रको माध्यमबाट बम्पर उपहार प्रदान गरिनेछ ।