साप्ताहिक संवाददाता
भोल्भो कार कम्पनीका इन्जिनियरहरूले दुर्घटना हुनुअघि नै चालकले थाहा पाउन सक्ने प्रविधि कारमा जडान गर्न लागिएको जानकारी गराएका छन् ।
कम्प्युटर सफ्टवेयर र क्यामेराको अवलोकनमा आधारित उक्त प्रविधिका माध्यमबाट चालकले आफ्ना सवारी साधन दुर्घटनामा पर्न लागेको कुरा पहिले नै जानकारी पाउनेछन् । भोल्भो कम्पनीले अहिले सुरक्षित कारका लागि ‘नन हिट कार प्रोजेक्ट’ सञ्चालन गरिरहेको छ ।
कम्पनीका अनुसार दुर्घटनाका सम्बन्धमा पूर्वजानकारी पाइने कारमा ३६० डिग्रीको कोणमा कार वरिपरिको दृश्य खिच्न र अवलोकन गर्न सक्ने विशेष खालको क्यामेरा जडान गरिनेछ । उक्त क्यामेराले साइकल चालक, पैदल यात्रु, अगाडि–पछाडिका तीव्र गतिका सवारी साधन, कार चालक स्वयंको व्यवहार र सडकको अवस्थालाई समेत विश्लेषण गरी दुर्घटनाको सम्भावनाको पहिचान गर्नेछ । कम्पनीले कार सुरक्षा प्रविधिभित्र सेन्सर, राडार तथा जीपीएस प्रणालीलाई पनि संयोजन गरिने बताएको छ । यस्तो कार दुर्घटना हुने अवस्थामा आफैं रोकिनेछ ।