चलचित्र ‘कोहिनूर’ को लोकप्रिय गीत ‘के म तिम्रो होइन र...’ लाई शीर्षक बनाउँदै निर्देशक आकाश अधिकारीले सोमबार नयाँ चलचित्रको शुभमुहुर्त गरेका छन् । कलंकस्थित सिटी सेन्टर अस्पतालमा चलचित्रकर्मी तथा सञ्चारकर्मीको उपस्थितीमा शुभमुहूर्त गर्दै चलचित्रको छायांकन प्रारम्भ भएको घोषणा गरे । करिव ४० दिनमा चलचित्रको छायांकन सम्पन्न गर्ने निर्देशक अधिकारीको लक्ष्य रहेको छ ।
निर्देशन आकाश अधिकारीको यो १४ आंै चलचित्र हो । चलचित्रलाई अधिकारी ब्रदर्सको ब्यानरमा द स्काई मुभिजले सहकार्य गर्दै निर्माण गर्न लागेको हो । चलचित्रको शुभमुहूर्त समारोहमा चलचित्रका कलाकारहरु आर्यन अधिकारी, मरिष्का पोख्रेल र गौरी मल्लले संवाद बोलेका थिए । चलचित्रमा मिथिला शर्मा, आकाश खवास, प्रज्वल गिरी, सविना गोपाली, सुरेन्द्र बसेल, रमेश अधिकारी, रीया श्रेष्ठ, विनोद केसी आदीको अभिनय छ । चलचित्रमा दिनेश वान्तवाको मुख्य सहायक छायांकन, हिमाल केसीको द्वन्द्व, रेनशा वान्तवा राईको नृत्य निर्देशन, दिनेश लामाको कला निर्देशन र इश्वर श्रेष्ठको मेकअप रहनेछ । चलचित्रमा बसन्त सापकोटा र ताराप्रकाश लिम्बुको संगीत, आकाश अधिकारी, डाक्टर कृष्णहरी बराल र सुन्दर श्रेष्ठको गीत, उदित नारायण झा, राजेशपायल राई, अञ्जु पन्त, प्रमोद खरेल, मिलन अमात्य, प्रल्हाद तिमिल्सिना र दुर्गा दाहालको पाश्र्व गायन रहेको छ ।