सञ्चिता लुइँटेल, नायिका
त्यसै पनि हामी महिलाहरू मौका मिल्नेबित्तिकै रमाइलो गर्न अग्रसर हुन्छौं । हिन्दू महिलाहरूको महान् पर्व तीजले त्यो रमाइलो गर्ने वातावरणलाई थप सहज बनाइदिन्छ । एक दशकअघिसम्म पनि तीज दर खाने दिन तथा भोलिपल्टको व्रतसम्म मात्र सीमित थियो । आजको डिजिटल युगमा मानिसहरूको व्यस्तता दिन–प्रतिदिन बढिरहे पनि तीज जस्तो पर्वले एक–अर्कामा भेटघाट गराउने, सुख–दु:ख बाँड्ने वातावरण बनाइरहेको छ ।
त्यसो त पछिल्ला केही वर्षयता तीज आउनु एक महिना बाँकी छँदै तीजको दर खाने चलन सुरु भएकोमा यसको विरोध गर्नेहरू पनि उत्तिकै छन् । व्यक्तिगत रूपमा भन्नुपर्दा म भने यो चलनप्रति असाध्यै सकारात्मक छु । पुरुषसँगै महिलाहरू पनि कामकाजमा व्यस्त हुन थालेपछि तीजको दर खाने समयसीमा पनि बढेको हो । प्राय: कामकाजी महिलाहरूलाई बिदाको दिन अर्थात् शनिबार मात्र फुर्सद हुन्छ । घरमा दर खान बोलाउन बिदाको दिन नै कुर्नुपर्छ । आफ्नो घरमा मात्र दर खान बोलाएर भएन, आफूलाई दर खान बोलाइएको ठाउँमा पनि पुग्नैपर्यो । यही कारणले गर्दा एक महिनाअघिदेखि दर खाने कार्यक्रम आयोजित गर्नु महिलाहरूको बाध्यता पनि हो । तीजको दर खाने कार्यक्रम स्वादिष्ट परिकारहरू खाने कार्यमा मात्र सीमित हुँदैन । यही अवसरमा आफ्ना नजिकका नातेदारमात्र होइन, साथीसंगीहरूसँग भेटघाट गर्ने अवसर पनि जुर्छ भने उपहारहरू पनि प्रदान गरिन्छ । यसले गर्दा एक–अर्काप्रति माया–प्रेम र सद्भाव बढ्छ ।
हाम्रो परिवारमा दिदी–बहिनीहरूको संख्या धेरै छ । मेरी आमाका मात्रै ६ जना दिदी–बहिनी हुनुहुन्छ । तीजको दरकै कारण सबै जनासँग एकैपटक भेट हुन्छ । कहिले कसको घरमा, कहिले कसको घरमा अनि कहिले आफ्नै घरमा आयोजना गरिने दर खाने कार्यक्रमले एकातिर रमाइलो हुन्छ भने अर्कातिर कसले कति मीठो खानेकुरा बनाउँछ भन्ने पनि थाहा हुन्छ । व्यक्तिगत रूपमा म आफैंले हरेक वर्ष तीनवटा भिन्न दर खाने कार्यक्रम आयोजित गर्दै आएकी छु । यो वर्ष पनि ती कार्यक्रम सम्पन्न हुँदैछन् । वास्तविक दर खाने दिन हामी परिवारका सदस्यमात्र जम्मा हुन्छौं । उक्त दिन हजुरआमाको सिफारिसमा खीर पाक्छ । त्योभन्दा एक दिनअघि सबै दिदी–बहिनीहरू भेला हुन्छौं । त्यो दिन पुलाउ–मासु (मचाहिं शाकाहारी भएकाले मासु खान्न), च्याउ, पनिर आदि बनाउँछौं । त्योभन्दा पनि एक दिनअघि म आफ्ना साथीहरूलाई घरमा बोलाउँछु । उनीहरूले जे खाने सल्लाह गर्छन्, त्यसैअनुरूप परिकार बनाउँछु ।
पहिले–पहिले दसैं तथा नयाँ वर्षमा मात्र शुभकामना दिने चलन थियो, अहिले एक महिनाअघि देखि दर खाने कार्यक्रम आयोजना हुन थालेकाले तीजको शुभकामना दिने, दर खाएका तस्बिरहरू फेसबुकमा राख्ने, लाइक र कमेन्ट गर्ने काम पनि भैरहेको छ । यी सबै क्रियाकलापले तीजको महत्व अझ बढिरहेको छ ।