आमा भन्नुहुन्थ्यो, ‘सपना जिउने आधार हुन् ।’
‘सपनालाई महत्वाकांक्षा बनाउनु हुँदैन,’ बुवाको भनाइ हुन्थ्यो, ‘महत्वाकांक्षाले दु:खी बनाउँछ ।’
मामा भन्नुहुन्थ्यो, ‘मेरो जिन्दगीको एउटै सपना छ, भान्जालाई ठूलो मान्छे बनाउने ।’
गाउँको पीपल चौतारीमा जम्मा भएका गाउँले बिहानपख आकाशतिर नियाल्दै भन्थे, ‘आकाशमा एक टुक्रा पनि बादल छैन । यो वर्ष राम्रो धान फलाउने सपना टुट्ने भयो ।’
मैले कहिल्यै बुझिनँ यी कुरा । न मलाई आमाले भन्ने जिउने आधार के हो थाहा थियो । न वुवाले भन्ने दु:ख र महत्वाकांक्षालाई बुझ्थे । न गाउँलेको सपना टुटेको कुरा बुझ्थे । यी सबै मेरा लागि सुन्ने विषयमात्र थिए ।
मैले सपना के हो बुझेकै थिइनँ । कक्षा २ मा पढ्दा पहिलोपल्ट बुझ्नुपर्ने बाध्यता आइपरेको थियो, पीपलबोटको छहारीमुनि । नेपाली सरले पहिलोपल्ट सोध्नुभयो, ‘तिम्रो के बन्ने सपना छ ?’ म अलमल्ल परे । उत्तर दिन सकिनँ । फेल भए ।
मेरी आमाले यसको उत्तर सिकाउनु नै भएको थिएन । कसरी उत्तर दिन सक्थें म ? घोसे मुन्टो लगाए । मुख अँध्यारो भयो । लाज लाग्यो । सरले बस नभनेसम्म मुन्टो झुकाएर उभिइरहें । केही मिनेटपछि सरबाट बस्ने आदेश आयो । थचक्क आफ्नो ठाउँमा बसें । कसैलाई टाउको ठड्याएर हेर्न सकिनँ । सरले त्यही प्रश्न मेरा अन्य बालसखाहरूलाई सोधे । कसैले पनि आफ्नो सपना बताउन सकेनन् । सरले भन्नुभयो, ‘भोलि सबैले यो प्रश्नको उत्तर लिएर आउनु ?’
हरेक दिन आमाको औंलामा झुन्डिएर स्कुल जान्थें म । आमाले ज्ञानी बन्न भन्नुहुन्थ्यो । ज्ञानी के हो ? म सोध्थें, आमाले भन्नुहुन्थ्यो, ‘ठूलाले भनेको मान्नु, सानालाई माया गर्नु ।’ म आमाले भनेजस्तै ज्ञानी हुन चाहन्थें ।
जति समय आमासँग बिताउँथें । त्यो सबै समय आमाले सिकाउन समय बनाउनुभएको थियो । अझ घरबाट स्कुलसम्म पुग्दा सधैं उहाँले मलाई केही न केही सिकाइरहनुभएकै हुन्थ्यो । क, ख सिकाउनुहुन्थ्यो । एबीसीडी... घोकाउनुहुन्थ्यो । १ देखि १०... सम्मै रटाउनुहुन्थ्यो । पछि त अझ बढी के के ? लाग्थ्यो, मेरी आमा सबै विषयमा जानकार छिन् । स्कुलमा उहाँलाई ठूला कक्षाका विद्यार्थीहरू गणित म्याडम भनेर सम्बोधन गर्थे । सबैकी म्याडम थिइन मेरी आमा । निक्कै फुल्थें म । म्याडमको छोरो हुन पाएकोमा ।
आमाका हरेक प्रश्नको उत्तर दिने प्रयास गर्थे । गलत होस् वा सही । बरु, आमाले गलत भएका उत्तरहरूको करेक्सन गरिदिनुहुन्थ्यो । त्यही कारण म अरूभन्दा धेरै जान्ने भएको थिए । किनभने, मैले आमाको औंलामा झुन्डिँदै स्कुल जाने अवसर पाएको थिएँ । त्यो औंलामा झुन्डिने १५ मिनेटको समयले नै मलाई जान्ने बनाएको थियो । त्यो समयको कति महत्व थियो, मेरो शिक्षाको जग बसाउन । मेरी आमाजस्तै मेरा बालसखाले आमाको आंैलामा झुन्डिएर सिक्ने मौका पाएनन् । त्यसैले म संसारको सबैभन्दा भाग्यमानी छोरा थिए । म यही ठान्थे ।
चटपटे बालक थिए म । मेरी आमाको आँखाको नानी । मेरो बुवाको भविष्य जोड्ने डोरी ।
स्कुल छुट्टी भयो । आमाको अफिसको ढोकामै गएर उभिएँ । ढोकाबाटै आमाले मलाई आफ्नो औंला दिनुभयो । चार औंलामा झुन्डिएँ म । ती औंला नै त हुन् जो मलाई मेरो संसारमा सुरक्षित डोर्याउन सक्छन् ।
स्कुलको पर्खालबाट अलि पर पुगेपछि आमासँग सोधें, ‘आमा मेरो के बन्ने सपना छ ?’ आमा गलल्ल हाँस्नुभयो । मैले उहाँको त्यो हाँसोलाई हेरिरहें । किन हाँस्नुभयो भेउ पाइनँ । केही बेर हाँसेपछि उहाँ शान्त बन्नुभयो ।
‘मेरो छोरा पाइलट बन्ने ?,’ आमाले मेरो गाला चिमोट््दै भन्नुभयो । उत्तर पाएर दंग भए म, पाइलट बन्ने कुराले होइन, उत्तर पाएर । लाग्यो मेरी आमाका लागि कुनै कुरा पनि असम्भव छैन । अरुका आमाहरूलाई घाँस काट्न आउँथ्यो । भारी बोक्न आउँथ्यो । गोरु चराउन आउँथ्यो । बारी गोड्न आउँथ्यो । मेरी आमालाई त पढाउन पनि आउँथ्यो । त्यो पनि सबै विषय । उहाँसँग प्रश्नको उत्तर नहुने चान्सै थिएन ।
बाटोमै आमाको जवाफ पाएर खुसीले उफ्रिन थाले । डिललाई बेवास्ता गरिरहेको मलाई आमाले सही बाटोमा तान्दै भन्नुभयो, ‘लडिएला बाबा । यता हिँड ।’ म फेरि बाटोमा फर्किएँ । आमा नभएको भए कति असुरक्षित हुँदो हुँ म ।
‘आमा पाइलट भनेको के हो ?,’ डिलबाट बाटोको मध्यभागतिर मोडिँदै सोधे ।
‘ऊ माथि आकाशमा चिलगाडी उडाउने मान्छे,’ आमाले आकाशतिर देखाउँदै भन्नुभयो, ‘मेरो छोरा पनि पाइलट बन्ने । अनि बुवा र मलाई आकाशमा उडाउने ।’
‘हस्,’ म ज्ञानी बने । मलाई आकाशमा उड्न पाउने कुराले कम्ती रमाइलो लागेन ।
भोलिपल्ट स्कुलमा पुग्नेबित्तिकै मैले सुनिल, रम्भा र खेमलाई पाइलट बन्ने सपना सुनाएँ । त्यही उत्तर मैले नेपाली सरलाई सुनाउनु थियो । भुलिहालिएला कि भन्ने चिन्ताले पटक…–पटक मुखभित्रै भट्याइरहें । भोलिपल्ट सर नै आएनन् । पर्सिपल्ट त्यो प्रश्न नै सोधेनन् । तर, म पाइलट भैसकेको थिए मनमनै । कागजका चिलगाडीहरू उठाउथ्यौं हामी भीरबाट । त्यही चिलगाडीसँग उडानको कल्पना गर्न थालेको थिए म ।
सपनाका बारेमा बुझेको त्यही पहिलो समय थियो । त्यसपछि पहाडका गाउँहरूमा माओवादी युद्ध सुरु भयो । हाम्रो परिवार तराई झर्यो । मलाई गाउँ, साथीभाइ र खेतबारी छाडेर तराई हिँड्दा निकै नमज्जा लाग्यो ।
हामी बसमा यात्रा गरिरहेका बेला मेरी आमाले भन्नुभयो, ‘तराईमा राम्रो पढाइ हुन्छ । छोरालाई पाइलट बनाउने मेरो सपना पूरा हुने भयो । यसलाई बोर्डिडमा भर्ना गरिदिनुपर्छ ।’ त्यतिबेला म बाबाको काखमा चकचक गरिरहेको थिएँ ।
धनगढीको क्याम्पस रोडको अलि किनारामा सानो घरमा हाम्रो बसोबास सुरु भयो । पुराना माटोको लेउ लागेका टायल छाइएको छानो । एक तला । बाहिर आँगनमा तुलसीको बोट । किनारनेर किम्बुका रूख । अलि पर नलका यस्तै देखेको थिए, मैले हाम्रो नयाँ घर ।
म वरपर डुलेर चकचक गरिरहन्थें । केही दिनपछि आमाले बोर्डिङमा पढाउन थाल्नुभयो । अर्को दिन म त्यही बोर्डिङमा भर्ना भएँ । घरनजिकै बोर्डिङ भएकाले आमासँगै जान, सँगै फर्कन थाले । दिनहरू बिते । महिना बिते । वर्ष बित्दै गए ।
पहाडबाट झर्दा आमा भन्नुहुन्थ्यो, ‘तराईमा सपना पूरा गर्न सहज हुन्छ । धेरै अवसर हुन्छन् । राम्रा कलेज र स्कुलहरू हुन्छन् ।’ तर, तराई झरेको केही वर्षमै मेरो मनमा भने ठूला–ठूला सपनाहरू बन्न थालेका थिए । ती हाम्रो गाउँका पहाडजत्रै अग्ला । साइकल किन्ने सपनापछि मोटरसाइकलमा सवार हुने सपना । हाम्रो तराईको सानो घरको वरपर ठूला–ठूला घरहरू थिए । ती घरहरूदेखि सपना देख्न थाले, हाम्रो पनि यस्तै घर भइदिएको भए । उनीहरू घरमा रंगीन टिभी र गर्मीमा शीतल पार्ने पंखा हुन्थ्यो । हामी हाते पंखाले गर्मी भगाउने प्रयत्न गथ्र्यो । टिभी थिएन । मलाई लाग्थ्यो, म ठूलो भएपछि टिभी राख्छु, पंखा किन्छु । यस्तै–यस्तै अनगिन्ती सपनाहरू देख्न थाले ।
एसएलसी दिइसकेपछि साथीहरू कम्प्युटर सिक्न थाले । मलाई पनि कम्प्युटर सिक्ने रहर लाग्यो । एसएलसी दिइसकेपछिका तीन महिना इन्टेल कम्प्युटर सेन्टरमा कम्प्युटर सिके । कम्प्युटर खोल्न, बन्द गर्न, जोडन, टाइप गर्न र च्याट गर्न आउन थाल्यो ।
केही सपना सपनाकै लागि हुँदा रहेछन् । ती पूरा गर्नका लागि होइन रहेछन् । सपना मार्नु भनेको आशा मार्नु रहेछ । वुवाआमाले पाइलट पढाउन सक्नुहुन्न भन्ने थाहा पाउन मलाई १० वर्ष लाग्यो । आर्थिक अवस्थाले नै भ्याउँदैनथ्यो मेरो परिवारको । त्यसैले त्यो सपनालाई त्यसपछि मैले आफ्नो गन्तब्य बनाइन ।
एलएलसी पास भएपछि आमावुवाले मलाई उच्च शिक्षाका लागि काठमाडौं पठाउनुभयो । आमावुवालाई जिन्दगीमा पहिलो पटक छाडेर आउँदा अनेक कुरा खेलेका थिए दिमागमा । पछि मनलाई एउटा कुनामा थन्क्याएर हल्का हुने प्रयास गरे । मेरी आमाले मलाई उड्ने प्वाँख हालिदिनुभएको थियो । वुवाले मलाई बलियो आत्मविश्वास दिनुभएको थियो । त्यसैले म कमजोर थिइनँ । जाबो एउटा भौगोलिक विछोडले गल्नलाई । बरु, मलाई मेरो गाउँका ठूला मान्छेहरूजस्तै बन्नु थियो । केही गर्नु थियो । आफ्नो खुट्टामा उभिनु थियो । क्याम्परोडको लेउ लागेको टायल भएको घरलाई सिमेन्टको छतमा बदल्नु थियो । आगनमा पर्खाल लगाउनु थियो । वुवा आमाको खस्रो बेडमा कमलो डस्ना बिछ्याइदिनु थियो । आमाको भान्सामा सघाउने मान्छे राखिदिनु थियो । सबैभन्दा मजबुत बनाउनु थियो हाम्रो उभिने धरातल ।
लाग्थ्यो, आमाले त्यही पूरा गर्न प्वाँख हालिदिनुभएको छ । काठमाडौंमा यही प्वाँखले उड्नेछु । मेरो परिवारका सपना पूरा गर्न । आफ्ना सपनाहरू पूरा गर्न । वुवाको आत्मविश्वासले सबै कठिनाइहरू पार गर्न सक्षम हुनेछु । यस्तै सोच्दै एक्लै नापिरहे काठमाडौंका सडकहरू ।
धेरै कलेजमा बुझेपछि मल्पी कलेजमा ११ क्लासमा भर्ना भए । सुरुवाती समयमा एक्लो भएकाले नमज्जा फिल भयो । पछि साथीहरू थपिए । एउटा फरक दिनचर्यामा अभ्यस्त हुन सिके । काठमाडौंका दुई वर्षले मलाई धेरै कुरा सिकाए । ती कुरा केही मान्छेलाई भेटेर सिकें । केही साथीभाइबाट सिकें । केही कुरा सरले सिकाए । केही क्लासमा सिकें । केही चिया खाने क्याफेमा सिकें । अझ भनूँ, काठमाडौंका सडक, टेम्पो र चोकहरूमा पनि मैले धेरै कुरा सिक्ने मौका पाएँ । यी सबै काठमाडौंमा मेरा लागि पाठशाला थिए । सबैभन्दा धेरै त कलेजको लाइब्रेरीका पुस्तकहरूले सिकाए । मेरो कोर्सका किताबले होइन, अरु नै किताबले ।
मैले कम्प्युटर र विल गेट्सका बारेमा पढ्ने मौका पाएँ । यसले मेरो लगाव कम्प्युटरतिर बढाइदियो । स्नातक तह पहिलो वर्षमा पढ्दा इन्टरनेटतिर मोडिए । कलेजबाट इन्टर्न गर्न वेव डिजाइनिड आउट सोर्सिड कम्पनीमा गएदेखि दिमागमा त्यही नाच्न थालेको थियो । म राति धेरै पल्ट बेडमा कोल्टे फेर्दा पनि त्यस्तै कम्पनीका बारेमा कल्पना गर्थे । मनमनै योजना बनाउँथें । बाटोमा एक्लो हुँदा पनि विभिन्न कुरा दिमागमा खेल्थे । म आफैंमा हराउँथे । ती पनि मेरा लागि चढ्नै नसकिने उकालोहरू थिए, त्यसैले सपना देख्थे । सपनामै रमाउँथे बस ।
आमा भन्थिन्, सपना बाँच्ने आधार हुन् । त्यही सफ्टवेयर कम्पनी खोल्ने सपनालाई पछिल्लो एक वर्ष मैले बाँच्ने आधार बनाएको थिएँ । सपना पनि बदलिँदा रहेछन् । ती फेरिँदा रहेछन् । यो कुरा मेरी आमाले कहिल्यै भनिनन् । मेरो वुवाले पनि खुलाएन । मेरा गाउँलेहरूको धान फलाउने सपना कहिल्यै फेरिएन तर एकदिन मेरो सपना बदलियो ।