साप्ताहिक संवाददाता
स्वीट राइस
सामग्री : आधा किलोग्राम बासमती चामल, २ सय ग्राम चिनी, १ सय ग्राम घिउ, १ चिम्टी सक्कली केसर, ५० ग्राम काजु किसमिस र बदाम ।
विधि : सबैभन्दा पहिले केसरलाई पानीमा भिजाउने । चामललाई पनि पानीमा भिजाउने, त्यसपछि एउटा गहिरो भाँडामा घिउ तताएर भिजाइएको चामल भुट्ने । चामल भुटिएपछि त्यसमा चिनी हालेर फेरि भुट्ने । त्यसपछि भात पाक्नका लागि आवश्यक पानी हालेर पकाउने । भात पाकिसकेपछि बीचमा पर्नेगरी केसरको घोल हालेर छोप्ने । खानेबेलामा माथिबाट मसिनो गरी काटिएको काजु, किसमिस र बदाम छर्केर सर्भ गर्ने । यो अत्यन्तै अडिलो परिकार हो । स्विट राइस तीजको अघिल्लो रात खाँदा भोलिपल्ट दिनभरि जसो शरीरलाई आवश्यक कार्बोहाइड्रेट प्राप्त भैरहन्छ ।
साँधेको माछा
सामग्री : काँडा कम हुने कार्प वा रहु माछा २ किलो, तार्नका लागि तेल १ लिटर, गोलभेंडा २ सय ग्राम, मैदा २ सय ग्राम, जिराको धुलो ५० ग्राम, बेसार आवश्यकता अनुसार, खुर्सानीको धुलो ५० ग्राम, लसुनको पेस्ट ५० ग्राम, अदुवाको पेस्ट ५० ग्राम, कागतीको रस ३ टेबुल चम्चा, भुटेको तोरीको तेल ५० ग्राम, मेथी १ चिम्टी, मरिचको धुलो तथा नुन स्वादअनुसार ।
विधि : सबैभन्दा पहिले माछा सफा गरेर टाउको छुट्याउने । त्यसपछि माछालाई २ इन्च लम्बाइ–चौडाइ हुने गरी टुक्रा पार्ने । यसरी टुक्रा पारिएको माछालाई बेसार र कागतीको रस राखेर मोल्ने । यसरी मोलिएको माछालाई एक घण्टा त्यत्तिकै छाडिदिने । त्यसपछि माछाबाट निस्किएको पानीलाई निथारेर त्यसमा मैदा हालेर मोल्ने । त्यसपछि एउटा कराहीमा तेल तताएर हल्का रातो हुनेगरी सावधानीका साथ तार्ने । अब तारिएको माछामा मरिच, जिरा र खुर्सानीको धुलो, लसुन र अदुवाको पेस्ट हालेर हल्का हातले मोल्ने । त्यसपछि गोलभेंडा पिसेर मोल्ने । साँधेको यो माछा स्न्याक्सका रुपमा वा खानासँग खान सकिन्छ ।
काँक्राको अचार
सामग्री : आलु आधा किलोग्राम, काँक्रा १ किलोग्राम, हरियो खुर्सानी ८–१० वटा, खुर्सानीको धुलो २ चम्चा, तिलको धुलो १ सय ग्राम, मेथी एक चिम्टी, कागतीको रस तथा नुन स्वाद अनुसार ।
विधि : सबैभन्दा पहिले आलुलाई उसिनेर बोक्रा ताछी टुक्रा पार्ने । काँक्रोलाई पनि गुदी फालेर टुक्रा पार्ने । त्यसपछि खुर्सानीको धुलो, तिलको धुलो, नुन, कागतीको रस राखेर हल्का हातले राम्रोसँग मोल्ने । त्यसपछि एउटा प्यानमा तेल तताएर मेथी र हरियो खुर्सानी फुराई झानेर मोल्ने । यो परिकार खानासँग सर्भ गर्न सकिन्छ ।
श्रीखण्ड
सामग्री : दही १ लिटर, चिनी २ सय ग्राम, बदाम ८–१० गेडा, पिस्ता ८–१० गेडा, सुकमेल २–३ वटा धूलो पारिएको ।
विधि : सबैभन्दा पहिले दहीलाई मलमलको कपडामा बाँधेर पानी तर्किंदासम्म झुन्ड्याउने । त्यसपछि पानी तर्किएको दहीलाई एउटा भाँडामा खन्याएर चिनी हाली राम्रोसँग फिट्ने । त्यसपछि मसिनो गरी काटिएको बदाम, पिस्ता तथा सुकमेलको धुलो छर्कने । यो परिकार खाना खाइसकेपछि डिजर्टका रूपमा खान सकिन्छ । नेपालमा यो परिकार सिकर्नीको नामले पनि परिचित छ ।
खसीको मासु
सामग्री : १ किलोग्राम खसीको फिलाको मासु, २ सय ग्राम दही, २ सय ग्राम गोलभेंडा, २–४ वटा तेज पात, २–४ वटा अलैंची, ८–१० वटा सुकमेल, २ सय ग्राम मसिनो गरी काटिएको प्याज, २ टेबुल चम्चा अदुवाको लेदो, २ टेबुल चम्चा लसुनको लेदा, १ चिया चम्चा धनियाँको धुलो, २ चिया चम्चा जिराको धुलो, १ चिया चम्चा बेसार, ४ देखि ६ चिया चम्चा मसिनो गरी काटेको लसुन र अदुवा, १ चिया चम्चा खुर्सानीको धुला, १ सय मिलिलिटर तोरीको तेल, नुन स्वादअनुसार ।
विधि : टुक्रा पारिएको मासुमा दही र नुन मोलेर एक घण्टाका लागि राखिदिने । त्यसपछि मोटो पिंध भएको गहिरो भाँडा अथवा प्रेसर कुकरमा तेल तताएर सुनौलो हुँदासम्म प्याज भुट्ने । त्यसपछि लसुन र अदुवाको लेदो हाली फेरि भुट्ने । त्यसपछि दही मोलेर राखिएको मासु खन्याएर चलाउने । एकपटक उम्लिएपछि बाँकी रहेका सबै मसला हालेर मासुबाट तेल छुट्दासम्म पकाउने । पाकिसकेपछि हरियो धनियाँ छर्केर खानासँग सर्भ गर्ने ।
फ्राइड चिकेन
सामग्री : कुखुराको छातीको मासु १ किलो, मैदा २ सय ग्राम, पाउरोटीको धूलो (बजारमा ब्रेड क्रम्बलका नाममा पाइन्छ) २ सय ग्राम, मरिचको धूलो ५० ग्राम, नुन स्वादअनुसार, तार्नका लागि तेल ५ सय मिलिलिटर ।
विधि : सबैभन्दा पहिले कुखुराको छातीको मासुलाई छाला फालेर २ देखि ३ इन्चको फ्रेन्च फ्राइको जस्तो टुक्रा बनाउने । त्यसपछि उक्त टुक्रालाई भकभकी उम्लिएको पानीमा खन्याउने र १० मिनेटसम्म राख्ने । त्यसपछि पानी निथारेर मरिचको धुलो र नुन मोल्ने । अर्को चरणमा कराहीमा तेल तताउने । त्यसपछि कुखुराको मासुलाई पहिले मैदामा त्यसपछि पाउरोटीको धुलोमा लपेटेर तेलमा पकौडी सरह तार्ने । हल्का खैरो रंग आएपछि झिकेर हरियो धनियाँ वा पुदिनाको चटनीसँग सर्भ गर्ने । यो परिकार खाना खानुअघि स्न्याक्सका रुपमा खान सकिन्छ ।
फ्रुट सलाद
सामग्री : १ सय ग्राम भुइँकटहरको टुक्रा, १ सय ग्राम स्याउको टुक्रा, १ सय ग्रांम केराका टुक्रा, १ सय ग्राम बोक्रा र गुदी फालेर टुक्रा पारिएको काँक्रा, १ सय ग्राम गुदी फालेर मसिनो गरी काटिएको गोलभेडा, ५० ग्रांम गुदी फालेर टुक्रा पारिएको भेंडे खुर्सानी, ५० ग्राम अनारको दाना, आधा कप मायोनेज सस, स्वादअनुसार मरिचको धूलो र नुन ।
विधि : माथि उल्लेख गरिएका सबै सामग्रीलाई एउटा भाँडामा राखेर फलफूलहरू नलत्पतिने गरी हल्कासँग चलाउने । मायोनेज सस चारैतिर लागिसकेपछि नुन र मरिच छर्कने । यसरी तयार भएको सलादलाई एक घण्टा फ्रिजमा राख्ने । यो परिकार खाना सँगसँगै वा खाना खाइसकेपछि डिजर्टका रूपमा खान सकिन्छ ।
दूधबरी
सामग्री : १ लिटर दूध, १ चिम्टी सक्कली केसर, १ चिया चम्चा काजुको धुलो, १ चिया चम्चा मसिनो गरी काटेको बदाम, २० वटा तयारी रसबरी ।
विधि : सबैभन्दा पहिले तयारी रसबरीको रस निचोरेर दुई–दुई टुक्रा पार्ने । त्यसपछि दूध उमालेर त्यसमा केसर हाल्ने । केसर हालेको आधा घण्टापछि काजु र बदाम हालेर राम्रोसँग चलाउने । यो घोललाई फेरि आधा हुँदासम्म उमाल्ने । यसरी तयार भएको घोलमा अघि काटेर राखिएको रसबरी डुबाउने । यो परिकार खाना खाइसकेपछि डिजर्टका रुपमा खान सकिन्छ ।