नेपालमा २०५६ सालदेखि मोबाइल फोनको प्रयोग हुन थालेको हो । हाल हरेक महिना २ लाखभन्दा बढी मोबाइल प्रयोगकर्ता थपिइरहेका छन् । विकसितको तुलनामा विकासशील देशलाई मोबाइल फोनको खाँचो छ । मोबाइल फोन अब कुराकानी गर्नमा मात्र सीमित रहेन । यो करोडौं मानिसको आर्थिक कारोबारमा पनि सहयोगी बनेको छ । यसको पछिल्लो नमुना मोबाइल बैंकिङ हो । मोबाइल निर्माता कम्पनीहरूले मोबाइलमार्फत दैनिक उच्च क्षमताका सफ्टवेयरको सुविधा प्रदान गरिरहेका छन् । यसले कम्प्युटरबाट गर्न सकिने धेरै काम मोबाइलबाटै गर्न सकिने भएको छ । यसैको प्रतिफल अहिले सबैको हातहातमा मोबाइल छ । सूचनाप्रविधि व्यवसायको ठूलो हिस्सा ताररहित प्रविधि, खासगरी मोबाइल फोनले लिएको छ । नेपालमा सूचनाप्रविधि विकासको मानक मानिने मोबाइल क्रान्ति र यसका दुई सेवा भ्वाइस एवं डाटाले सबैको दैनिकी सहज बनाइदिएको छ ।
१० वर्षअघि दुईवटामा सीमित इन्टरनेट सेवा प्रदायक अहिले ४३ पुगेका छन् । नेपालमा मोबाइल सेवा प्रारम्भ भएको डेढ दशकमै दूरसञ्चार घनत्व दोहोरो अंकले वृद्धि मात्र भएको छैन सेटको मूल्यमा समेत भारी गिरावट आएको छ । सेवाको आकार नपत्याउने गरी बढेको छ । नेपालमा वार्षिक १३ अर्ब रुपैयाँभन्दा बढीको मोबाइल व्यापार हुन्छ । अहिले ४० भन्दा बढी मोबाइल ब्रान्डले आक्रामक रूपमा बजार प्रवद्र्धन गरिरहेका छन् । उपहार तथा छुट योजनाले उपभोक्ताको संख्या त बढाएको छ नै, ग्राहकले पनि कम मूल्यमा विभिन्न सुविधासहितका मोबाइल प्रयोग गर्न पाएका छन् ।
नेपालको मोबाइल बजारमा हालसम्म सामसुङ कै हालीमुहाली छ । त्यसपछि विभिन्न ब्रान्डले आफू अगाडि भएको दाबी गर्ने गरेका छन् । यसमध्ये हुवावे, कलर्स, जियोनी, माइक्रोम्याक्स आदि ब्रान्ड प्रतिस्पर्धामा छन् । पछिल्लो समयमा विश्व बजारका साथै नेपाली बजारमा पनि चिनियाँ स्मार्टफोन कम्पनी हुवावे तथा जियोनीको बाहुल्यता बढिरहेको छ । चिनियाँ कम्पनीहरूले उच्च मूल्यका साथै बजेट स्मार्टफोन सार्वजनिक गरिरहेका हुँदा यस्ता स्मार्टफोन ग्राहकहरूको छनौटमा परेका हुन् । यसमध्ये पनि हुवावेले उच्चस्तरका स्मार्टफोनहरू नेपालमा पनि उपलब्ध गराएको र यसका विभिन्न फिचरका कारण नेपाली ग्राहकहरूको रोजाइमा पर्न सफलता प्राप्त गरेको छ । इन्ट्री लेभलकादेखि उच्चस्तरका स्मार्टफोन नेपाली बजारमा उपलब्ध हुने हुँदा अहिले सामसुङपछि हुवावेको बजार राम्रो भएको अनुमान गर्न सकिन्छ ।
नेपालको मोबाइल बजारलाई हेर्दा उपत्यकामा ४० प्रतिशत तथा उपत्यका बाहिरको बजारले ६० प्रतिशत हिस्सा ओगटेको छ । त्यसैले काठमाडौं उपत्यकाको मोबाइल बजारमा सबैभन्दा बढी प्रतिस्पर्धा छ । अझ उपत्यकाभित्र पनि न्यूरोड क्षेत्रले मोबाइल बजारको हिस्सामा ६० देखि ७० प्रतिशत लिएको अनुमान गरिन्छ । त्यसैले अधिकांश मोबाइल ब्रान्ड तथा कम्पनीहरूको केन्द्रमा न्युरोड क्षेत्रको मोबाइल बजार पर्ने गरेको छ । यद्यपि अहिले मोबाइल व्यवसायको बजार बाहिरी क्षेत्रमा पनि बिस्तार हुँदै गएको छ ।
न्यूरोड क्षेत्रमा ब्रान्ड सफल भए मात्र अन्य बजारमा मोबाइल ब्रान्ड बन्छ भन्ने धारणा आम व्यवसायी तथा कम्पनीहरूमा छ । यसले पनि देखाउँछ, न्युरोड क्षेत्रमा रहेका मोबाइल ब्रान्डहरूको हानाथाप । तैपनि केही मोबाइल व्यवसायीले मोबाइल कम्पनीको सहयोग एवं सहकार्यमा मोबाइल बजारलाई उपत्यकाका अन्य क्षेत्रमा पनि विस्तार गर्ने प्रयास गरिरहेका छन् । यसको एउटा राम्रो उदाहरण पछिल्लो समय ललितपुर मोबाइल कम्प्लेक्समा स्थापना गरिएको मल्टिब्रान्ड मोबाइल शोरुम हो । त्यस्तै उपत्यकाका अन्य स्थानहरूमा पनि मोबाइल व्यवसाय केन्द्रित हुन खोजेको देखिन्छ । न्युरोड भन्दा बाहिरी क्षेत्रमा पनि मोबाइल व्यवसायको बजार विस्तार भए मोबाइल ग्राहकहरूले पनि सुविधा र सहजता अनुभव गर्न सक्छन् । त्यसका लागि व्यवसायीहरू आफैं पनि सचेत हुनुपर्ने समय आइसकेको छ ।
(ललितपुर मोबाइल कम्प्लेक्सका अध्यक्ष बस्नेतसँगको कुराकानीमा आधारित)