मञ्जु कार्की (पाण्डे), मोडल/ब्युटिसियन
म पेसाले ब्युटिसियन हुँ । भर्खरै एउटा मोडलिङ प्रतिस्पर्धामा सहभागिता जनाएर दुईवटा एवार्ड जितेपछि म मोडलका रूपमा समेत चिनिन थालेकी छु । दुई भिन्न विधामा सक्रिय भए पनि म नाचगान भनेपछि हुरुक्क हुन्छु । खासगरी तीजजस्तो गीत–संगीतको पर्व आएपछि त मलाई फुर्सदै हुँदैन । आफन्त तथा साथीभाइहरूले आयोजना गर्ने तीजविशेष कार्यक्रमहरूमा मेरो उपस्थिति अनिवार्य हुन्छ । मलाई चिन्नेहरूलाई राम्रोसँग थाहा छ, म तीजका गीतमा घन्टौं नृत्य गर्न सक्छु ।
नृत्यमा म सानैदेखि पारंगत थिएँ । विगतमा मोर्डन डान्सको प्रशिक्षण पनि लिएकी थिएँ । भर्खरै मात्र मैले ६ महिनाको जुम्बा डान्सको प्रशिक्षण पनि पूरा गरेकी छु । तीजका गीतमा नृत्य गर्न त सिकिरहनु नै पर्दैन । अघिल्लो वर्षको तीजको दिन म कोटेश्वरस्थित महादेवस्थानमा थिएँ । त्यहाँ विभिन्न गायिकाले तीज गीतको कन्सर्ट नै दिनुभएको थियो । उक्त कार्यक्रममा सबैभन्दा बढी नृत्य गरेर मैले दिदी–बहिनीहरूलाई प्रशस्त मनोरञ्जन प्रदान गरेकी थिएँ ।
तीज भनेकै नाचगान गर्ने पर्व हो । दर खाने कार्यक्रमको मुख्य आकर्षक पनि नाचगान नै हो, खानपिन त रमाइलो गर्ने बहाना मात्र हो । यसै पनि म गीत बज्न थालेपछि नाच्न अघि सर्छु, अझ् दरखाने कार्यक्रममा तीजकै गीत बज्न थालेपछि मलाई कसैले रोक्न सक्दैनन् । मलाई साथ दिनेहरू पनि केही समयपछि थाकेर नाच्न छाड्छन् ।
त्यसो त मैले तीज गीतका केही म्युजिक भिडियोका लागि पनि नृत्य गरिसकेकी छु । अघिल्ला वर्ष तयार भएका केही तीज गीतका भिडियोमा मैले गरेको नृत्यको प्रशंसासमेत भएको थियो । यो वर्ष भने सौन्दर्य प्रतियोगिताका कारण मैले भिडियोमा नृत्य गर्न भ्याइनँ । मलाई सबैभन्दा मनपर्ने तीज गीत ‘तीजको रहर आयो बरिलै...’ हो तर म हरेक तीज गीतमा उत्तिकै रमाइलो नृत्य गर्न सक्छु । यसपटकको तीजमा मैले आधा दर्जनभन्दा बढी दर खाने कार्यक्रममा सहभागिता जनाइसकेकी छु । यो वर्ष मलाई गायिका योजना पुरीले गाएको तीज गीत ‘ए शिवजी...’ सबैभन्दा बढी मन परेको छ । यो वर्ष सहभागिता जनाएका आधा दर्जन तीजका कार्यक्रममा म यही गीतमा धेरै पटक नाचेकी छु । यसपटकको तीजको दिन पनि मैले दिनभरि नाच्ने योजना बनाएकी छु । घर नजिकै पर्ने भएकाले हामी कोटेश्वर महादेवस्थानमा भेला हुन्छौं । बिहानदेखि निराहार व्रत बस्नु त छँदैछ, थुप्रै महिला दिदी–बहिनी भेला भएको ठाउँमा तीज गीतमा छमछमी नृत्य गर्न पाउँदा आफू निराहार व्रत बसेकी छु भन्ने कुरा पनि बिर्सन्छन् । तीजको व्रतमा पानी पनि खानु हुन्न भन्ने चलन छ, म पनि सकेसम्म पानी नै नखाइ व्रत मात्र बस्दिन, दिनभरि नृत्यसमेत गर्छु ।