साप्ताहिक संवाददाता
पानीपुरी चटपटेदेखि ढाडे बिरालोसम्म गरेर यो वर्ष २ सयभन्दा बढी तीज गीत तयार भए । केही अघि आएको शक्तिशाली भूकम्पपछि कम तीज गीत बन्ने अनुमान विपरीत गत वर्ष बराबर गीत तयार भए । यसो हुनुका पछाडि केही कारण थिए । पहिलो, यो वर्ष क्यालेन्डरमा तीज गत वर्षभन्दा पछाडि थियो, त्यसैले पर्याप्त समय पाएकाले सबै तीज गीत निकाल्ने दौडमा अघि सरे । दोस्रो, भूकम्पपछि त्रसित जीवन विभिन्न कारणले गर्दा छोटो समयमै तङ्ग्रियो । मानिसहरू नियमित जीवनशैलीमा फर्किए । तेस्रो, विरक्त लाग्दो राजनीतिबाट उन्मुक्ति खोज्न तीजको रंगीन वातावरण आवश्यक मानियो । सबैभन्दा महत्वपूर्ण चौथो कारणचाहिँ विगतका वर्षहरूमा तीजको मौका छोप्ने गायक गायिकाले यो वर्ष तीज गीतको एल्बम नगरे पछाडि परिने मान्यतामा नियमितताका लागि भए पनि तीज गीत गाए ।
त्यसो त भूकम्प लगत्तै तीज गीत नगर्ने भनेर घोषणा गरेका कलाकार पनि समय क्रममा तीज गीत गाउन अघि सरे । अझ रोचक त विगतका वर्षहरूमा तीज गीत गाउन छोडेका गायक गायिकाले पनि यो वर्ष तीज गीत गाए । नयाँ सर्जकहरूको प्रवेश पनि उत्साहबर्धक रहयो । वर्षभरि शान्त रहने र तीजको समयमा गीत तयार गर्नेहरूले यो वर्ष पनि उक्त कार्यलाई निरन्तरता दिए । विदेशमा रहेका नेपाली कलाकारहरू पनि तीज गीतिसंग्रह तयार गर्न नेपाल आइपुगे भने नेपालमा समयमै तीज गीत तयार पारेर बिदेसिने कलाकार पनि उत्तिकै भए ।
‘तीज भन्नेबित्तिकै फरक किसिमको वातावरण बन्छ’ विगतमा तीज गीत गाएर यो वर्ष नगाएका गायक रमेशराज भट्टराईले भने– ‘नेपाली नारीहरूको महान पर्व हुनुका साथै भरपुर मनोरन्जन गरिने चाड भएकाले यसको महत्व कलाकारहरूले बुझेका हुन्छन्, विषम परिस्थिति भए पनि तीजको वातावरण बनेर नै होला, यसपटक पनि गीतको संख्या कम भएनन् ।’ भूकम्पले त्रसित वातावरणलाई बिर्साउन तीज गीतले महत्त्वपूर्ण भूमिका खेलेको कलाकारहरूको दाबी छ । उनीहरूका अनुसार चाडबाडमा रमाइलो गर्ने बानी परेका नेपालीहरू अहिले भूकम्प बिर्सिएर तीजको वातावरणमा रमाइरहेका छन् ।
तीजले छपक्कै छोपेको छ । दर खाने र ख्वाउने क्रम तीव्र गतिमा जारी छ । कलरफुल यो जीवनशैलीमा तीजका रंगीन गीतले महिला दिदी–बहिनीलाई गजबसँग नचाइरहेको छ । कम्मर मर्काउन मिल्नेदेखि विरहसम्मका गीत दर्शक श्रोतामाझ पुगेका छन् । त्यसैले श्रोताले आफ्नो चाहना अनुरूपको गीत रोजेर त्यसलाई सुन्न वा हेर्न सक्छन् ।
सामान्यत: एउटा गीत पूर्णरूपमा तयार गर्न १ लाख ५० हजार रुपैयाँदेखि २ लाख रुपैयाँसम्म खर्च हुने विन्ध्यवासिनी म्युजिकका सुवास रेग्मी बताउँछन् । न्यूनतम १ लाख ५० हजारलाई आधारमान्दा पनि २ सयवटा गीत तयार हुन ३ करोड रुपैयाँ खर्च भएको देखिन्छ । जुन लगानी तीजको अहिलेको वातावरणमा उठ्न धेरै मुस्किल छ । भिसिडी–डिभिडीको बिक्री ठप्प, सिआरबिटी तथा पिआरबिटीको आम्दानी पनि लगभग शून्य भैसकेको अवस्थामा युट्युब भ्युअर्स र स्टेज कार्यक्रमबाट कलाकारहरूले यो लगानी उठाउनुपर्ने हुन्छ । युट्युब भ्युअर्सबाट आउने न्यून आम्दानीले लगानी उठाउन सक्दैन । गत वर्ष बराबर नै गीत तयार भए पनि यो वर्ष तीजका कार्यक्रम भने धेरै नै कम छन्, यस्तो अवस्थामा लगानी उठ्न अझ गाह्रो देखिन्छ । चर्चाका निम्ति लगानी गर्नेहरूलाई भने सधैं झैं यो वर्ष पनि फाइदा नै हुन्छ । गीतको दृश्यमा आफू देखिन पाउने भएकाले उनीहरूले त्यसबाटै सन्तुष्टि लिन सक्छन् ।
तीज गीत बनाएर मात्र पुग्दैन्, त्यसलाई प्रबद्र्धन गर्न पनि उत्तिकै खर्च लाग्छ । एकदर्जनभन्दा बढी टेलिभिजनमा तीज गीतका ‘प्रोमो’ बज्छन् । विज्ञापन मानिने प्रोमोमा खर्च गर्न एउटा गीतको ५० हजार वा त्यसभन्दा बढी खर्च हुन्छ । तीज गीत तयार पार्ने गायक गायिका वा गीतकारले गीत सिर्जना गरेर म्युजिक भिडियोसम्म निर्माण गरिसकेपछि प्रबद्र्धनका निम्ति कम्पनीलाई गुहार्छन् । कम्पनीले युट्युब रोयल्टीका आधारमा प्रबद्र्धन खर्च गर्छन् । त्यसैले युट्युबको आम्दानी पनि सिर्जनाकर्मीले पाउने आशा कमै हुन्छ । विन्ध्यवासिनी म्युजिकका सुवास रेग्मी भन्छन्– ‘तीज गीतको लगानी बालुवामा पानीहाले बराबर हो, चर्चाका लागि निकाल्नेहरू अन्तिममा रुन्छन् भने निरन्तरताका लागि तीज गीत गर्नेहरू मर्ने हुन् ।’
तीज गीत गाएपछि त्यसले वर्षभरिका स्टेज सोका निम्ति पनि उत्तिकै काम गर्छ । गायिका कोमल वलीलाई हरेक स्टेजमा पोइला जान पाम गाउन आग्रह गरिन्छ । कुनै समयको यो तीज गीत उनी अरू समयमा पनि गाउँछन् । तीजको समयमा गाएका गीत अरू समयमा गाउँदा पनि उत्तिकै सान्दर्भिक हुन्छन् । गायिका राधिका हमाल भन्छिन्– ‘मेरा पुराना तीज गीतको अहिले पनि डिमान्ड छ ।’ वर्षभरी बिक्नसक्ने भएकाले पनि तीजमा धेरै गीत बनेका हुन् । तीज गीत सोभरदेखि ओभरसम्म गायत्री थापाको माइतीको झ–झल्कोदेखि लक्ष्मी मल्लको सेल्फी, सेल्फी, सेल्फी, प्रकाश कटुवाल र श्रीदेवी देवकोटाको ढाडे बिरालोसम्मका गीत अहिले बजारमा छन् । बसन्ती सुनुवारको सोलमारीमा जाने हो, भूकम्पपछिको वातावरणप्रति लक्षित पशुपति शर्मा र शान्तिश्री परियारको झाँक्री बा, कोमल वलिको पानी नखाई बस्नै पर्दैन्, ज्योति मगरको छोटो सारी, रमेश बी.जी.को भत्क्यो माइतीघर, रेखा शाहको रक्षा गर शिवजी आदि पनि यही वर्षको तीजलाई लक्षित गरेर तयार भएका हुन् । यस क्रममा नवप्रवेशीका रूपमा पनि २५ जनाभन्दा बढी नयाँ गायकगायिकाको प्रवेश भएको छ, जसमा अन्जु श्रेष्ठ, कल्पना कुसुम, लक्ष्मी मल्ल, शालु गौतम, सिनम अधिकारीजस्ता नाम छन् । यस्तै पप आधुनिक गायनमा सक्रिय साहिमा श्रेष्ठ, योजना पुरी, आगन्तुक खरेल आदिले पनि यो वर्ष तीज गीत गाएका छन् ।
तीज गीतका शब्द पनि अचम्म लाग्दा छन् । मिस्टरबाबु अधिकारीको सबैभन्दा राम्रो हजुर मेरी श्रीमतीको जस्ता गीत पनि छन् । फरक गर्ने नाममा शब्दमा ब्यापक परिवर्तन आएको छ । दुई अर्थ लाग्ने गीत युवावर्गका दर्शकश्रोताले रुचाउने अनुमानका आधारमा केही अश्लील लाग्ने शब्द र त्यसकिसिमकै म्युजिक भिडियो तयार पार्ने ट्ेरन्ड पनि बढेको छ । ‘संगीतमा लागेको १ दशक नाघिसक्यो, राम्रा गीत बनाउँदा कसैले सुनेनन्’ द्विअर्थी तीज गीत बनाएका एक संगीतकर्मीले भने– ‘अति नै भएर मैले केही छाडा लाग्ने गीत बनाए, ती गीत चाहिँ ब्लकबस्टर चलिरहेका छन्, जस्तो समाज छ, त्यस्तै गीत बनाउनुपर्ने रहेछ ।’ त्यसो त राम्रो भाका र शब्दका गीत नचलेका पनि होइनन् । पशुपति शर्मा र जानकी तारामी मगरको पानी पुरी चटपटे देखि सन्दिप न्यौपाने–देवीका केसीको रातो साडीसम्मले युट्युबमा राम्रै दर्शक पाएका छन् । राधिका हमाल, टीका पुन, देवी घर्ती, पूर्णकला बिसी, रेखा शाह, सुनिता दुलालका गीत पनि उत्तिकै रुचाइएका छन् । यद्यपि यी सबै गीत पनि स्टारडमका कारण चलेको आरोप लगाउाछन्, अन्य गायकगायिकाहरू ।
सामाजिक संजालमा युवापुस्ताको उपस्थिती बढी भएकाले उनीहरूले ग्लामरस गीतलाई प्राथमिकतामा राख्छन् भन्ने मान्यता छ । त्यसैले युट्युबको ‘थम्बबेल’ बनाउँदा ग्लामरस दृश्य राखिन्छ । कस्ता तीज गीत लोकप्रिय भन्ने आधार छुट्याउन पनि गाह्रो छ । अहिलेको अवस्थामा युट्युबमा धेरै हेरिएका तीजका गीतलाई लोकप्रिय मान्न सकिन्छ तर गीतका शब्द, संगीत, गायन एवं त्यसको मोडलिङका आधारमा नराम्रा भनिने गीत पनि युट्युबमा हिट छन् भने राम्रा भनिएका गीतले अपेक्षा अनुरुप भ्युअर्स पाएका छैनन् । तीज गीतको अवार्ड गरिए पनि त्यसले पनि सबैलाई समेट्न र सहि मूल्याकंन गर्न नसकिरहेको जानकारहरू बताउँछन् ।
तीज गीतमा नाच्दै नायक–नायिकाहरू
यो वर्ष गायिका चन्दा अर्यालको ‘मेरो रूपैले पोखरामा तहल्का मच्चायो’ गीतको म्युजिक भिडियोमा नायिका मेलिना मानन्धरले अभिनय गरिन् जसलाई मेलिनाको कमब्याकका रूपमा हेरिएको छ । उनले लामो समयपछि अभिनय गरेकी हुन् । यस्तै नायिका रेजिना उप्रेती, अनु शाह, शशि खड्का आदिले पनि तीज गीतको म्युजिक भिडियोमा काम गरे । विगतका वर्षमा नायिका करिश्मा मानन्धर, झरना थापा, दीपाश्री निरौला, सुष्मा कार्की आदिले पनि तीजको म्युजिक भिडियोमा नृत्य गरेका थिए । यस्तै विष्णु माझीले गाएको मेरो भेना हङकङको लाहुरे शीर्षकको तीज गीतमा महानायक राजेश हमालले अभिनय गरेका छन् । शिव विकले निर्देशन गरेको यो म्युजिक भिडियोमा महानायकको गेटअप आकर्षक छ । यस्तै हास्यकलाकारहरू कुमार कट्टेल जिग्री ब्रो, अर्जुन घिमिरे पाँडे, हरि निरौला कक्रोच, सागर लम्साल बले, शिवहरी पौडेल, किरण केसी आदिले पनि तीज गीतका भिडियोमा अभिनय गरेका छन् ।
जो हराए र कमब्याक गरे
कुनै समय तीज गीत भन्ने बित्तिकै गायिका सिन्धु मल्लको क्रेज अत्यधिक थियो । पछिल्लो समय उनको त्यो क्रेज घटेको छ । सिन्धुको व्यक्तिगत कारणले नै उनको बजार कम भएको हुनसक्छ । ५ वर्ष अघि उनले गाएको आउ न राधा आउ गीत युट्युबमा करिब ८ लाखले हेरेका थिए । यस्तै बद्री पंगेनीका साथ ३ वर्षअघि गाएको माइतबाट शिर्षकको गीत करिब ४ लाखले हेरेका थिए । गतवर्ष उनले रामचन्द्र काफ्लेका साथ रातो सारी गाएकी थिइन् भने यो वर्ष कुनै रात कल्पेर जाग्या छु गाएकी छिन् । यद्यपि पछिल्लो समय उनका गीतका भ्युअर्स उल्लेख्य छैनन् । यस्तै कुनै समयकी चर्चित तीज गायिका लक्ष्मी न्यौपानेले पनि यो वर्ष टिकिया हो मेरोबाट कमब्याक गरेकी छिन् । अर्की चर्चित गायिका शिला आले पनि तीज गायनबाट हराएकी छिन् । २ वर्ष अघि समूहमा बेर भयो मेला जान गाएकी शिलाले तीजलाई लक्षित गरेर नयाँ एल्बम तयार पारेकी छैनन् । तीज गायनमा चर्चित मान्डबी त्रिपाठीले यो वर्षको तीजमा गीत त गाएकी छिन् तर उनको विगतको क्रेज दोहोरिएको देखिँदैन । थुप्रै गायक–गायिका जो तीज गीतमा विगतमा चर्चामा रहे, उनीहरूले अहिलेको वर्ष त्यसलाई निरन्तरता दिएका छैनन् भने जो कुनै समय चर्चामा रहेर बिचमा हराएका थिए, उनीहरूले यो वर्ष पुन: आगमन पनि गरेका छन् । चर्चित गायिका कृष्णा परियारले पनि यही वर्ष कमब्याक गरेकी छिन् ।
तीज गीत गाउने गायकहरू
यो वर्ष तीज गीत गाउने गायकहरूमा खुमन अधिकारी, पशुपति शर्मा, तिलक वलि उल्लेख्य रहे । खुमनले १७, पशुपतिले ९, तिलक वलिले १० तथा तेजस रेग्मीले ८ वटा तीज गीत गाए । बुटवलका गीतकार खेम सेन्चुरीले १० वटा तीज गीतिसंग्रह सार्वजनिक गरे । दाङका गायक सन्दिप न्यौपानेले गायिका देवीका केसी र साहिमा श्रेष्ठसँग तीज गीत गाए । गायक राजु ढकालले ६ वटा तीज गीत गाए । गायक राजेन्द्र काडेलले पनि आधा दर्जन तीज गीत गाए । प्रजापति पराजुली देखि पुरुषोत्तम न्यौपाने, एकनारायण भन्डारी, मौसम गुरुङ, बसन्त थापा आदिले पनि तीज गीतिसंग्रह सार्वजनिक गरेका छन् ।