साप्ताहिक संवाददाता
म २४ वर्षीया युवती हुँ । मेरो ब्वाइफ्रेन्ड ३० वर्षको छ । हाम्रो विवाह भएको छैन तर हाम्रो प्रेम र यौनसम्बन्ध भएको तीन वर्ष भैसकेको छ । अहिलेसम्म हाम्रो सम्बन्ध ठीक छ, तर मलाई उसले धोका दिने हो कि भन्ने डर लागिरहन्छ । उसले मभन्दा पहिलेकी गर्लफ्रेन्ड मेरा लागि छोडेको थियो । कतै अरू केटीसँग आकर्षित भएर उसले मलाई पनि छोड्ने त होइन भन्ने लागिरहन्छ । के एकपटक कसैलाई धोका दिइसकेको मान्छेले पटक–पटक धोका दिन्छ ?
मा.
थुपै्र संकल्प र प्रणहरूको धागोमा उनिएको एउटा प्रगाढ सम्बन्ध एकाएक चुँडिन्छ भने अर्को यस्तै सम्बन्ध कसरी मजबुत बन्न सक्ला ? एकपछि अर्को सम्बन्ध यसरी चुँडिँदै गएपछि यो एउटा अन्तहीन श्रृंखला कहाँ पुगेर टुंगिएला ? प्रश्न निकै पेचिलो लाग्छ । पक्कै पनि यस्तो स्थितिबाट गुज्रने तपाईं एक्लो हुनुहुन्न । सूचना बटुल्दै जाने हो भने संसारभर यस्ता परिस्थितिबाट गुज्रिनेहरूको लामै सूची तयार हुन्छ । धोका एउटा चरित्र पनि हो । एकपटक सुरु भएपछि यसले कारणको बहाना रचना गर्नै पर्दैन । त्यसैले धेरैले भन्छन्, एकपटक धोका दिनेले पटक–पटक दिन सक्छ, तर सिक्काको अर्को पाटो पनि छ । एउटा धोकाले अर्कोलाई पछ्याइरहने हुँदैन । केही यस्ता असहज सम्बन्धहरू हुन्छन्, जसको परिपक्वता स्थापित भैनसकेको हुन सक्छ र धोका हुन सक्छ । एउटा धोकाबाट अर्को मजबुत सम्बन्धको गाँठो कसिन सक्छ । विभिन्न समयमा भएका अध्ययन–अनुसन्धानहरूले एकपटकको धोकाबाट पाठ सिक्दै नयाँ सम्वबन्धहरू मजबुत र दिगो भएको देखाएका छन् ।
अमेरिकामा युवा–युवतीबीच यस्तै किसिमको एउटा अनुसन्धान गरिएको थियो । अनुसन्धानमा सहभागीहरू फरक यौनसाथीसँग सम्पर्क गर्नेहरू थिए । तीमध्ये ८६ प्रतिशत युवा र ६२ प्रतिशत युवतीले फरक मान्छेसँग एकपटकभन्दा बढी यौनसम्बन्ध भएको बताएका छन्, तर यो एउटा मात्र अनुसन्धानको कुरा हो र यो वयस्कमा मात्र गरिएको अध्ययन हो ।
यदि कसैले एउटा पार्टनर हुँदाहँुदै अर्को पार्टनर बनाउँछ भने त्यसका पछाडि कुनै कारण अवश्य हुन्छ । विशेष गरी सम्बन्धसँग वा व्यक्तिसँग गाँसिएको कुरा हुन सक्छ । विभिन्न अध्ययनअनुसार प्राय: मानिसले धोका दिनुपर्ने प्रमुख कारण भैरहेको सम्बन्धसँग असन्तुष्टि हुन्छ । उदाहरणका लागि दुई जनाबीचको भावनात्मक, यौनचाहना वा व्यक्तित्व नमिलेको हुन सक्छ । यदि बाल्यावस्थामा भावना वा मायामा अभाव भोग्नुपरेको वा आफूले पनि कुनै धोका महसुस गरेको छ भने मायाको खोजी गर्ने क्रममा धेरै पार्टनर हुन सक्छन् ।
अर्को सम्बन्ध भैसकेपछि फेरि त्यस्तै असन्तुष्टि हुन सक्ने र धोका हुन सक्ने नहुन सक्छ । एकपटक सम्बन्ध टुट्दैमा फेरि भविष्यको सम्बन्ध पनि त्यस्तै हुन्छ भन्न सकिँदैन । वास्तवमा धोका भन्ने कुरा व्यक्तित्वअनुसार फरक पर्न सक्छ । जस्तै यदि कुनै व्यक्ति स्वअनुशासित छ, अरूको भावना बुझ्न सक्छ र सचेत हुन्छ, उसले धोका दिने कम सम्भावना हुन्छ । त्यस्तै जुन व्यक्ति यसको ठीक विपरित छ, उसले धोका दिने सम्भावना बढी हुन्छ । अर्को अध्ययनअनुसार व्यक्ति तनाव र चिन्ताबाट टाढा रहन पनि अर्को व्यक्तिसँग सम्बन्ध बढाउँछन् ।
अब तपाईंको सन्दर्भको चर्चा गरौं, हुनत तपाईंले भनेअनुसार एकपटक धोका दिनेले अर्को पटक पनि दिन सक्छ भन्ने हो, तर यो सधैं सत्य नहुने भएकाले आफ्नो पार्टनर यदि तपार्इंलाई साँच्नै मन परेको हो र उहाँसँग सम्बन्ध बढाउन विश्वासको वातावरण सिर्जना गर्नु आवश्यक हुन्छ । जस्तो कि माया तथा यौनका लागि वातावरण र परिवेश आवश्यक पर्छ । यौनसम्पर्क सुरक्षित पनि हुनुपर्छ । आपसमा माया र भावना साटासाट गर्ने अवसरहरू उपलब्ध हुनुपर्छ अर्थात् सबै किसिमको वैधानिकता हुनुपर्छ । यी सम्पूर्ण कुराको अभावमा मानिसहरूमा केही न केही त्रास, डर वा शंका उपशंकाहरू हुन्छन् र यसले गर्दा एक–अर्काको भावना बुझ्न कठिन भएको र दुवैले यौनसम्पर्कबाट पूर्ण आनन्द प्राप्त गर्न नसकेको महसुस हुन सक्छ ।
तपाईंको प्रश्नमा तपाईं र पार्टनरबीच अहिले कुनै अप्ठ्यारो नभएको बुझिन्छ । त्यसैले एक–अर्कासँग कुराकानी, आफ्ना चाहनाहरू अभिव्यक्त गर्ने तौरतरिका, आफूलाई लागेको रमाइलो पक्ष आदिका बारेमा खुला दिलले कुरा गरे यो समस्या त्यति ठूलो हो जस्तो लाग्दैन ।
आफ्नो पार्टनरसँग सम्बन्ध राम्रो छँदाछँदै भविष्यमा केही नराम्रो हुन्छ कि भनेर सोच्ने र मनमा अविश्वास राखी सम्बन्ध अगाडि बढाउन खोज्ने हो भने सम्बन्धमा समस्याचाहिँ अवश्य उत्पन्न हुन्छ । तपाईंमा आएको शंकाले तपाईंको पार्टनरलाई तपाईंको व्यवहारले कुनै दबाब दिएको महसुस गर्नु हुँदैन । दुई जनामा एकले आफूलाई यौनइच्छा नहुँदा इच्छा नभएको कुरा व्यक्त गर्ने अधिकार प्रदान गर्नुका साथै त्यस्तो भावनाको सम्मान गरिनुपर्छ । यौनसम्पर्कपछि एक–अर्काप्रति सम्मान हुनुपर्छ र सम्मान गिरेको महसुस हुनु हुँदैन । यौनइच्छा तथा यौन क्रियाकलापका बारेमा खुलेर एक–अर्कासँग कुरा गर्नुपर्छ । त्यसबाहेक हरेक यौनसम्पर्क हुनुभन्दा अघि एक–अर्काको शरीर र भावना महसुस गर्नुपर्छ ।