विश्वचर्चित व्यक्तिलाई भेट्ने र भलाकुसारी गर्न पाउने नेपाली अक्सर मात्र भेटिन्छन् । कतिपय नेपालीले पनि विश्व चर्चित खेलाडी, कलाकार, नेता तथा सामाजिक अभियन्ताहरूलाई भेटेको समाचार बेलामौकामा बाहिर आउँछ । तनहुँकी एक २२ वर्षीया युवतीले विश्वचर्चित खेलाडी लियोनल मेसीलाई भेटेको तस्बिर सामाजिक सञ्जालमा आएपछि अहिले उनलाई बधाईको ओहिरो लागेको छ ।
काठमाडौंको मोक्ष निकेतन गुरुकुलका गुरु श्रमातित मोक्षबाट दीक्षित पत्रकारिताकी विद्यार्थी रक्षा पाण्डे स्नातक तेस्रो वर्षको परीक्षा सकेर केही साथीहरूसँग बार्सिलोनाको भ्रमणमा गएकी थिइन् । एउटा संस्थाले प्रदान गरेको छात्रावृत्तिमार्फत बार्सिलोना पुगेकी पाण्डेले विश्व नम्बर एक खेलाडी लियोनल मेसीसँग भेटिन् । भेटमा मेसीले उनीसँग नेपालको भूकम्पका सम्बन्धमा जानकारी लिए भने पाण्डेले मेसीलाई भर्खरै पुत्र लाभ भएकोमा बधाई दिइन् ।
उनले पहिलो पटक मेसीलाई भेट्दाको अनुभव अनलाइनमार्फत साप्ताहिकसँग साटेकी छिन् : मैले विश्व चर्चित खेलाडी मेसीसँग भेट्न पाउँछु भनेर कहिल्यै सोचेकी थिइन् । मेसी मलाई औधी मन पर्ने खेलाडी हुन् । जीवनमा कहिलेकाहीँ नसोचेको अवसर प्राप्त हुँदोरहेछ । हालैको एक दिन बिहान १० बजे मलगायत मेरा चार जना साथी आन्टी क्लाउडियासँग ‘सिउडाड डे पोर्टिभा डेल बार्सिलोना’ भन्ने ठाउँ गयौं । जहाँ मेसीलगायत अन्य थुप्रै विश्वचर्चित खेलाडी फुटबल अभ्यास गर्छन् ।
हामी पुग्दा मेसीलगायत अरू सबै खेलाडी मैदानमा अभ्यास गरिरहेका थिए । हामी भेट्न आउने कुरा अघिल्लो दिन नै मेसीलाई जानकारी गराइएको थियो भने उनले त्यसका लागि अनुमति पनि दिएका थिए । जब हामी फुटबल मैदान पुग्यौ त्यहाँ उनीहरूलाई डिस्टर्ब गर्न नपाइने रहेछ, त्यसैले लगभग ३० मिनेट कुर्यौं । त्यसपछि मेसी आफैंले बोलाए अनि हामी बिस्तारै उनी अभ्यास गरिरहेको स्थानतर्फ गयौं ।
मलाई विश्वासै लागेन– म विश्व नम्बर १ खेलाडी मेसीसँग छु भन्ने कुराको । एकछिन त सपनैजस्तो लाग्यो । म एकदम धेरै एक्साइटेड थिए । मेसीले नेपालमा गएको भूकम्पका सम्बन्धमा जान्न चाहे, हामीले सबै कुरा विस्तारमा बतायौं । उनले अत्यन्तै चाख दिएर सुने अनि सहयोग गर्ने वचन पनि दिए । हामीले करिब डेढ घण्टा खेलाडीहरूसँग भलाकुसारी गर्यौं ।
मलाई एकदमै आत्मीय लागे मेसी । उनी भावुकसमेत भए । हामीलाई मेसीको भर्खरै छोरा जन्मिएको छ भन्ने थाहा थियो । मौका नगुमाई हामीले बधाई दियौ । उनी खुसी भए । हामीले नेयमारसँग पनि कुरा गयौं । उनी पनि त्यस्तै स्वभावका । नेयमारचाहिँ अलिक बढी रोमान्टिक लागे । मेसी र नेयमारसँगै अभ्यासमा रहेका अरू खेलाडीहरूसँग पनि भेट्न पाइयो । बिरलै मात्र नेपालीहरूले यस्ता खेलाडी भेट्न पाउँछन तर मलाई पढाउन लगेको संस्थाकी म्याडम लगायत स्थानीय साथीहरूले यस्तो सौभाग्य जुराइदिनुभयो । मेसी र नेयमारसँगको भेट मेरो जीवनकै अविस्मरणीय क्षण हो । म ज्यादै खुसी छु र यसका लागि ईश्वरप्रति नमन गर्छु ।