साप्ताहिक संवाददाता
आश्विन ३, २०७२
चलचित्र अभिनेता तथा निर्माता सुनिल रावल यतिबेला सन्तोषको सास फेरिरहेका छन् । नफेरुन् पनि किन ? रावलले निर्माण गरेका तीनवटै चलचित्रले व्यवसायिक सफलता हासिल गरेका छन् ।
रावलले निर्माण गर्ने चलचित्रको रमाइलो संयोग कस्तो छ भने, तीनवटै चलचित्र बन्द तथा हड्तालकाबीच प्रदर्शन भए । पहिलो चलचित्र ‘शायद’ प्रदर्शन हुँदा देशमा पहिलो संविधान सभापछि संविधान जारी हुने सम्भावना बढेको थियो । त्यसको विरोधमा देशमा आन्दोलन चर्किएको थियो । दोस्रो चलचित्र ‘होस्टल’ प्रदर्शनताका पनि देशमा बन्द तथा हड्ताल जारी थियो । तेस्रो चलचित्र ‘होस्टल रिटन्र्स’ प्रदर्शन हुँदा त देशमा हिंसात्मक गतिविधिसहित बन्द र हड्ताल भैरहेको थियो । यस्तो विषम परिस्थितीकाबीच ‘होस्टल रिटन्र्स’ ले करिब साढे दुई करोड रुपैयाँको व्यवसाय गरिसकेको छ ।