राजेशपायल राई, गायक
सुगम संगीतमार्फत सांगीतिक यात्रा प्रारम्भ गरेका गायक राजेशपायल राईको परिचय उनको गायनले नै दिन्छ । दर्जनौं लोकप्रिय गीतका यी गायक आधुनिक गीतमा मात्र होइन, नेपाली चलचित्रको पाश्र्व गायनमा पनि उत्तिकै जमेका छन् । नेपाली भाषाका गीतबाहेक अन्य विभिन्न भाषाका गीतमा समेत आफ्नो क्षमता प्रदर्शन गरिसकेका राईलाई दर्शक तथा श्रोताहरू ‘राई इज किङ’ उपनामले समेत चिन्छन् । लोक, पप, आधुनिकसहित सबैजसो शैलीका गीत गाइसकेका गायक राई स्टेज प्रस्तुतिका लागि पनि उत्तिकै कहलिएका छन् । स्टेजमा प्रस्तुत भएर नाच्दै गीत गाउन सक्ने क्षमताका यी गायक सांगीतिक कार्यक्रमका क्रममा नेपालका प्राय: सबै जिल्ला त पुगिसकेका छन् नै, नेपालबाहिर नेपालीहरू बसोबास गर्ने प्राय: सबै देश पुगेर आफ्नो प्रस्तुति दिइसकेका छन् । पछिल्लो समय चलचित्रको पाश्र्व गायनमा अलि बढी नै सक्रिय राजेशपायल यसपटकको दसैं–तिहारका लागि युरोपको सांगीतिक यात्रा गर्ने तयारी गर्दैछन् । डेनमार्कबाट प्रारम्भ हुने आफ्नो आगामी सांगीतिक यात्रा युरोपका सबै देशसम्म पुग्ने जानकारी दिँदै गायक राजेशपायलले आफ्ना गोप्य कुरा साप्ताहिकमार्फत सार्वजनिक गरेका छन् ।
बिहान उठ्न ढिलो
प्राय: मानिसहरू बिहान ६ बजे नै उठेर मर्निङ वाकमा जान्छन् भन्ने सुन्छु । मैले बिहान ६ बज्दाको वातावरण र मौसम कस्तो हुन्छ भन्ने नदेखेको वर्षौं भयो । सांगीतिक व्यस्तताका कारण म राति प्राय: ढिला सुत्छु, त्यसैले बिहान उठ्दा कम्तीमा ११ बजिसकेको हुन्छ । बिहानको मिर्मिरेको रमणीयतालाई म जहिले पनि मिस गरिरहेको छु । जति नै प्रयास गरे पनि म बिहान सबेरै उठ्न सक्दिनँ ।
कार
मैले ट्याक्सीमा तिरेको भाडामात्र जोड्ने हो भने एउटा नयाँ गाडी किन्न पुग्थ्यो होला । साथीभाइ तथा परिवारका सदस्यहरूको सल्लाह, सुझाव र आग्रहमा मैले केही महिनाअघि मात्र कार किनेको छु । कार त किनेँ, तर मज्जाले चलाउन आउँदैन । यतिबेला म ड्राइभिङमा निपूर्ण हुने प्रयास गरिरहेको छु । कार किनेर घरमा थन्क्याउने कुरा भएन, त्यसैले भाइलाई अनुरोध गरेर यताउति गरिरहेको छु ।
भाइबर
मलाई अधिकांश साथीहरु भाइबरमा फेला पार्न सकिएन भनेर गुनासो गर्नु हुन्छ । वास्तवमा म एनटिसीको नम्बरबाट भाइबर नै चलाउँदिन । मैले भाइबर चलाउनका लागि विदेशको नम्बर लिएको छु । निकै कम साथीसंग मात्र मेरो उक्त नम्बर छ ।
पर्स र पैसा
म आफ्नो पर्समा प्राय: नगद बोक्दिन । बोक्नै पर्यो भने पनि दुई–चार सयभन्दा बढी बोक्दिन । पहिलो कुरा त मैले विगतमा धेरै वटा पर्स हराइसकेको छु । धेरै पैसा भएको पर्स हराउँदा दु:ख लाग्नु स्वभाविक हो । दोस्रो कुरा अहिले एटिएम कार्ड तथा क्रेडिट कार्डको सुविधा भएकाले पर्समा नगद बोकिरहनु पर्दैन ।
हङकङ
सांगीतिक कार्यक्रमका क्रममा म अहिलेसम्म २१ पटक हङकङ पुगेको छु । कुनै पनि नेपाली कलाकार कार्यक्रमका क्रममा कुनै एउटा देश यति धेरै पटक पुगेको सम्भवत: पहिलो हुनुपर्छ । नढाँटी भन्नुपर्दा म आफ्नो जन्मस्थल बुइपा, खोटाङभन्दा बढी हङकङ पुगेको छु । काठमाडौंको बसोबासका कारण मन लागेर पनि आफ्नो जन्मस्थल जान नभ्याउँदा दु:खचाहिं लागिरहन्छ ।
पासपोर्ट
स्वदेशसँगै विदेशमा बसोबास गर्ने नेपाली श्रोताले पनि मलाई उत्तिकै माया गर्नुहुन्छ । म छोटो–छोटो अवधिमा विदेश गैरहने कलाकारमध्ये एक हुँ । त्यसैले होला, मेरो पासपोर्टका पानाहरू छिट्टै भरिन्छन्, बाध्य भएर नयाँ पासपोर्ट बनाउनुपर्छ । मेरा ६ वटा पासपोर्टका पाना भरिएकाले म यतिबेला सातौं नम्बरको पासपोर्ट बोकेर यात्रा गरिरहेको छु ।
प्रेमिका र विवाह
सञ्चारमाध्यम तथा वास्तविक जीवनमा समेत मेरो विवाह र प्रेमका बारेमा चर्चा चलिरहन्छ । विवाह गर्ने उमेर ढल्किसकेको आवाज पनि सुनिरहेको छु । वास्तवमा विवाह गर्न साइत नै जुर्नुपर्छ भन्ने कुरामा अब भने मलाई विश्वास लाग्न थालेको छ । साइत नजुरेकै कारण मेरो विवाह नभएको हो । विवाह नभए पनि प्रेमिका त होलिन् नि ? भन्ने जिज्ञासा पनि प्राय: उठिरहन्छ । पत्याउनुहोस्– नपत्याउनुहोस्, मैले अहिलेसम्म कसैसँग प्रेम सम्बन्ध गाँसेको छैन । म विशुद्ध मागी विवाह गर्ने पक्षमा छु ।
अरुण नदी
गायनबाहेक म पौडी खेल्न सिपालु छु । मुगा तथा घोडेटार गाविसको बीचबाट बग्ने अरुण नदी मैले पौडेरै पार गरेको छु । सांगीतिक कार्यक्रमका क्रममा गत वर्षको जेठमा त्यो ठाउँमा पुग्दा मैले अरुण नदी पौडेरै तर्ने अवसर पाएको थिएँ ।