नेपाल राष्ट्रको एकीकरणका क्रममा पृथ्वीनारायण शाहले अनेक किसिमका कुटनीतिको अवलम्बन गरेका थिए । यस्तो कूटनीतिमा जालझेलले पनि प्राथमिकता पाएको थियो । जालझेलको यो खेलमा पृथ्वीनारायण शाहका दाहिने हात थिए— काजी रामकृष्ण कुँवर ।
पृथ्वीनारायण शाहले काठमाडौं उपत्यका विजयका लागि भक्तपुरलाई मुख्य हतियारका रूपमा प्रयोग गर्ने रणनीति बनाएका थिए । यही क्रममा उनले भक्तपुरका युवराज वीरनरसिंह मल्लसँग मितेरी साइनो गाँसेका थिए । अन्तत: तिनै वीरनरसिंह मल्ललाई हतियार बनाएर पृथ्वीनारायण शाहले भक्तपुर विजयसँगै काठमाडौं उपत्यका विजय अभियान टुङ्ग्याएका थिए ।
भक्तपुरका युवराज वीरनरसिंह मल्ल राजा रणजित मल्लका एकमात्र वैधानिक छोरा थिए । राजा रणजित मल्लका रखौटीहरूका तर्फबाट अन्य ८ छोरा देवेन्द्रसिंह मल्ल, मनोरथसिंह मल्ल, धनसिंह मल्ल, उपेन्द्रसिंह मल्ल, अच्युतसिंह मल्ल, अवधुतसिंह मल्ल, लक्ष्मीनरसिंह मल्ल तथा जयनारायणसिंह मल्ल थिए । ती ८ भाइमध्ये छैटौं अवधुतसिंह मल्ल आफ्ना पिता रणजित मल्ल तथा युवराज वीरनरसिंह मल्लका विशेष कृपापात्र थिए भने आठौं जयनारायणसिंह मल्ल काजी रामकृष्ण कुँवरसँग विशेष नजिक थिए ।
भक्तपुरमा आउँदा पृथ्वीनारायण शाह र काजी रामकृष्ण कुँवर कहिल्यै परिचितजस्तो भएर आउँदैनथे । रामकृष्ण कुँवर भक्तपुर आउँदा जहिले पनि जयनारायणसिंह मल्लको वंशगोपालस्थित आवासमा बस्थे । उनैले जयनारायण र उनका दाजुहरूलाई भक्तपुरको राजगद्दीमा उनीहरूको पनि हक भएको कुरा बताएर उक्साउँथे । यता रामकृष्ण कुँवरको उक्साहट उता वीरनरसिंह मल्लको छुद्र व्यवहारका कारण ती ८ मध्ये ७ भाइ देवेन्द्रसिंह मल्लको नेतृत्वमा वीरनरसिंह मल्ललाई पन्छाउने बाटो खोज्न थाले । यसै क्रममा उनीहरूले वीरनरसिंह मल्लको हत्या गर्ने षड्यन्त्र रचे, जसमा रामकृष्ण कुँवरको बुद्धि प्रयोग गरिएको थियो ।
षड्यन्त्रअनुसार ती ७ भाइले वीरनरसिंह मल्ललाई हनुमन्ते खोलामा पौडी खेल्न आमन्त्रण गरे । भाइहरूको आमन्त्रण टार्न नसकेर वीरनरसिंह मल्ल पौडी खेल्न पुगे । पौडी खेल्न उनीहरूले हनुमन्ते खोलामा बालुवा पन्छाएर पोखरीजस्तो बनाएका थिए । पौडीका लागि भाइहरूको व्यवस्था देखेर वीरनरसिंह मल्ल दंग परे । भाइहरूमध्ये मनोरथ सिंहले जेठो भएका नाताले सबैभन्दा पहिले वीरनरसिंह मल्ललाई पोखरीमा हामफाल्न प्रेरित गरे । त्यसपछि वीरनरसिंह मल्लले पोखरीमा हामफाले । हामफालेलगत्तै पोखरीको सतहमा वीरनरसिंह मल्लको साटो रगत देखा पर्यो । उक्त घटनापछि अवधुतसिंह मल्लले यो घटनाको खबर दरबार पुर्याए । दरबारबाट अनर्थको आशंकासहित राजा रणजित मल्ल घटनास्थलमा आइपुगे । त्यहाँ जमाइएको पानीलाई निकास दिएर हेर्दा नदीको पीँधमा धारिला चुपीहरू ठाडो पारेर राखिएको र ती चुपीमध्ये एउटा वीरनरसिंह मल्लको छातीमा र अर्को पेटमा उनिएको अवस्थामा थियो । त्यसबेलासम्म वीरनरसिंह मल्ल मरिसकेका थिए ।