साप्ताहिक संवाददाता
मिस्टर हङकङ नेपाल शारीरिक सुगठन प्रतियोगिताको उपाधि विकास थापाले जितेका छन् । आइतबार साँझ सम्पन्न प्रतिस्पर्धामा २५ वर्षीय थापाले बेस्ट पोजिङसहित शीर्ष उपाधि जितेका हुन् । ‘प्रतियोगिता जित्नकै लागि खेलिन्छ आत्मविश्वास पनि थियो, सोचेजस्तै भयो,’ १० वर्षदेखि हङकङमा बसोबास गर्दै आएका थापाले भने, ‘खेललाई निरन्तरता दिनेछु ।’ याउ मा तेइस्थित हेनरी जि लियोङ हलमा भएको प्रतियोगितामा विजय घोताने गुरुङ फष्ट रनर्सअप तथा संजीव राईले सेकेन्ड रनर्सअपको उपाधि प्राप्त गरे । हङकङ नेपाल बडी बिल्डिङ एसोसिएसनद्वारा आयोजित प्रतियोगिताको यो १२ औं संस्करण थियो । प्रतियोगिता नोभोइस र खुला तौल गरी दुई समूहमा विभाजित थियो । यी दुई समूहका शिर्ष तीन विजेता मिस्टर हङकङ नेपालका लागि भिडेका हुन् । नोभोइसतर्फ सनम गुरु विजेता भए भने फस्ट रनर्स अप र सेकेन्ड रनर्सअप क्रमश: चन्द्र कुमार सुनुवार र रित विक्रम मल्ल आए ।
युवतीहरूबीचको प्रतिस्पर्धा ‘मिस फिटनेस हङकङ नेपाल’ समेत उक्त प्रतियोगिताको आकर्षण बन्यो । १० प्रतियोगी सहभागी प्रतिस्पर्धामा सेलिना गुरुङले मिस फिटनेसको उपाधि जितिन् भने फष्ट रनर अप सुमिरा गुरुङ तथा सेकेन्ड रनर्सअप रेविका राई भए । वेष्ट पर्फमरको टाइटल भने रोशनी श्रेष्ठले जितिन् ।
तस्विरहरु: निर्मल श्रेष्ठ