म ३३ वर्षीया विवाहित महिला हुँ । मेरो प्रेम विवाह भएको ६ वर्ष भैसकेको छ तर अहिलेसम्म सन्तान भएको छैन । विवाह गरेदेखि नै यौनसम्पर्कमा रुचि नहुने, योनि सुख्खा हुने, यौनसम्पर्कको बेला निकै दुख्ने समस्या रहँदै आएको छ । म श्रीमान्माई माया गर्छु तर उहाँसँगको यौनसम्पर्क निकै कठिन महसुस हुन्छ । यसले मेरो पारिवारिक अवस्था दिन प्रतिदिन बिग्रँदै गएको छ । उहाँ हाल नेपालबाहिर हुनुहुन्छ र म पनि चाँडै उहाँ भएकै ठाउँमा जाँदैछु । मेरा श्रीमान् मेरो समस्या अझै समाधान भएको छैन भने नआए पनि हुन्छ भन्नुहुन्छ । केही विशेषज्ञसँग परामर्श गर्दा यो नितान्त मनोवैज्ञानिक समस्या भनेका छन् । अब म के गरुँ ?
मी.
सामान्यत: ४५ वर्षभन्दा मुनिका महिलामा तरल पदार्थको प्रवाह कम हुँदैन, तर ४५ वर्षभन्दा माथिका महिलाहरूमा महिनावारी रोकिने भएकाले तरल पदार्थको प्रवाहमा कमी आउँछ । यसलाई उमेरजन्य कारण भन्नुपर्ने हुन्छ । ४५ वर्षको उमेरमा पनि युवा अवस्थाको जस्तो यौन इच्छा हुन्छ र तरल पदार्थको प्रवाह पनि पहिलेकै जस्तो हुनसक्छ भन्ने कल्पना गर्नु ठीक होइन । सम्पर्कको बेला यौन चाहना नहुँदा धेरै महिलाले योनि सुख्खा हुने र दुख्ने समस्याबाट गुज्रिनुपर्ने हुन्छ । यो समस्या कुनै पनि उमेरमा हुन्छ तर विशेष गरी महिनावारी रोकिने समय वा रोकिएपछि बढी हुन्छ । तपाईंको उमेर कम नै भएकाले तपाईंको समस्याको कारण तनाव हो कि जस्तो बुझिन्छ । यौन सम्बन्धका क्रममा जब योनिबाट चाहिने मात्रामा योनि रस निस्कँदैन तब योनि सुख्खा हुन्छ र यौनसम्पर्क गर्दा पीडा महसुस हुन्छ । सुख्खा हुँदा योनिमा संक्रमणको लक्षण देखा पर्न सक्छ । महिनावारी रोकिने क्रममा हार्मोनमा आएको परिवर्तनका कारणले पनि योनि रसको उत्पादनमा ह्रास आउँछ । सन्तान जन्माइसकेपछि र स्तनपान गराउँदा अक्सिटक्सिन र प्रोलाक्टिनको बढी उत्पादनले पनि योनि सुख्खा हुन्छ । यदि कुनै त्यस्तै औषधी सेवन गरिएको छ भने पनि योनि सुख्खा हुन्छ । यदि यस्तो कुनै पनि कारण होइन भने दिक्दारीपन, चिन्ता, सम्बन्धमा तनाव, झगडा जस्ता कारण जिम्मेवार हुन सक्छन् । यौन सम्बन्धका बेला पर्याप्त मात्रामा पाक्क्रीडाको कमीले पनि योनि सुख्खा हुने र पीडा हुने समस्या देखा पर्छ । योनि सुख्खा हुँदा चिलाउने, अप्ठ्यारो महसुस हुने, पोल्ने, हल्का रक्तश्राव हुने, छिन छिनमा पिसाब हुने हुन्छ । यौन सम्बन्धको राम्रो विस्तार नहुँदा सन्तान प्राप्तिमा पनि ढिलाइ हुन्छ ।
तपाईंले राख्नुभएको जिज्ञासाबाट के बुझिन्छ भने यो समस्या श्रीमान्भन्दा पनि तपाईंसँग सम्बन्धित समस्या हो । यौनचाहना बढी मात्रामा हुँदा योनिबाट तरल पदार्थ बढी प्रवाह हुने तर यौन इच्छा नभएका बखत त्यस्तो पदार्थ कम प्रवाह हुँदा यौन सन्तुष्टिमै आकाश जमिनको फरक महसुस भैरहेको हुन्छ । इच्छा नभएको वा तीव्र इच्छा भएको अवस्थामा पनि तरल पदार्थको प्रवाह कम भएर योनि सुख्खा हुनु स्वाभाविक हो । योनि सुख्खा भएका बखत पीडा हुनु स्वभाविक हो । यो उमेरमा वा बैंसमा हुने सामान्य प्रक्रिया हो । उमेर ढल्कँदै गएपछिको अवस्था अर्कै हुन्छ ।
योनिमा देखिएको सुख्खापनका कारण पनि यौन असन्तुष्टि सिर्जना हुनसक्छ र त्यसको मनोवैज्ञानिक असर परिरहेको हुन्छ । सन् २००९ मा ४१ वर्षदेखि ४८ वर्ष उमेरका ६ सय ७७ जना महिलामा गरिएको यससम्बन्धी अध्ययनले ६८ प्रतिशत महिला यौन क्रियाकलापमा संलग्न रहेको पाइएको थियो । ३२ प्रतिशतमध्येका ७० प्रतिशतले उपयुक्त यौनसाथी नपाएकाले सन्तुष्टि नमिलेको बताएका थिए । त्यसैगरी ४ प्रतिशतले योनिको सुख्खापनका कारण हुने पीडाले यौन गतिविधिमा प्रतिकूल प्रभाव पारेको धारणा व्यक्त गरेका थिए । तपाईंको उमेर त्यो अवस्थामा पुगेको छैन त्यसैले श्रीमान् वा तपाईंलाई अप्ठेरो भएको हुनसक्छ । चिल्लोका लागि प्राकृतिक तेल वा विभिन्न जेल प्रयोग गर्न सक्नुहुन्छ ।
त्यसैगरी तपाईले आफू यौनका लागि इच्छुक भए–नभएको कुरा श्रीमान्सँग खुलस्त राख्न थाल्नुहोस् । किनभने यौनमा सञ्चारको ठूलो भूमिका हुन्छ । यौन इच्छा भए त्यहीअनुरूपको आचरण गर्नुहोस् र अनिच्छा छ भने पनि श्रीमान्सँग हँसिलो भएर भन्न सक्नुहुन्छ । तपाईंको श्रीमान् वास्तवमै तपाईंलाई माया गर्नुहुन्छ भने जबर्जस्ती गर्ने चाहना राख्नुहुन्न । तपाईंले यो समस्याका बारेमा श्रीमान्सँग छलफल गर्नु आवश्यक छ ।