आश्विन ६, २०७२
५० को दशकका नायक तथा कमेडियन भगवान् दादाको जीवनमा आधारित मराठी चलचित्र ‘एक अलबेला’ निर्माणाधीन छ । पछिल्लो चर्चाअनुसार यो चलचित्रमा विद्या बालनले समेत अभिनय गर्नेछिन् । उनी चलचित्रमा ‘गीता बाली’ को भूमिकामा देखिनेछिन् । यो महत्वाकांक्षी चलचित्रको उक्त चरित्रलाई पनि उत्तिकै महत्त्वपूर्ण बताइएको छ ।
यसभन्दा अघि विद्यालाई बंगाली अभिनेत्री सुचित्रा सेनदेखि गायिका सुब्बा लक्ष्मीसम्मको बायोपिक्समा काम गर्न प्रस्ताव आएका थिए, तर उनले ती प्रस्ताव स्वीकार गरिनन् । द डर्टी पिक्चरमा भने उनले सिल्क स्मीताको जीवनमा आधारित भूमिकामा अभिनय गरिन् ।
बायोपिक्समा आधारित धेरै चलचित्र अस्वीकार गरेकी विद्याले एक अलबेलामा चाहिँ काम गर्न कसरी मन्जुरी दिइन्, अझ भनौं मराठी चलचित्रमा काम गर्न कसरी मानिन् भन्ने कुरा चलचित्र प्रदर्शन भएपछि नै थाहा हुनेछ ।