साप्ताहिक संवाददाता
राजेश हमाल मोबाइल बोक्छन् र ? भन्ने प्रश्न केही अघिसम्म थियो । हमालसँग सम्पर्क गर्न चाहने निर्माता, निर्देशक वा सञ्चारकर्मीहरूले उनका सहयोगी रोशन हमालको मोबाइलमा कल गर्थे । अहिले पनि राजेश हमालसँग मोबाइलमा सीधै कुरा गर्ने चलचित्रकर्मी वा पत्रकार निकै कम छन् । राजेश हमाल मोबाइल बोक्दै नबोक्ने होइनन् । विवाह गर्नुअघि उनको मोबाइल उनका सहयोगी रोशन हमालले नै बोक्थे र विशेष व्यक्तिहरूको फोन आए मात्र नायक हमाललाई मोबाइल दिन्थे । विवाहपछि राजेश हमाल सामाजिक सञ्जालमा पनि विशेष गरी फेसबुकमा निकै एक्टिभ छन् । हमाल मोबाइलबाट श्रीमती र आफ्नो घुमघाम तथा अन्य गतिविधिहरूका तस्बिर खिचेर पोस्ट गरिरहन्छन् । उनी हाल आइफोन सिक्सप्लस बोक्छन्, हमालसँग नेपाल टेलिकमको पोस्टपेड नम्बर पनि छ, तर उनको उक्त ‘हट नम्बर’ धेरैसँग छैन । हमालको आइफोन दोहोरो कुरा गर्नेभन्दा फेसबुक प्रयोग गर्नमै सीमित भएको पाइन्छ ।
संगीतकार तथा गायक राजन इशान पनि आइफोनकै पारखी हुन् । नोकियाको सामान्य फोन चलाइरहेका इशानले त्यसपछि एप्पलको आइफोन बोक्न थाले । हालै अमेरिकाबाट फर्कंदा आइफोनको पछिल्लो भर्सन आइफोन सिक्स लिएर आएका राजन आफ्नो च्वाइस आइफोनभन्दा अरू नभएको बताउँछन् ।
नायिका प्रियंका कार्की भने सामसुङका सेटको पारखी हुन् । उनले आफ्नो पहिलो सेट नै सामसुङ भएको बताउँदै भनिन्–‘अहिले म सामसुङ् ग्यालेक्सी एस सिक्स एज बोकिरहेकी छु । म सामसुङका नयाँ भर्सन आउने बित्तिकै लिइहाल्छु । कहिलेकाहीं ह्याङ् हुने समस्या भए पनि यसको क्यामेराले निकै राम्रो काम गर्छ ।’ फेसबुक, इन्टाग्राम, ट्विटर आदिमा सक्रिय नायिका कार्की आफ्ना कतिपय तस्बिर यही सेटबाट खिचेर पोस्ट गरिरहन्छिन् । ‘म तस्बिर तथा स्ट्याटसहरू अपडेट गरिरहन्छु । एकैछिन फुर्सद भयो कि मेरा औंला सामसुङ्का सेटमा सलबलाउन थालिहाल्छन् ।’ – प्रियंकाले भनिन् ।
नायिका नम्रता श्रेष्ठले मोबाइलको प्रसंग आउनेबित्तिकै आफ्नो पहिलो मोबाइल सेट सम्झिइन् । ‘मेरो पहिलो मोबाइल सेट नोकियाको थियो । हम्मर जस्तो ठूलो त्यो सेट बोक्दाको बेग्लै सान बेग्लै थियो । सामान्यत: त्यतिबेला धेरै कमको हातमा मोबाइल थियो, आफूले पनि मोबाइल बोक्दा ठूलै मान्छे भएझैं अनुभव हुन्थ्यो । त्यतिबेला सबैलाई त्यस्तै लाग्थ्यो । पहिले मोबाइल अति आवश्यक साधन भन्दा पनि फेसन सरह थियो । अहिले पनि केही युवायुवतीहरूका लागि स्मार्टफोन बोक्नु आवश्यकताभन्दा बढी फेसन भएको छ ।’
नम्रता अहिले आइफोन फाइभ बोक्छिन् । आइफोन सिक्स तथा सिक्स प्लस आइसकेको कुरा उनलाई थाहा नभएको होइन, नम्रता भन्छिन्– ‘अहिले आइफोन फाइभले नै काम चलिरहेको छ, जब योभन्दा बढिको आवश्यकता महसुस हुन्छ, त्यतिबेला लिउँला ।’ नम्रता मोबाइल हराइरहने आफ्नो बानीका कारण आजित छिन् । मोबाइल प्रयोग गर्न थालेयता एक दर्जन जति मोबाइल सेट हराइसकेको उनको अनुभव छ ।
अभिनेता निर्मल शर्मा ‘गैंडा’ पनि आइफोनकै प्रयोगकर्ता हुन् । उनी अहिले आइफोन फोर एस बोक्छन् । यसअघि उनीसँग आइफोन फोर थियो । शर्मा आइफोनबाहेक अरू फोन नचलाउने कुरा गर्छन् । चलचित्र वितरक विक्रम पराजुली ग्याजेटका सोकिन हुन् र जानकार पनि । चलचित्र क्षेत्रमा उनलाई चिन्नेहरू सामसुङ र एप्पलका ग्याजेटका बारेमा उनीसंगै सल्लाह लिन्छन् । मोबाइल फेरिरहने शर्मा केही समयअघिसम्म सामसुङको नोट थ्री चलाउँथे, अहिले उनको मन आइफोन सिक्स प्लसमा छ ।
झन्डै डेढ सय म्युजिक भिडियोहरूमा अभिनय गरिसकेका मोडल पल शाह चलचित्र ‘नाइँ नभन्नु ल–४’को नायक भएका छन् । पललाई मोबाइल सेट फेरिरहन मन लाग्दैन । केही समयअघिसम्म नोकियाको सेटमै रमाइरहेका पल अहिले सामसुङको एस थ्रीमा भुलिरहेका छन् । सामसुङ्को सेटमा रमाइला एपहरू डाउनलोड गरेर त्यसमा समय बिताउन मन पराउने शाह डब्सम्यासमा पनि उत्तिकै रमाइरहेका भेटिन्छन् । कसैलाई कतै पर्खनुपर्यो भने उनी दुई–चारवटा ब्सम्यास बनाइहाल्छन् अथवा इन्टाग्राममा तस्बिरहरू अपलोड गरिसक्छन् । ‘समय बिताउन यो सेट सहज छ, तर धेरै एपहरू हाल्दा यो सेट ह्याङ हुने समस्या छ ।’ शाहले समस्या पनि सुनाए ।
हेयर स्टाइलिस्ट नील डेभिड कटुवालको मन पनि सामसुङका मोबाइलतर्फ ढल्किएको छ । ‘आइफोन पनि राम्रा छन्, तर ब्याट्री ब्याकअप राम्रो छैन ।’– आइफोन पनि चलाउने नीलले बताए । सामसुङ्को ग्यालेक्सी नोटबाट अहिले एस फाइभ चलाउन थालेका डेबिड आइफोन सिक्स र लेनोभाको सेट पनि प्रयोग गर्छन् । नील भन्छन्– ‘मसँग तीनवटा नम्बर छन्, तीनवटा नम्बरका लागि तीनवटै सेट लिएको छु ।’
नायिका तथा मोडल वर्षा राउतले हालसालै सामसुङ ग्रान्डको सेट छाडेर आइफोन सिक्स प्रयोग गर्न थालेकी छिन् । आइफोन सिक्स प्रयोग गर्न थालेयता उनी यसका फङ्सनहरूबाट सन्तुष्ट भएको दाबी गर्छिन् । विशेषगरी सेल्फी तथा फोटो खिचिरहनुपर्ने स्वभावकी वर्षालाई यसले निकै सुविधा दिएको छ । अर्की वर्षा अर्थात् नायिका वर्षा शिवाकोटी भने भर्खरै भित्रिएको सामसुङ ए एड उपयोग गरिरहेकी छिन् । सामसुङकै एसफोर चलाइरहेकी शिवाकोटीले अहिलेसम्म सामुसुङकै सेट मन परिरहेको बताइन् ।
द्वन्द्व निर्देशक योगेन्द्र श्रेष्ठ स्टाइलिस स्मार्टफोन बोक्न डराउँछन् । चलचित्रमा द्वन्द्व निर्देशन गर्दा वा प्रशिक्षार्थीहरूलाई द्वन्द्व कक्षा दिँदा खल्तीमा भएको फोन खसेर फुटेको उनको अनुभव छ । ‘मोबाइल नबोक्दा कलहरू आइरहने, बोक्दा खसेर फुट्ने । जे गरे पनि मोबाइल जोगाउन हामीलाई चाँही गाह्रो हुँदो रहेछ । अहिले आइफोन फोर प्रयोग गरिरहेका श्रेष्ठले नोकिया र सामसुङ्का सेट पनि चलाइसके । ‘रहर त आइफोन सिक्स प्लस बोक्ने छ, तर काममा ध्यान भएको बेला फुट्यो भने सत्यानाश हुन्छ । त्यसैले रहर हुँदा पनि किन्न सकिरहेको छैन ।’ श्रेष्ठले आफ्नो दुखेसो सुनाए ।
चर्चित संगीतकार तथा चलचित्र ‘भाग सानी भाग’को निर्माण गरी निर्माता समेत भएका चेतन सापकोटाको मन आइफोनले जितेको छ । ‘भाइरस पनि नलाग्ने र हराए वा चोरी भए पनि यसमा भएको एपका कारण भेट्टाउन पनि सकिने रहेछ । यस्ता दर्जनौं विशेषताका कारण मेरो त आइफोनसँगै लभ परेको छ ।’ –संगीतकार सापकोटाले ठट्टेउली पारामा आफ्नो कुरा सुनाए । उनको चलचित्र ‘भाग सानी भाग’का नायक सविन श्रेष्ठलाई पनि आइफोनले मोहनी लगाएको छ । आइफोनका सबै संस्करण चलाइसकेका सबिन अहिले आइफोन सिक्स स्लिम बोक्छन् । उनलाई आइफोन चलाउँदा सजिलो लाग्छ, तर फाइलहरू ट्रान्सफर गर्ने प्रोसेस अप्ठेरो भएकाले यसको कमजोरी त्यही मात्र भएको बताउन पनि चुक्दैनन् ।
गायिका आगन्तुक खरेल पहिले सामसुङ चलाए पनि केही समययता आइफोन बोक्ने गरेको बताउँछिन् । ‘मलाई आइफोनको फिचर मन परेको छ ।’–उनले कारण बताइन् । गायक हिमाल सागर चाहिँ फोन फेरिरहन्छन् । हाल युरोप, अमेरिकातिर सञ्चालित सांगीतिक कार्यक्रमहरूमा व्यस्त गायक हिमाल सागरको पहिलो मोबाइल सेट मोटोरोलाको थियो । संघर्षका बेला मोटोरोलाको सेटले साथ दिएको उनी सम्झन्छन् । हिमालको दोस्रो फोन नोकियाको थियो । एकपछि अर्को नोकियाको सेट बोकेपछि उनले नोकियाकै सि–फाइभ चलाए । अहिले आइफोन सिक्स प्लस चलाउन थालेपनि यसअघि उनी सामसुङ्को एस फोर चलाउँथे । उनलाई आइफोन सिक्स प्लसको व्याट्री ब्याकअप मन परेको छ । ‘पातलो सेट भएकाले जोगाउन गाह्रो भए पनि स्टाइलिस देखिन्छ, त्यसैले यो सेट बोक्दा स्ट्यान्डर्ड नै बढेको हो कि जस्तो अनुभूति हुन्छ ।’–हिमालले आफ्नो अनुभव सुनाए । फोन निकै ठूलो भएकाले समातेर कल गर्दा खस्छ कि भन्ने डर लागिरहने समस्या आफुलाई परेको उनले बताए । सफल तीन चलचित्र ‘सायद’, ‘होस्टल’ तथा ‘होस्टल रिटन्र्स’का निर्माता सुनिल रावल एप्पलले आइफोन ल्याएदेखि आइफोन नै प्रयोग गरिरहेको बताउँदै भन्छन् –‘मन नपरेको कुनै फिचर भए मन आइफोनबाट अरुतिर सरिसक्थ्यो होला नि ।’
नायिका ऋचा शर्मा सामसुङ एसफोर चलाउँथिन । अहिले उनीसँग एस फाइभ छ । सामसुङको क्यामेरा क्वालिटी उत्कृष्ट लागे पनि ब्याट्रीले साथ नदिने उनको गुनासो छ । नायिका सुरबिना कार्कीसँग पनि सामसुङकै सेट छ । सामसुङ ए–सेभेन चलाउने सुरबिना यसअघि सामसुङ ग्यालेक्सी चलाउँथिन् । सामाजिक सञ्जालमा सेल्फी फोटोहरू अपलोड गरिरहने सुरबिनालाई ए–सेभेन सेल्फी खिच्नकै लागि डिजाइन गरिएको हो जस्तो लाग्छ । नायिका अशिष्मा नकर्मीलाई पनि सामसुङकै सेट मन परेको छ । नकर्मी भन्छिन्– ‘मसँग अहिले सामसुङको ग्रान्ड–टु छ । यसभन्दा पहिले आइफोन फोर एस थियो । गीतहरू सार्न, तस्बिर सेयर गर्न सामसुङको सेट सजिलो हँुदोरहेछ । डुअल सिम भएकाले मेरो दुईवटा नम्बर यसमै छ । कान्तिपुर टेलिभिजनकी समाचारवाचिका मृदुला खनाल यति बेला सोनी एक्सपेरिया चलाइरहेकी छिन् । यसअघि उनले सामसुङ तथा आइफोनका सेटहरू प्रयोग गरेकी थिइन् । उनी सोनीको सेटबाट खिचिने तस्बिरहरूप्रति सन्तुष्ट छिन् ।