टेबलटेनिस खेलाडी राजेन्द्र कपालीले दक्षिण एसियाली खेलकुद (साग) मा ६ कांस्यसहित अन्तर्राष्ट्रिय प्रतियोगितामा ११ वटा पदक जितेका छन् । ४५ वर्षीय कपालीले पछिल्लोपल्ट भूकम्पपीडित खेलाडीलाई आर्थिक सहयोग जुटाउन आयोजित राष्ट्रिय खुला टेबलटेनिसको उपाधि पनि जिते ।
भेट्रानको ४० वर्षमाथि खेल्नुपर्ने उमेरमा खुला स्पर्धामै सहभागी हुँदै हुनुहुन्छ नि ?
४५ वर्षको भएँ, तर अझै पनि म खुला स्पर्धाकै लागि राम्रो खेलाडी हुँ जस्तो लाग्छ । नतिजाले पनि त्यस्तै देखाउँछ । २०६३ सालयता पहिलो उपाधि जिते पनि यसबीच म निरन्तर फाइनल र सेमिफाइनल पुगिरहेको थिएँ ।
आफूभन्दा आधा उमेरका स्टार खेलाडीविरुद्ध कसरी जित सम्भव भयो ?
अन्तर्राष्ट्रिय प्रतियोगितामा लगातार पाएको अवसर र केही वर्षयताको उपलब्धिका आधारमा युवा खेलाडीहरूले मलाई सजिलै हराउनुपर्ने हो, तर उनीहरूको अभ्यासको समय नै थोरै छ । त्यसैले मलाई सफलता हात लागेको हो ।
उत्कृष्ट खेलाडी बन्न कति अभ्यास गर्नुपर्छ ?
दक्षिण एसियाका उत्कृष्ट खेलाडीले दैनिक ८ घन्टा ट्रेनिङ गर्छन् । अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्न पनि कम्तीमा दैनिक ६ घन्टाको ट्रेनिङ आवश्यक हुन्छ ।
सन् २००६ मा सम्पन्न कोलम्बो सागपछि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नुभएको छैन, किन ?
म हुनेखाने परिवारको सदस्य होइन । घरमा कमाउने म एक्लो हुँ । बिहान ७ बजेदेखि अपराह्न ४ बजेसम्म स्कुल र कलेजमा टेबलटेनिस सिकाउनुपर्छ । यो काम गरिनँ भने घर खर्च कसरी चल्छ ?
फिटनेसका लागि २ वर्षयता २७ केजी तौल घटाउनुभयो, शाकाहारी बन्नुभयो । संन्यास लिने समय आएको छैन ?
मंसिरमा पूर्वञ्चलमा सातौं राष्ट्रिय खेलकुद हँुदैछ । त्यसमा स्वर्णपदक जित्दै ३० वर्षे करियर टुंग्याउन चाहन्छु ।