नेपाली खेलकुदकै पहिलो पुस्ताका ठूला स्टार हुन्– दलबहादुर रानामगर । उनी नेपाली बक्सिङले पाएको अहिलेसम्मकै सबैभन्दा ठूला स्टार हुन् । दलबहादुर माथिल्लो दर्जाका खेलाडी थिए र उनी विश्वस्तरमै चुनौती पेस गर्न सक्ने अहिलेसम्मकै एक्लो नेपाली बक्सर मानिन्छन् ।
पहिलो दक्षिण एसियाली महासंघीय खेलकुदमा नेपालका लागि दोस्रो स्वर्ण पदक भित्र्याउने खेलाडी यिनै दलबहादुर हुन् । उक्त प्रतियोगितामा नेपालले स्वर्णका लागि अपेक्षा गरेका एकाध खेलाडीमा रानामगर पनि एक थिए र उनले नेपाललाई निराश पनि पारेनन् ।
उक्त प्रतियोगितामा पुष्करध्वज शाहीले नेपाललाई स्वर्ण पदकको पहिलो सफलता दिलाएपछि दलबहादुरले लाइटवेट समूहमा पहिलो स्थान हात पारे । दलबहादुरले ६० किलोग्राम तौल समूहको फाइनलमा भारतीय प्रतिद्वन्द्वी एस जयरामलाई हराएका थिए । बक्सिङमा कुल ११ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो र त्यसमध्ये दुई नेपालको नाममा रह्यो भने भारतले पाँच तथा पाकिस्तानले चार स्वर्ण जित्यो ।