साप्ताहिक संवाददाता
फुटबलरका रूपमा सफल करियर बनाइसकेपछि नेपाली भूमिमा फुटबलको विकास गर्ने लक्ष्य र सपना बुनेका छन् विमल घर्ती मगरले । कम्तीमा नवलपरासीमा अत्याधुनिक फुटबल एकेडेमी स्थापना गर्ने उनको धोको छ । किशोरवस्थामा फुटबल कल्चरको विकास गर्न एकेडेमीको भूमिका महत्वपूर्ण हुने उनको बुझाइ छ । म पनि एकेडेमीकै उत्पादन हुँ, विमलले भने– ‘त्यसैले नेपालको फुटबलस्तर उकास्न देशका विभिन्न स्थानमा एकेडेमी सञ्चालनमा ल्याउनुपर्छ ।’
घरको साधारण खाना रुचाउने विमल खेल जीवनलाई हानि गर्ने कुनै कुरा सेवन गर्दैनन् । अध्ययनमा औसत विद्यार्थी भए पनि उनी पुस्तक अध्ययनमा पनि रुचि राख्छन् । कमेडी तथा जोक्सका पुस्तक उनलाई धेरै मन पर्छन् । युरोपमा रहदा ब्रेड र पास्ता खाने विमल मादक पदार्थ, धूमपान सेवनजस्ता कुराबाट टाढै छन् । मुलुकभित्रको मनपर्ने स्थान पोखरा बताउने विमल विदेशमा इंग्ल्यान्ड मनपर्ने स्थान भएको बताउँछन् । उनलाई मनपर्ने नेपाली फुटबलर विजय गुरुङ हुन् । विजयको खेल कौशलबाट सधैं प्रभावित रहेको बताउने विमल लिग फुटबलमा विजयले खेल्ने कुनै पनि खेल छुटाउँदैनथे ।
विदेशी फुटबलरमा उनको पहिलो रोजाइ लियोनल मेस्सी हुन् । मेस्सीको फिनिसिङ उनलाई उत्कृष्ट लाग्छ । ‘मेस्सी बराबरको खेलाडी बन्न नसके पनि’ विमलले भने– ‘एसियाका उत्कृष्ट स्ट्राइकरमध्ये एक बन्ने चाहना छ ।’ मेस्सी मनपर्ने भएपछि मनपर्ने फुटबल क्लब बार्सिलोना नै हुने भयो । त्यस्तै मनपर्ने विदेशी भूमि इंग्ल्यान्ड भएकाले त्यहाँको चर्चित क्लब म्यानचेस्टर युनाइटेड पनि उनलाई मन पर्छ ।
ख्यातिप्राप्त फुटबलरमध्ये एभर्टनका लुकाकुलाई विमलले प्रत्यक्ष भेटेका छन् । बेल्जियमका राष्ट्रिय खेलाडी लुकाकु पनि हाल विमलले तालिम गरिरहेको एन्डरलेच क्लबकै उत्पादन भएकाले उनले भेटघाटको अवसर पाएका हुन् । नेपालका अन्डरनाइन्टिन प्रशिक्षक बालगोपाल महर्जन पनि उनलाई धेरै मनपर्ने व्यक्तित्व हुन् । बालगोपालबाट आफूले धेरै कुरा सिकेको उनले बताए ।
हरियो रंग मन पराउने विमल क्याजुअल वेयरमा आफूलाई फिट पाउँछन् । औपचारिक समारोहबाहेक सर्ट, पाइन्ट, हाफ पाइन्ट र टिसर्टमा हिँड्न सहज हुने उनको अनुभव छ । हल्का किसिमका सुज उनको प्राथमिकतामा पर्छन् । रोमान्टिक र कमेडी चलचित्र हेर्न रुचाउने विमल राम्रा नेपाली चलचित्रले पनि उत्तिकै दर्शक पाउने बताउँछन् ।
फुटबलपछि उनलाई मनपर्ने खेल क्रिकेट हो । सानो छँदा क्रिकेटमा रुचि राख्ने र खेल्ने विमल फुटबलमा सक्रिय भएपछि क्रिकेट खेल्न छोडेको बताउँछन् । क्रिकेट म्याच भरसक नछुटाउने विमललाई पारस खड्काको ब्याटिङ मन पर्छ । फुटबलर भएका कारण व्यवसायिक फुटवलको जननी इंग्ल्यान्डमा गएर खेल्ने उनको धोको छ ।
इंग्ल्यान्डमै खेल्न नपाए पनि त्यहाँको कुनै क्लबसँग मैत्रीपूर्ण खेल खेल्न पाए पनि मेरो इच्छा पुरा हुन्छ, विमल भन्छन् । सामाजिक सेवाको क्षेत्रमा भविष्यमा एसओएस फाउन्डेसनलाई सहयोग गर्ने लक्ष्य राखेका विमल शिक्षा खेलाडीका निम्ति आवश्यक भएको बुझ्दा–बुझ्दै पनि करियरका कारण समय दिन नसकेकोमा भने पछुतो महसुस गर्छन् । डिस्को टाइपका गाना मन पराउने विमल अनिल सिंहका गीत विशेष रुचाउँछन् । अनिलले गाएको इन्जिन गाडीमा आफूलाई अत्यधिक मनपर्ने गीत भएको उनले बताए ।