रोल्पा जिल्लास्थित जलजला पहाडको सुन्दरतामा रमाउन धेरै आन्तरिक पर्यटक पुग्छन् । २०५२ सालमा माओवादीले जनयुद्ध सुरु गर्दा जलजलालाई नै सेल्टर बनाएका थिए । ‘युद्ध पर्यटन’का हिसाबले थवाङपछि यो पहाडले पर्याप्त चर्चा पाएको छ । युद्धको उद्गम थलो वा युद्ध पर्यटनको नाममा जलजलामा पर्यटक भित्र्याउन सकिने स्थानीय व्यवसायीहरू बताउँछन् ।
समुद्री सतहबाट ३ हजार ७ सय ७२ मिटर अग्लो यो पहाड प्राकृतिक एवं धार्मिक दृष्टिले पनि पर्यटकीय सम्भावना बोकेको क्षेत्र हो । घाँसेमैदान र ओसिलो क्षेत्रका साथै जमिन हल्लिने भएकाले देशी–विदेशी पर्यटकका लागि जलजला अब्बल गन्तव्य बन्न सक्छ । रोल्पाको उत्तर–पूर्वमा पर्ने यो पहाडको केही खण्ड रुकुम र बाग्लुङमा समेत पर्छ ।
धार्मिक रूपले पनि यो पहाडको विशेष महत्त्व छ । यहाँको बजुरबराह मन्दिरमा जेठ, असार तथा भदौ पुर्णिमामा मेला लाग्ने सामाजिक अगुवा तारक केसी बताउँछन् । केसीका अनुसार ती मेलामा हजारौं भेडाको बलि दिइन्छ । बलिका लागि छिमेकी जिल्लाहरूका साथै भारतीय श्रद्धालुहरूसमेत त्यहाँ पुग्छन् । चैतदेखि भदौसम्म फुल्ने विभिन्न प्रजातिका फूलका कारण जलजला सुन्दर देखिन्छ । त्यतिबेला दर्जनौं प्रजातिका गुराँसले जलजला राताम्मे हुन्छ । जडीबुटी एवं वन्यजन्तुको अवलोकनका लागि पनि जलजला पहाड उत्कृष्ट मानिन्छ । यो पहाड थार, घोरल, झारल, मृग, बँदेलजस्ता वन्यजन्तुका साथै पाँचऔंले, सतुवा, निरमसी, पाखनवेद, चिराइतो आदि जडीबुटीले पनि सम्पन्न छ । यहाँ ३ हजार २ सय ६६ मिटर अग्लो ‘धरमपानी चुचुरो’ पुग्दा बेग्लै आनन्द प्राप्त गर्न सकिन्छ । चुचुरोबाट सूर्योदयको दृश्यसमेत अवलोकन गर्न सकिन्छ । रोल्पाको सदरमुकाम लिवाङ बजारबाट हिँडेर पुग्न सकिने यो स्थानमा होटलहरूको अभाव भएकाले बसोबासको व्यवस्था मिलाएर मात्र जानु उपयुक्त हुन्छ ।