कुनै व्यक्तिको ‘पर्सनालिटी’ पहिरनले मात्र होइन उसले प्रयोग गर्ने एसिसरिज तथा बोक्ने ब्यागले पनि झल्काउँछ । समयअनुकूल र आफूले लगाएको पहिरनअनुसार ब्यागको छनौट गर्न सक्नु पनि फेसन कन्सियस हुनु हो । विदेशी ब्रान्डका ब्याग तथा पर्सहरू बर्सेनि नेपाली बजारमा भित्रिन्छन् । पछिल्लो समय ‘चुजी’ र फेसन पछ्याउन माहिर नेपालीहरू नेपालमा उत्पादित ब्यागहरू पनि रोज्न थालेका छन् ।
नेपालीकै डिजाइनमा तयार भएका यस्ता ब्यागमा विदेशीहरूको पनि आँखा जान थालेको छ । बजारमा देखिएका अल्लो तथा ढाकाबाट बनेका आकर्षक ब्यागहरू फेसनेबल पुस्ताले मन पराउन थालेका छन् । गुणस्तरीय र सुहाउँदिला यस्ता ब्याग ग्रामीण भेगमा सञ्चालित घरेलु तथा साना उद्योगहरूले उत्पादन गर्छन् । यी ब्याग सिस्नोको रेशा तथा ह्याम्पबाट तयार पारिन्छन् ।
लेडिज ब्याग : नेपालमै उत्पादित सिस्नो तथा ढाकाका लेडिज ब्यागहरू १५ भन्दा बढी डिजाइनमा उपलब्ध छन् । सामान्यत: ५ सय रुपैयाँदेखि ४ हजार ५ सय रुपैयाँसम्मका ब्याग ग्राहकहरूको रोजाइमा पर्ने व्यवसायी सुनित पुर्जा बताउँछन् । लेडिज ब्यागमा ढाकाको परम्परागत डिजाइनमा बनेको, अल्लोको बट्टम डिजाइन, नेटल (सिस्नो) नेटिङ स्टाइल, अल्लो तथा लेदर मिसाइएको लेदर पाइपिङ ब्यागहरू बढी चल्तीमा छन् ।
जेन्स ब्याग : पुरुषहरूले प्रयोग गर्ने नेपालमा उत्पादित गुणस्तरीय तथा टिकाउ ब्याग पनि बजारमा उपलब्ध छन् । ढाका र अल्लोबाट बनेका यस्ता ब्याग धेरैको रोजाइमा पछनर्् । साइड तथा ढाडमा भिर्ने ब्याग बढी सुहाउँदिला छन् । लामो दूरीको यात्राका लागि धेरै सामान अटाउन सकिने कम्फर्टेवल ब्यागहरू पनि प्रसस्तै बिक्री भैरहेका छन् । कोठी हिमाल अल्लो कपडा उद्योग, प्यूठानकी चित्रकली बूढामगरका अनुसार पुरुषहरूका लागि वान साइड र ट्रेकिङका लागि प्रयोग हुने ठूलो साइजका ब्याग बढी लोकप्रिय छन् । त्यसबाहेक सोल्जर ब्याग पनि आकर्षक छन् । यस्ता ब्यागको मूल्य ५ सयदेखि ६ हजार रुपैयाँसम्म छ ।
पर्स : अल्लो तथा ढाकाबाट बनेका पर्सहरू पनि धेरै डिजाइनमा उपलब्ध छन् । नेटवाला मनी पर्स मात्र होइन एकसाइट भिर्ने पासपोर्ट तथा क्वाइन पर्स पनि चल्तीमा छन् । सामान्यत: यस्ता पर्सको मूल्य ३ सयदेखि १ हजार ५ सय रुपैयाँसम्म पर्छ ।