साप्ताहिक संवाददाता
राजबल्लभ कोइराला, नायक
अमेरिका पलायन हुनुभएको थियो, अहिले किन नेपाल फर्कनुभएको ?
पहिलो कुरा म पलायन भएको होइन । म नेपाल र अमेरिकामा छायांकन भएको अमेरिकी चलचित्र ‘हाइवे टु धम्पुस’को छायांकनका क्रममा अमेरिका गएको थिएँ । अहिले त्यही चलचित्रको नेपाल प्रिमियर तथा प्रदर्शनका लागि काठमाडौं आएको हुँ ।
अमेरिका नै बसेपछि पलायन भन्न पाइन्न त ?
पलायन होइन, नेपालबाट टाढा भएको चाहिँ पक्कै हो । मेरो भाइ अमेरिकी सेनामा छ भने बहिनी पनि उतै छिन् । चलचित्रमा काम गर्ने बहानामा म केही समय उनीहरूसँगै बसेँ । नेपाल आउने जाने त गरि नै रहेको छु ।
अमेरिकामा काम गर्दै हुनुहुन्छ हैन ?
मैले पढेको चलचित्र हो र जानेको पनि चलचित्र नै । त्यसैले चलचित्रप्रति मेरो लगाव सबैभन्दा धेरै छ । यद्यपि अहिले म बाल्टिमोरको एउटा कम्पनीमा आइटी सफ्टवेयर डेभलपरको काम गरिरहेको छु ।
यता यति धेरै नाम हुँदाहुँदै कलाकारहरू किन अमेरिकामा काम गरेर बस्न चाहेका होलान् ?
एक्लो जीवन हो भने नाम र त्योसँगै आउने केही दामले जीवन चल्छ, तर जब परिवारको जिम्मेबारी काँधमा आउँछ त्यतिबेला नामले केही गर्दैन, दाम नै चाहिन्छ त्यो पनि धेरै ।
त्यही भएर सबै कलाकार अमेरिका भासिएका हुन त ?
बहाना जे सुकै गरे पनि सबै आर्थिक सुरक्षाका लागि बिदेसिएका हुन् । यसपटक अमेरिकाले नाम कहलिएका विदेशी मुलुकका व्यक्तिहरूलाई ‘एक्ट्रा अर्डिनरी प्रिभिलेज’ दिँदै ग्रीनकार्ड उपलब्ध गराउने व्यवस्था मिलायो जसको फाइदा सबैले उठाएका छन् ।
प्रसंग बदलौं, विवाह भयो ?
छैन नि । घरबाट पनि दबाब आइरहेको छ । गर्न त गर्ने तर कोसँग ?
किन प्रेमिका छैनन् ?
कसैले मलाई मनपराए, तर मलाई उनी मन परिनन् । कसैलाई मैले मनपराएँ, उनले मलाई मनपराइनन् । फेरि ऊ सँगै जीवन बिताउने किसिमको प्रेममा पर्न चाहेका बेला वातावरण मेरो पक्षमा भएन ।
राजबल्लभ अहिलेसम्म प्रेममा परेका छैनन् भन्दा कसले पत्याउने ?
सर्टटर्म रिलेसन भयो होला, सिरियस रिलेसनमा परेको छैन ।
‘फिजिकल र बाइलोजिकल निडस’ भन्ने हुँदैन ?
म आध्यात्मिक प्रवृत्तिको छु । त्यसैले आफ्नो मनलाई नियन्त्रण गर्न सक्छु ।
त्यसो भए राजबल्लभ चोखो छन् भन्नु पर्यो, हैन त ?
फिजिकल रूपमा कोही चोखो वा जुठो हुँदैन । अप्राकृतिक कार्य होइन, प्राकृतिक रूपमा स्वीकार्य काम गर्दा कोही जुठो हुँदैन । त्यसैले म पनि चोखो नै छु र सधैं रहिरहन्छु ।