आश्विन १०, २०७२
उषा खड्गीले मिस नेपालको उपाधि जितेको ठ्याक्कै १५ वर्ष भयो । सौन्दर्यका दृष्टिकोणले अब्बल मानिएकी सन् २००० की मिस नेपाल हुन्— उषा खड्गी । मिस नेपालको उपाधि जितेपछि अभिनय तथा ग्ल्यामरको क्षेत्रमा सक्रिय हुनु नौलो कुरा होइन ।
कतिपय पूर्व मिस नेपालहरू नेपाली चलचित्रमा नायिकाका रूपमा समेत प्रस्तुत भए पनि उषा भने म्युजिक भिडियोमार्फत अभिनयको सौख पूरा गरिरहेकी छिन् । त्यसो त केही वर्षअघि उषाले केही म्युजिक भिडियोमा अभिनय नगरेकी होइनन्, तर यसै साता प्रिमियर गरिएको गीतकार किशोर घिमिरेको शब्द तथा गायक अनिल सिंहको स्वर र संगीतको ‘सम्झना...’ गीतको म्युजिक भिडियोमार्फत उनले आफूले अभिनयमा पुनरागमन गराएकी छिन् । गीतकार घिमिरेसँग अनस्क्रिन रोमान्स गरेकी उषाले उक्त भिडियोको प्रसारणसँगै थुप्रै निर्देशकबाट अभिनयको प्रस्ताव प्राप्त गरेको कुरा बताएकी छिन् ।