नेपाली चलचित्रमा पछिल्लो पुस्ताले रुचाएका कलाकारहरूमध्ये एक हुन्– नायक जीवन लुइँटेल । समयअनुुकूल पहिरनमा ठाँटिन रुचाउने लुइँटेल भन्छन्– मानिसको व्यक्तित्व झल्काउन पहिरनको अहम भूमिका हुन्छ । जीवन घरमा वा फुर्सदमा रहँदा स्पोर्टी लुक्समा रमाउँछन् । घरबाहिर निस्कँदा वा औपचारिक कार्यक्रमहरूमा उपस्थित हुनुपर्दा उनी कार्यक्रमको स्वरूप तथा अवस्थाअनुसार पहिरन लगाउँछन् ।
ग्ल्यामरको क्षेत्रमा मेकअपले विशेष अर्थ राख्ने भए पनि लुइँटेललाई सौन्दर्य प्रशाधनहरूले खासै आकर्षित गर्न सकेका छैनन् । छोटो केश भएका कारण लुइँटेलले आफ्नो रहरलाई विग (नक्कली केश) लगाएर पूरा गर्ने गरेका छन् । चलचित्रमा भने भूमिका अनुसारको हेयर स्टाइलमा देखिनुपर्ने भएकाले उनको हेयर स्टाइल पनि भूमिकाअनुसार नै परिवर्तन भैरहन्छ ।
एसेसरिजका सन्दर्भमा अधिकांश पुरुष घडी, चस्मा र जुत्ताका सौखिन हुन्छन् भन्ने मान्यता राख्ने लुइँटेल आफंै पनि यस्ता कुराप्रति निकै आकर्षित छन् । हातमा प्राय: राडो घडी लगाउने लुइँटेलसँग विभिन्न ब्रान्डका घडीको संकलन छ । पोलिस, एभिएटर तथा रेवन ब्रान्डका चस्मा लगाउने लुइँटेलसँग महँगो मानिने बक्सिङ डे तथा ओकली ब्रान्डको सनग्लास पनि छ । आध्यात्मिकतामा विश्वास राख्ने लुइँटेल प्राय: पहेंलो सफायर तथा रुवी जडित औंठी एवं मुगा, क्याचफाइ र गोमेदजडित लकेट लगाउँछन् । जुत्ताका विषयमा खासै ब्रान्ड कन्सियस नदेखिने लुइँटेल आरामदायक भए जस्तोसुकै जुत्ता पनि प्रयोग गर्छन् ।
उनीसँग भएका प्राय: सबै ग्याजेट एप्पल ब्रान्डका छन् । एप्पलको आइफोन फाइभ, ल्यापटप, आइप्याड तथा आइम्याक प्रयोग गरिरहने लुइँटेल आफूलाई एप्पलको दिवाना नै मान्छन् । मानिसको बाहिरी व्यक्तित्वलाई राम्रो विचार र सोचले मजबुत बनाउने भएकाले आफ्नो क्षमताअनुसार अहिलेको क्रेज तथा ट्रेन्डलाई ध्यानमा राखेर व्यक्तित्व निर्माण गर्नुपर्ने लुइँटेलको तर्क छ ।