म ४५ वर्षीय पुरुष हुँ । मैले ३९ वर्षको उमेरमा २७ वर्षकी युवतीसँग विवाह गरें । विवाह गरेको ४ वर्षपछि मैले थाहा पाएँ, जीवनमा जागिर, पैसा र प्रसिद्धि ठूलो कुरा होइन रहेछ । मुख्य कुरा त श्रीमतीसँग व्यवस्थित रूपमा जीवन चलाउनु नै रहेछ । अहिले उनको र मेरो रुचि खासै मिल्दैन । उनी सौन्दर्य, चलचित्र र घुमघाममा रुचि राख्छिन् भने म उनले चााडोभन्दा चााडो सरकारी जागिर खानुपर्छ भन्ने कुरामा जोड दिन्छु । उनी मलाई बूढो भैसक्नुभयो भनेर गाली गर्छिन् भने म तिम्रो केटाकेटीपन कहिल्यै गएन भनेर रिसाउँछु । उद्देश्य नमिल्दा हामीबीचको यौनसम्पर्क समेत कम हुँदै गएको छ । यसलाई कसरी व्यवस्थित गर्ने ?
अ.
अध्ययनहरूले देखाएअनुसार आदर्श सम्बन्धका लागि श्रीमान् र श्रीमतीबीचको उमेर फरक सामान्यत: तीन–चार वर्षको मात्र हुनुपर्छ । उस्तै–उस्तै उमेरका श्रीमान्–श्रीमती वा श्रीमान्भन्दा श्रीमती केही कम उमेरको भए पनि उनीहरूबीच खासै समस्या आउँदैन, यौनजीवन सन्तुष्टिले भरिएको हुन्छ । यसका साथै श्रीमती श्रीमान्भन्दा केही बढी उमेरको भए पनि खासै फरक पर्दैन, यदि उनीहरूले यो उमेरको विषयलाई ठूलो मुद्दा बनाउँदैनन् भने । श्रीमान् र श्रीमतीबीचको उमेर १२ वर्षभन्दा बढी फरक छ भने उनीहरूका चाहना, प्राथमिकता तथा शारीरिक गतिविधिहरूमा फरक पर्न सक्छ ।
४५ वर्षको श्रीमान् गल्फ खेल्न मन पराउने, टेनिस खेल्न मन पराउने खालका हुन्छन् भने ३० वर्षभन्दा कम उमेरकी महिलाको प्राथमिकता पौडी खेल्न वा रात्रि क्लब जाने, नाच्ने वा पार्टी कार्यक्रमहरूमा सहभागी हुने हुन्छ । २७ वर्षकी श्रीमतीलाई उनका उमेरजन्य गतिविधिहरूको बिन्दास अनुभव गर्न रोक्दा अप्राकृतिक निषेध हुन्छ, अर्थात् त्यो मूलको पानी थुन्न खोज्नु जस्तै हुन्छ । अर्को कुरा, ४५ वर्षको श्रीमान्लाई ३० वर्षमुनिको गतिविधिमा तानेर ल्याउँदा त्यही कुरा दोहोर्याउँदा हुने जस्तो दिक्दारी हुनु पनि स्वभाविक हो । किनभने उसका पनि उमेरजन्य प्राथमिकता र चाहना हुन्छन् । बढी उमेरको श्रीमान् कम उमेरकी श्रीमतीका लागि साथीभन्दा पनि अभिभावकजस्तो हुन्छ । यसैलाई सकारात्मक रूपमा लिने हो भने श्रीमानबाट अभिभावकले जस्तै बढी केयरिङ पनि प्राप्त गर्न सकिन्छ । यहाँ तपाईंहरूको उमेरको फरकबाट सिर्जित समस्यालाई हेर्दा श्रीमान्ले श्रीमतीको उमेरजन्य चञ्चले व्यवहारलाई सहज रूपमा बुझ्नु, त्यसलाई स्वीकार गर्नु र उनको चाहनाअनुरूप व्यवहार गर्नु समाधानको उपाय हुन सक्छ । तपार्इं लाखौं रुपैयाँको सोच बनाइरहनुभएको हुन सक्छ तर श्रीमतीलाई २ सय रुपैयाँको टिकट लिएर फिल्म देखाउन लादा त्योभन्दा बढी सन्तुष्टि प्राप्त हुन सक्छ भन्ने कुरा बिर्सिरहनुभएको हुनसक्छ । त्यसैगरी अर्को पक्षबाट हेर्दा श्रीमतीले पनि परिपक्व श्रीमान्बाट हुने अभिभावकत्व तथा अनुभवबाट प्राप्त हुन सक्ने लाभ लिनुपर्ने हुन्छ । श्रीमान्ले पनि श्रीमतीबाट जागिरको अपेक्षाभन्दा श्रीमतीको जागिरप्रतिको चाहना के छ र के–कस्तो जागिरमा उनको रुचि छ भन्ने कुरा बुझ्नुपर्छ अनि त्यसैअनुरुप काम गर्ने अवसर मिलाउनुपर्छ । यसले दुवै जनालाई नजिक ल्याउन मद्दत पुग्छ । त्यसपछि यौनजीवनका सम्बन्धमा छलफल गर्ने, श्रीमतीको यौनचाहना र सन्तुष्टिका बारेमा बुझ्ने, यौनमा रोमाञ्चकता भए नभएको बुझेर त्यसैअनुसार त्यसमा निखार ल्याउने काम भए उमेरको फरकबीच पनि सन्तुष्टि प्राप्तिका नयाँ ढोकाहरू खुल्न सक्छन् । दुवैको चाहना र आकांक्षालाई सम्मान गर्न सक्दा फेरि एउटा रमाइलो वातावरण निर्माण हुन सक्छ । दुवै जना अलग–अलग दिशातर्फ फर्कने हो भने त उपलब्ध सम्भावनाहरू पनि गुम्न सक्छन् । त्यसैले उमेरको ठूलो फरकबीचको सम्भावना खोज्नेतर्फ लाग्नु नै बेस हुन्छ ।
बूढो महसुस हुनु तपाईंको चिन्तन र सोचसँग सम्बन्धित बिषय हो । तपाईंको सोच, संस्कार, चिन्तन र कार्यशैली युवास्तरको छ भने तपाईंका हरेक गतिविधिको नतिजा पनि ऊर्जाशील हुन्छ । जसरी तपाईं कुनै जमानामा अध्ययनशील हुनुहुन्थ्यो र परीक्षामा राम्रो नतिजा ल्याउनुहुन्थ्यो, तपाईंले आफूलाई राम्रो क्षमतावान् हो भनेर दाबी गर्न आज पनि त्यही स्तरको मेहनत गर्नु आवश्यक छ अर्थात् नयाँ कुरा जान्न खोज्ने, ऊर्जाशील भैरहने सोच छैन भने विश्वास गर्नुहोस्, तपाई बूढो हुनुभयो । सोच र चिन्तनका कारण मानिसहरूलाई बूढो र युवा भनेर परिभाषित गर्न सकिन्छ । युवा भएर पनि ऊ निष्क्रिय छ, जोस–जाागर छैन, नयाँ कुरा जान्न खोज्दैन भने २० वर्षको मानिस पनि वृद्ध हुन्छ । फुर्तिलो, जोसिलो, शारीरिक अभ्यास गरी तन्दुरुस्त भैरहने र ज्ञानका दृष्टिले आफूलाई अद्यावधिक राखिरहने मानिसहरू सधंै युवा रहन्छन् । त्यस्ता व्यक्तिहरूलाई उमेरले खासै फरक पार्दैन । त्यसकारण तपार्इंले आफूलाई २०–२२ वर्षे जवान सोचे युवाहरूमा हुने जस्तो ऊर्जा कायम रहन्छ । अर्को पक्ष के हो भने तपाईंको हकमा श्रीमान् र श्रीमतीबीचको उमेरको फरक निश्चय नै बढी छ । यस्तोमा श्रीमान्–श्रीमतीबीचको सोच, चाहना र प्राथमिकताहरू फरक हुनु स्वाभाविक पनि हो ।