योगेन्द्र राई, गायक/संगीतकार
सांगीतिक यात्रा कस्तो छ ?
देशको स्थिति डामाडोल भए पनि म संगीतप्रति समर्पित छु । आफ्ना गीतको नयाँ म्युजिक भिडियो बनाउँदैछु अनि सांगीतिक कार्यक्रमहरूमा थोरबहुत सहभागिता जनाउँदै आएको छु ।
तपार्इंको नयाँ गीति एल्बम ‘उत्साह’मा कस्ता किसिमका गीत समावेश गर्नुभएको छ ?
मैले यो एल्बममा लोक, आधुनिक अनि टिपिकल गीतहरू समावेश गरेको छु । यो एल्बम सबै किसिमका श्रोताका लागि कोसेढुंगा साबित हुनेछ भन्ने आशा राखेको छु ।
कस्तो छ सांगीतिक क्षेत्रको कमाइ ?
म पैसा कमाउँछु भनेर संगीतमा होमिएको होइन । यदि पैसा कमाउने हो भने कुनै व्यापार गर्थें । संगीत मेरो सानैदेखिको सौख हो । संगीतमा लागेर म आत्मसन्तुष्ट र दर्शक–श्रोताको माया पाइरहेको छु, यही नै हो मेरो कमाइ । पहिलेको तुलनामा अहिले देशको स्थितिले गर्दा पनि त्यति राम्रो कमाइ छैन ।
आफूलाई कस्तो टाइपको गीत फिट हुन्छ जस्तो लाग्छ ?
म आफूलाई नेपाली सुगम संगीतलाई माया गर्ने गायक भन्न रुचाउँछु । त्यसैले प्राय: म आधुनिक गीत गाउँछु । मानिसले प्राय: ‘क्याची’ टाइपको गीत मन पराउँछन् जस्तो लाग्छ । त्यही भएर अलि छिट्टै मान्छेको मुखमा झुन्डिने किसिमको गीत रुचाउँछु ।
म्युजिक भिडियोबाट कस्तो प्रतिक्रिया पाइरहनुभएको छ ?
विज्ञान राईद्वारा निर्देशित म्युजिक भिडियोहरू टेलिभिजनहरू काउन्टडाउनमा एक नम्बरसम्म पर्न सफल भैसकेका छन् । युट्युबमा पनि धेरैले हेरेका छन् र राम्रै प्रतिक्रिया पाएको छु ।
हेयर स्टाइल त पूरै परिवर्तन गर्नुभएछ नि ?
हामी कलाकारले समयको मागअनुसार हिँड्नुपर्ने स्थिति छ । यो समयको माग पनि हो ।
भावी योजना ?
राम्रो गीत संगीत सिर्जना गर्ने मेरो मुख्य योजना हो र म यसैमा निरन्तर सक्रिय रहन्छु भने केही समयपछि अभिनयमा पनि सक्रिय हुनेछु ।