हङकङमा आयोजित नेसन्स कप टेनिस प्रतियोगिताको उपाधि ‘टिम वेष्टर्न’ ले जितेको छ । नेपाल लगायत विभिन्न १० मुलुकका ४० खेलाडीहरूको सहभागिता रहेको प्रतियोगितामा ‘टिम नेपाल’ भने सेमीफाइनलबाटै बाहिरियो ।
५ खेलाडीको एउटा समूह बनाइएको प्रतियोगिता नक आउटका आधारमा खेलाईएको छ । हङकङ नेप्लिज् टेनिस सोसाइटीद्वारा आयोजित पहिलोपटक प्रतियोगितामा नेपाल, फ्रान्स, जर्मनी, बेलायत, फिलिपिन्स, अमेरिका, लात्भिया, हङकङ, चीन, इटली लगायत मुलुकका खेलाडीहरूको सहभागिता थियो । विभिन्न मुलुकका खेलाडीहरू बीच सामाजिक सदभाव कायम गर्न प्रतियोगिताको आयोजना गरिएको एसोसिएसनका अध्यक्ष मगेन्द्र राईले बताए ।
‘प्रतियोगिताबाट नेपाली खेलाडीहरूलाई पनि एक्सपोजर मिलोस भन्ने हाम्रो चाहना हो’, हङकङका सर्टिफाइड कोच राईले भने, ‘राम्रो गर्न सके यस खेलमा व्यावसायिक रुपमै जम्न सकिने ठूलो सम्भावना छ ।’ पछिल्लो समय लङ टेनिसतर्फ नेपाली खेलाडीहरूको आकर्षण बढ्दो रहेको उनले बताए । हङकङमा व्यावसायिक खेलाडी उत्पादन गर्नु समेत टेनिस सोसाइटी गठनको उद्देश्य रहेको अध्यक्ष राईले बताए ।