नेपाली सांगीतिक क्षेत्र पाइरेसीका कारण आक्रान्त छ । थोरै रेडियो स्टेशनले मात्र रोयल्टी दिए पनि अधिकांश रेडियो तथा टेलिभिजनले नेपाली सांगीतिक श्रष्टालाई रोयल्टी उपलब्ध गराउँदैनन् । एकातिर रोयल्टी नपाएको पीडा, अर्को तिर आफ्नै सिर्जनाको पाइरेसी । नेपाली सांगीतिक क्षेत्रमा सक्रिय संगीतकर्मीहरुको यही पीडालाई मध्यनजर गर्दै म्युजिक नेपालले एउटा नयाँ प्रयोगको थालनी गरेको छ ।
नेपाली सांगीतिक क्षेत्रको बढ्दो पाइरेसीका कारण व्यवसायिक बजारमा देखापरेको प्रतिकूल अवस्थाबाट छुटकारा पाउन म्युजिक नेपालले ‘एटीएम’ प्रविधिको प्रयोग गर्न थालेको छ । यसै साता म्युजिक नेपालले एटिएमको सफल परीक्षण समेत गरेको छ । नेपाल संगीत–नाट्य प्रज्ञा–प्रतिष्ठानका उपकुलपति शम्भुजित बासकोटा तथा नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) विज्ञानराज शर्माको उपस्थितीमा काठमाडौंको न्यूरोडस्थित भूगोल पार्कमा एटिएमको पहिलो प्रयोगको थालनी गरिएको हो । उक्त अवसरमा म्यूजिक नेपालका प्रवन्ध–सञ्चालक सन्तोष शर्माले एटिएमको प्रयोग सफल भयो भने नेपाली सांगीतिक क्षेत्र पुन: पुरानै स्वर्णिम युगमा फर्किने आशा व्यक्त गरेका छ । पछिल्लो समय बढ्दो पाइरेसीका कारण नेपाली संगीतको भौतिक (सीडी, क्यासेट) बजार ठप्प जस्तै छ । हाल म्युजिक नेपालको एटिएम प्रविधि न्यूरोडको भूगोलपार्कसंगैको अबिरल मोवाइल तथा इलेक्ट्रोनिक्समा परीक्षणका रूपमा राखिएको छ ।