हङकङमा बसोबास गर्ने गायक तथा गीतकार पीएस लिम्बुले गाएका आधुनिक गीतहरुको एल्बम ‘इच्छा—२’ लाई संगीतकार बुलु मुकारुङले लोकार्पण गरेका छन् । गायक लिम्बुले यसअघि ‘इच्छा–१’ शीर्षकको एल्बम स्रोतामाझ ल्याएका थिए । बुधवार साँझ बिएफबिएस गोर्खा रेडियोको प्रत्यक्ष रेडियो कार्यक्रम स्वर्णिम संगममार्फत उक्त एल्बम विमोचन गरिएको हो ।
रेडियोका स्टेसन म्यानेजर बिनोदध्वज खड्काको सभापतित्वमा सम्पन्न विमोचन समारोहमा गायिका तारा लिम्बु, निशा देसार, संगीतकार यासेली योङहाङ, बब्रिम लिम्बु, मोडल रुपा आङबुहाङ, रशि लिम्बु पनि सहभागि भए । एल्बम विमोचन समारोहमा उपस्थित संगीतकर्मीहरुले गायक लिम्बुको रचना तथा स्वरको प्रसंसा गरेका थिए । ‘इच्छा–२’ मा पाँच वटा गीतहरु समावेश छन् । एल्बममा दुई वटा नेपाली, दुई वटा लिम्बु तथा एउटा गुरुङ भाषाका गीत सुन्न सकिन्छ । थ्री जी साउण्ड इन्कले यो एल्बमको बजार व्यवस्थापन गर्नेछ । एल्बमका गीतमा निशा देसार, मनिका पाण्डे तथा माया गुरुङले गायक लिम्बुलाई यूगल गायनमा साथ दिएका छन् । एल्बमका गीतमा हरि लम्साल, शिखर सन्तोष, कृष्ण कुमार गुरुङ, यासेली योङहाङ तथा बब्रिम लिम्बुले संगीतवद्ध गरेका छन् । कलाकार तथा रेडियो जक्की सरोज केसीले विमोचन समारोहलाई संगीतमय बनाएका थिए ।