चन्द्रकान्त पौडेल, टेलिभिजनकर्मी/गायक
बागलुङमा जन्मिएका चन्द्रकान्त पौडेल बहुमुखी प्रतिभाका धनी युवा हुन् भन्दा फरक पर्दैन । विगत केही वर्षदेखि धौलागिरि टेलिभिजनमार्फत हरेक दिन दर्शकमाझ पुगिरहेका चन्द्रकान्त संगीतकर्मी पनि हुन् । उनले आफ्नै स्वर तथा संगीतको एउटा गीतिसंग्रह ‘प्रसिद्धि’ सार्वजनिक गरिसकेका छन् । पश्चिम नेपालका रुकुम, प्युठान, गुल्मी, पर्वत, बागलुङ, मुस्ताङसम्म पहुँच भएको धौलागिरी टेलिभिजनको हरेक बिहान ६ देखि ७ बजेसम्म प्रसारण हुने ‘गीता वाणी’ कार्यक्रममार्फत दर्शकमाझ पुगिरहेका चन्द्रकान्तले यही कार्यक्रमलाई युट्युबमार्फत स्वदेश तथा विदेशका नेपाली दर्शकमाझ समेत पुर्याइरहेका छन् । आफ्नो कार्यक्रममा उनी भागवत गीताका उपदेशहरूलाई सर्वसाधारणले बुझ्ने गरी सरल भाषामा प्रस्तुत गर्छन् । आफ्नो बाल्यकाल भारतको गुरुकुलमा बिताएका चन्द्रकान्तलाई त्यहाँ रहँदा साँझ–बिहानको आरती तथा भजनले नेपाली, हिन्दी तथा संस्कृत भाषाको सांगीतिक ज्ञान लिने अवसर समेत प्रदान गर्यो । नयाँ दिल्लीको गान्धर्व संगीत महाविद्यालयमा अध्ययन गरेका चन्द्रकान्तले गुरुकुलमै उत्तर मध्यमासम्म पूरा गरेपछि ज्योतिष शास्त्रमा स्नातक तह अध्ययनका लागि काठमाडौंको वाल्मीकि कलेज रोजे । वाल्मीकिबाटै ज्योतिष शास्त्रमा स्नातकोत्तर गरेका चन्द्रकान्त यतिबेला रत्नराज्य क्याम्समा संगीत विषयमा स्नातक समेत गर्दैछन् । आफ्नो पहिलो एल्बमका केही गीतका म्युजिक भिडियोमा उनी आफैंले अभिनय गरेका छन् । चन्द्रकान्त आगामी दिनमा संगीत तथा टेलिभिजनमै रमाउने बताउँछन् । आफूमा भएका हरेक कलालाई प्रस्फुटन हुने मौका दिनुपर्छ भन्ने कुरामा विश्वास राख्ने चन्द्रकान्तसँग साप्ताहिककाको तीन प्रश्न :
धेरैवटा विधामा सक्रिय हुँदा परिचय बनाउन समस्या पर्दैन ?
यतिबेला मैले दुईवटा विधामा मात्र सक्रिय हुने निर्णय गरेको छु । टेलिभिजनमा काम गर्न थालेपछि दर्शकको माया पाइँदो रहेछ । संगीतप्रतिको सानैदेखिको रुचिका कारण यो क्षेत्रबाट पनि टाढा जान सक्दिनँ ।
राष्ट्रिय टेलिभिजनमा कार्यक्रम सञ्चालन गर्ने प्रयास गर्नुभएको छैन ?
त्यसका लागि पनि प्रयास जारी छ । कार्यक्रम निर्माता तथा सञ्चालनमा अनुभवी भएपछि मात्र राष्ट्रिय टेलिभिजनमा आउने योजनामा छु । युट्युबको सुविधाका कारण मैले अहिले सञ्चालन गर्ने कार्यक्रम हरेक स्थानका दर्शकले हेर्न पाउनुभएको छ । यद्यपि म अहिले टेलिभिजन कार्यक्रमको प्रशिक्षणमा छु भने पनि हुन्छ ।
आगामी दिनका लागि के–कस्तो योजना बनाउनुभएको छ ?
आधुनिक ज्योतिष विद्यामा आधारित स्तरीय टेलिभिजन कार्यक्रम बनाउने लक्ष्य छ । अहिले त्यसकै अनुसन्धानमा व्यस्त छु । चाँडै नै देश–विदेशका दर्शकहरूलाई उपयोगी हुने कार्यक्रममा प्रस्तुत हुँदैछु ।