उदेश श्रेष्ठ, गायक/संगीतकार
सांगीतिक व्यस्तता कस्तो छ ?
यतिबेला चौथो एकल एल्बमको तयारमा व्यस्त छु । आफ्नै शब्द तथा संगीतमा सातवटा गीत रेकर्ड गरेको छु । यसबाहेक भर्खरै सार्वजनिक भएको ‘देश निर्माण...’ शीर्षकको राष्ट्रिय गीतको भिडियो पनि दर्शकमाझ पुर्याएको छु ।
नयाँ एल्बममा कस्ता गीत समावेश गर्नुभएको छ ?
पप संगीतमा मैले आफ्नै शैली विस्तार गरेको छु । यो एल्बमका गीतमा मैले केही प्रयोग पनि गरेको छु । केही महिनापछि सार्वजनिक हुने यो गीतको म्युजिक भिडियोको छायांकनका लागि अस्ट्ेरलिया जाने तयारी गर्दैछु ।
‘देश निर्माण...’ गीत कसरी तयार पार्नुभयो ?
भूकम्पपछि अधिकांश विरहका गीतहरू सार्वजनिक भए । हामीले सधैं दु:खी भएर मात्र बस्नु हुँदैन, देश निर्माणमा आफैं सक्रिय हुनुपर्छ भन्ने सन्देश बोकेको बिपिन मर्मका शब्दलाई मैले आफैं संगीतबद्ध गरेर गाएको हुँ ।
गायनका लागि दुई दर्जन गायक–गायिका कसरी छनौट गर्नु भयो ?
गीतलाई स्तरीय तथा वजनदार बनाउनका लागि स्थापित गायक–गायिकाको आवश्यकता महसुस भयो । फलस्वरुप ओमविक्रम विष्ट, प्रमोद खरेल, मौसमी गुरुङ, पूजा गुरुङ विश्व नेपाली, सिमा संग्रौला, आकांक्षा बस्याल, सुरज शाही ठकुरी, अमन प्रधानसहित म आफैंले यो गीतमा स्वर प्रदान गर्यौं ।
म्युजिक भिडियोको प्रतिक्रिया कस्तो पाउनु भएको छ ?
नेपाली टेलिभिजन च्यानलहरूले राम्रो स्थान दिएका छन् । निकेश खड्काले गीतको भावना अनुसार म्युजिक भिडियो तयार पार्नुभएको छ ।
तपाईंलाई चिनाउने पाँचवटा गीत कुन–कुन हुन् ?
यो जुनीमा तिम्रो हुन सकिनँ, किन मायामा, आँसुको थोपा, तिम्रै लागि, सक्दिनँ बिर्सन आदि गीतले मलाई श्रोता तथा दर्शकमाझ स्थापित गरेका छन् ।
चलचित्र गायनमा कत्तिको सक्रिय हुनहुन्छ ?
चलचित्र ‘लोफर’ को ‘ओखरे साइँला...’ लोकप्रिय भएपछि चलचित्रको पाश्र्व गायनका लागि प्रस्ताव पाइरहेको छु । आधा दर्जन चलचित्रका लागि गीत गाउने तयारी गर्दैछु भने निर्देशक निर्मल शर्माको चलचित्र ‘डन्डिबियो’ मा गायक तथा संगीतकारका रूपमा सहभागी हुँदैछु ।