सुगम संगीतका गीत गाउँदै चलचित्रको पाश्र्व गायनमा समेत स्थापित गायक हुन्- प्रल्हाद तिमिल्सिना । ‘गाला रातै गाला रातै’ देखि ‘फिगर कोकाकोला’ सम्म आइपुग्दा प्रल्हादले गाएका करिब दुई दर्जनभन्दा बढी चलचित्रका गीतमध्ये अधिकांश लोकप्रिय भएका छन् । पाश्र्व गायकका रूपमा चलचित्र एवार्डसमेत जितिसकेका प्रल्हाद अभिनयमा पनि उत्तिकै निपुण छन् भन्ने कुरा भने धेरैलाई थाहा छैन । सांगीतिक करियरको पहिलो गीत ‘हे तारा...’ मा अभिनेत्री सिम्पल खनालसँग अभिनय गरेका प्रल्हादले त्यसपछि कुनै पनि गीतका भिडियोमा अभिनय गरेनन् । गायनमा व्यस्त भएकाले अभिनय गर्ने मौकै पाएनन् । यतिबेला उनले आफ्नै एउटा नयाँ गीतको भिडियोमा अभिनेताकै रूपमा अभिनय गरेका छन् । नायिका वर्षा राउतसँग अनस्क्रिन रोमान्स गरेका प्रल्हादले विकास चौधरीको संगीतको ‘म कति रोएँ...’ गीतमा आफ्नो अभिनय कौशल प्रस्तुत गरेका हुन् । उक्त भिडियो आगामी साता प्रिमियर गरिने बताइएको छ ।