गम्भिर विष्ट, नृत्य निर्देशक
दिनचर्या कस्तो चल्दैछ ?
मैतीदेवीस्थित मेरो नृत्य प्रशिक्षण केन्द्र डान्स फिवरमा प्रशिक्षार्थीहरूलाई नृत्य सिकाउनेमै बढी व्यस्त छु भने केही चलचित्र र म्युजिक भिडियोहरूको छायांकनलाई पनि समय दिइरहेको छु ।
कतिवटा चलचित्रमा नृत्य निर्देशन गर्नुभयो ?
खासै गनेको त छैन । मैले ‘लुट’बाट थालेको हो । अहिलेसम्म १५ वटाजति पुगे होलान् ।
सुपरहिट लुटका नृत्य निर्देशक त निकै व्यस्त हुनुपर्ने, किन थोरै ?
मैले जति पनि गीतको नृत्य निर्देशन गर्न पाएँ, ती सबै उत्कृष्ट छन् । थोरै गर्छु, उत्कृष्ट गर्छु ।
कोरियोग्राफीबाट जीवन गुजारा हुन्छ ?
भैरहेकै छ । मैले जानेको र रोजेको पेसा हो यो । कोरियोग्राफीमा म आत्मसन्तुष्टि प्राप्त गर्छु ।
आफैंलाई मन परेका आफ्नै तीन कोरियोग्राफी ?
मायाज बारको ‘सरसर माया वरवर’ र ‘वारी सिकारी’ तथा टलकजंग भर्सेज टुल्केको ‘नाचन मैया’ ।
तीन नायिका जो असाध्यै सेक्सी लाग्छन् ?
झरना बज्राचार्य, मलिना जोशी र रीमा विश्वकर्मा
जीवनको सबैभन्दा ठूलो गल्ती ?
कसैको चित्त दुखाएको छैन । कसैलाई नोक्सानमा पारेको छैन । हाँस्ने–हँसाउने, नाच्ने–नचाउने मान्छे हुँ । मैले के नै गल्ती गर्छु होला ?
जीवनको ‘टर्निङ प्वाइन्ट’ ?
नेपाल टेलिभिजनको रियालिटी डान्सिङ सो ‘छमछमी’को कोरियोग्राफर हुनु । त्यसपछि मैले यो क्षेत्रमा आफूलाई चिनाउने र काम देखाउने अवसरहरू पाउँदै गएँ ।
नाच्न नआएको भए ?
सम्भवत: चलचित्र निर्देशक हुन्थें ।
नचाउन गाह्रा नायक ?
मैले जति पनि नायकलाई नचाएँ, उनीहरूमध्येबाट अलिक कम नाच्न आउनेहरूमा दयाहाङ राई, खगेन्द्र लामिछाने र कर्म ।
अरू नायकले नाच्न जानेका छन् त ?
धेरै कमलाई नाच्न आउँछ । चलचित्रमा गीत हुन्छन्, गीतमा नाच्नुपर्छ भनेर नाच्न सिक्ने चाह चाहिँ धेरैमा नभएको पाएको छु ।
दाइ गजित विष्टजस्तो नायकचाहिँ किन नभएको ?
खोइ, यति राम्रो लुक्स हुँदा पनि कसैले पत्याएनन् । (हाँसो)
गजित राम्रो नाच्ने कि तपाईं ?
दाइ मेरो नाचको गुरु पनि भएकाले गुरु जत्तिको नाच्न त कहाँ सक्छु र ?
तपाईंको एउटी नायिकासँग अफेयर छ रे नि ?
लौ यो नटुवासँग प्रेमको हल्ला गरेर खाडलमा पर्न चाहने को रै’छिन् ती अभागी ?