उषा खड्गी, पूर्व मिस नेपाल
१५ वर्षअघि सन् २००० मा मिस नेपाल घोषित हुँदा उषा खड्गी जति आकर्षक देखिन्थिन्, आज पनि उत्तिकै सुन्दर छिन् । पहिरन जस्तोसुकै भए पनि व्यक्तित्वमा फरक नपर्ने तर मानिसको व्यवहार सकारात्मक हुनुपर्ने खड्गीको धारणा छ ।
उषा खड्गी घरमा सामान्य सुतीका पहिरन र बिना मेकअप नै भेटिन्छिन् । १५ वर्षअघि मिस नेपाल हुँदाताका लगाइएका पहिरन उनलाई आज पनि असाध्यै मन पर्छ । कार्यक्रममा सहभागी भैरहनुपर्ने भएकाले विभिन्न स्टाइलका पहिरन लगाउनुपर्ने भए पनि उनी ब्रान्डमा जोड दिन्नन् । लगाउँदा आरामदायक र आफूलाई मन परेपछि कमसल वा सस्तो नै किन नहोस्, उनी खरिद गरिहाल्छिन् । रेवलन ब्रान्डका कस्मेटिक प्रयोग गर्ने उषाको हेयर स्टाइल प्रायस् सामान्य कर्लिमा खुल्ला नै हुन्छ, तर पार्टीमा जाँदा विभिन्न प्रकारका जुरो बनाउँछिन् । सुन र हीराका गहना भनेपछि हुरुक्कै हुने खड्गी घाँटीमा भने चल्तीका ज्वेलरी प्रयोग गर्छिन् ।
ब्याग र जुत्ताप्रति खासै ब्रान्ड कन्सियस नभएकी उषा पहिरनअनुसारका व्याग तथा फुट वेयरमा ध्यान दिन्छिन् । उनीसँग सय जोरभन्दा बढी जुत्ता छन् । ब्रान्डेड सनग्लास तथा घडी रुचाउने उषाले घडी लगाउन थालेको धेरै भएको छैन । छोरी जन्मिएपछि मात्र छोरीलाई कतिबेला खाना ख्वाउने र काम गर्ने भन्ने कुराको जानकारी राख्न उनले घडी लगाउन थालेकी हुन् । सामान्य पहिरनमा पनि आफूलाई पूर्ण बनाउन सकिन्छ भन्ने मान्यता राख्ने उषा भन्छिन्– व्यवहार र सकारात्मक सोचले नै मानिसलाई फेसनेबल बनाउँछ ।