छोटो समयमै सांगीतिक क्षेत्रमा स्थापित भएको सांगीतिक समुह ‘वाणी’ ले आज शुक्रवार आफ्नो पछिल्लो गीत ‘बाबुको जुंगा...’को म्युजिक भिडियो प्रिमियर गरेको छ । मण्डला थिएटरमा आयोजित एक सांगीतिक समारोहमा पुराना गायक रविन शर्माले उक्त भिडियो सार्वजनिक गरेका हुन् । गायक सशान कँडेलद्वारा निर्देशन गरिएको म्युजिक भिडियोमा समावेश गीत वाणीको दोस्रो एल्बम ‘बुढा बा’ मा समावेश छ । एल्बमको यो पहिलो गीतको म्युजिक भिडियोमा गीतको भावनालाई उतारिएको छ ।
दु:ख गरेर हुर्काएको छोरा नराम्रो बाटोमा हिँड्न थालेपछि वृद्ध बुवा–आमालाई परेका पीरलाई भिडियोमा प्रस्तुत गरिएको छ । सार्वजनिक भिडियोमा ब्याण्डका गायक पुष्पन प्रधानको स्वर तथा शब्द छ । संगीत ब्याण्डकै संगीतकर्मीहरुले तयार पारेका हुन् । ब्याण्डमा पुष्पन प्रधान, सुमन लेप्चा तथा देवेन्द्र गौतम आवद्ध छन् ।
उक्त भिडियो शनिवार साँझदेखि यूट्युबमा उपलब्ध हुनेछ ।