ग्ल्यामर क्षेत्रमा कुनै अभिनेता तथा अभिनेत्रीको अथवा अभिनेत्री तथा निर्देशकको केमेस्ट्री मिल्नुलाई सामान्य रूपमा हेरिन्छ । केमेस्ट्री मिलेको जोडीले दर्शकका लागि स्तरीय कला प्रदर्शन गर्न सक्छन् । यतिबेला म्युजिक भिडियोको क्षेत्रमा निर्देशक समन अधिकारी तथा अभिनेत्री सुप्रिया कटवालको केमस्ट्रीको चर्चा हुन थालेको छ । नहोस् पनि किन ? गायक कन्हैया सिंहको ‘मन हुनेको माया’ गीतबाट प्रारम्भ भएको समन र सुप्रियाको म्युजिक भिडियोको सहकार्य शिव परियारको ‘एक पाइला साथ भयो’ सम्म आइपुग्दा ३६ वटा पुगेको छ । समनको भिडियो निर्माण गर्ने कम्पनी रेसक्यू क्रिएसनमा प्रबन्ध निर्देशकका रूपमा कार्यरत सुप्रियालाई समनले निकट भविष्यमै नेपाली चलचित्रमा समेत अभिनेत्रीका रूपमा पदार्पण गराउँदैछन् । ब्याकबाइट स्तम्भका लागि सुप्रियाले समनका असल तथा खराब कुरा यसरी सार्वजनिक गरिन् ।
असल बाइट्स
मेहनती : काममा एकदमै मेहनत गर्ने मान्छे, आज यो ठाउँमा आइपुग्नुमा मेहनतले ठूलो भूमिका निर्वाह गरेको छ ।
सकारात्मक सोचाइ : कहिले पनि नकारात्मक कुरा नसोच्नु अर्को सकारात्मक पक्ष हो ।
मिलनसार : मान्छेलाई आफ्नो वशमा पार्न सक्ने अनौठो खुबी छ ।
राम्रो सल्लाहकार : व्यवसायिक रूपमा मात्र होइन, व्यक्तिगत रूपमा पनि उहाँ राम्रो सल्लाह दिनुहुन्छ ।
चलाख : काम गर्नुभन्दा पहिले नै त्यसको परिणाम कस्तो आउँछ भन्ने कुरा थाहा पाइसक्नु हुन्छ ।
खराब बाइट्स
समयसीमा : उहाँ आफ्नो समयमा मात्र चल्ने मान्छे हो, अरूको समयको कुनै मतलब छैन । समय व्यवस्थापन गर्न नसक्ने बानीले मैलै नै धेरै पटक धोका पाएकी छु ।
स्वार्थी : आफूलाई हानि र अरूलाई फाइदा हुने काममा हातै हाल्नु हुन्न । आफ्नो मात्र राम्रो भयो भने पुग्छ भन्ने सोच्नु हुन्छ ।
जिद्दी : आफूले जे भन्यो त्यो हुनै पर्ने, अरूको कुरा नसुन्ने जिद्दी स्वभाव छ ।
झूटो बोल्ने : झूटो बोल्ने बानीले गर्दा कहिलेकाहीं स्पष्ट कुरा गर्नु हुन्न ।
चाँडै रिसाउने : सानो गल्तीमा पनि ठूलो स्वरमा कराउने बोल्ने बानी छ ।
स्वास्थप्रति लापरवाही : स्वास्थ्यप्रति सचेत हुनुहुन्न । फिट र फाइन हुन मन पराउनु हुन्छ तर मेन्टेन छैन ।