नेपाली खेलकुदका केही लिजेन्डमा पर्छन्– म्याराथन धावक वैकुण्ठ मानन्धर । काठमाडौंमा पहिलो दक्षिण एसियाली महासंघीय खेलकुद हुँदा नेपालले निश्चित रूपमा स्वर्ण पदक जित्ने अपेक्षा राखेको थियो र उनले नेपाललाई निराश पनि पारेनन् ।
म्याराथन प्रतियोगिताको अन्तिम दिन राखिएको थियो र मानन्धर पहिलो स्थानमा रहँदै दशरथ रंगशालामा प्रवेश गर्दा समापन समारोहका लागि आएका नेपालीहरूको खुसीको सीमा रहेन । उनले त्यस दिन २ घन्टा २७ मिनेट ११ सेकेन्डमा दौड पूरा गरेका थिए ।
उक्त स्पर्धामा नेपालकै अर्जुन पण्डित दोस्रो तथा भारतका जोगिन्दर सिंह तेस्रो भएका थिए । वैकुण्ठ र अर्जुनबीच १४ मिनेटको अन्तर थियो ।
सुरुदेखि अन्त्यसम्म वैकुण्ठ अगाडि रहेर एक्लै दौडिए । पहिलो दक्षिण एसियाली खेलकुदमा प्राप्त उक्त स्वर्ण पदकले नै वैकुण्ठलाई नेपाली खेलकुदको लिजेन्ड बन्ने यात्रातर्फ अग्रसर गराएको थियो ।