केही दिन बाँकी रहेकाले दसैंमा उमंग कायमै हुन्छ कि भन्ने आशाचाहिँ छ । स्थिति पहिलेकै जस्तो भैदिए मेरो मात्र होइन सबैको दसैं राम्रो हुन्छ, तर देशको अवस्था हेर्दा केही भन्न सकिँदैन ।
नम्रता श्रेष्ठ, नायिका
दसैं आउन अझै बाँकी छ । सरकारले जति सक्दो छिटो पहल गरेर इन्धनको व्यवस्था गरिहाले हुन्थ्यो । त्यसो भए अहिले सोचेजस्तो नरमाइलो हुँदैन । सरकारले सकेन भने चाहिँ यो वर्षको दसैं अहिलेसम्मकै सबैभन्दा झुर दसैं हुनेछ ।
डिजे शिशिर
समस्या समाधान भए त राम्रै हुन्छ, नत्र रमाइलो गर्न सक्ने अवस्था रहँदैन ।
बादल प्रसाईं, गायक
देश जुन अवस्थाबाट गुज्रिरहेको छ, त्यसलाई हेर्दा त दसैं नरमाइलो हुने पक्का छ । यद्यपि आशा अझै मरेको छैन ।
विजय शिवाकोटी, गीतकार
यसपालि इन्धन नभएर हिंड्नुपर्ने भो’ । अब यो मोटा ज्यानको के गति हुने हो भनेर सम्झँदै डर लाग्छ । हे भवानी, मेरो र देशको समस्या सुल्झाइदेऊ ।
सिपी पौडेल ‘मोटे’, हास्यकलाकार
नाकाबन्दीले सबैलाई नराम्रोसँग असर गरेको छ । संस्कृतिलाई नियमितता दिने काम भने गर्नुपर्छ । म दुर्गा भवानीको अनुष्ठानमा लाग्छु ।
मोहन निरौला, निर्देशक
यो देशमा सधैंको दशा, यस्तोमा के–को दसैं ?
रेखा थापा, नायिका
देशको स्थिति विकराल भएकाले यसपालि घर इलाम नजाने भएको छु । काठमाडौंमै दसैं मनाउनुपर्ला ।
डेनी निरौला, गायक
खोइ, यसपालि त पेट्रोलकै लाइनमा बसेर टीका लगाइएला जस्तो छ ।
वर्षा राउत, नायिका
यसपालि दसैंको कुनै उमंग देखिँदैन । दसैं होइन, दशा आइरहेजस्तो लागेको छ ।
वसन्त निरौला, निर्देशक
यसपालिको मेरो दसैं खुकुरीको धारमा छ ।
चारैतिरबाट यो नाकाबन्दीको मारमा छ ।
गोविन्दप्रसाद उपाध्याय, गीतकार
विवाहको २५ औं वार्षिकोत्सव मनाउन म र मेरी श्रीमती दुईमहिने अमेरिका भ्रमणमा छौं । यहाँ मेरो चलचित्र ‘फूलैफूलको मौसम तिमीलाई’को प्रिमियर पनि गर्दैछौं । मेरो दसैं यसपटक अमेरिकामा ।
दिनेश डिसी, निर्देशक
न वाहनमा इन्धन, न चुलोमा इन्धन, धन हुनेले पनि पाएनन् इन्धन । सबै डामाडोल छ, कतै पनि जान नमिल्ने स्थिति छ । यस्तो अवस्थामा कसरी पो मनाउने हो दसैं ?
वसन्त सापकोटा, संगीतकार
गाडीहरू कम कुद्ने भएपछि धूलो उड्दैन, अनि धेरै बाँच्ने भैहालियो । त्यसैले दसैंमा सबैलाई दीर्घायुको कामना । भात पकाउन ग्याँस छैन, मासु केमा पकाउनु ? मेरो दसैं त यसपाला पेट्रोल र ग्याँसको लाइनमै बित्ने भो ।
शान्तिप्रिय, चलचित्र पत्रकार
तराईमा नाकाबन्दी र इन्धनको अभावले सारा नेपालीलाई दु:ख परेकाले यसपटकको दसैं उत्साहजनक हुँदैन ।
रोशन भट्टराई, गीतकार
भूकम्पमा मेरो घर बिग्रियो । दिदीको छोरा पनि चपेटामा पर्यो । फेरी देशको अवस्थाका कारण पनि दसैं मनाउने चाहना छैन ।
नीता ढुंगाना, नायिका
इन्धनको अभावमा बित्छ कि भन्ने लाग्छ ।
लक्ष्मी ठाकुर, हेयर स्टाइलिस्ट
कोठामा ग्याँस नभएर सात दिनदेखि राम्रोसँग खाना खाइएको छैन । दसैंमा अब यो भन्दा बिजोग होला कि भन्ने डर छ ।
प्रमोद अग्रहरि, अभिनेता
नयाँ संविधान आएको वर्ष खुसीयाली हुनुपर्ने हो, तर नाकाबन्दीले आमजनता खुसी हुन सकिरहेका छैनन् । नयाँ प्रधानमन्त्री आएका छन् । त्यसैले अब केही होला कि भन्ने आशा छ ।
मणि लोहनी, कवि
सानो छँदा दसैंको प्रतीक्षा हुन्थ्यो । युवावस्थामा अर्कै रौनक हुन्थ्यो । अब सन्तानको खुसी नै प्यारो लाग्न थालेको छ, तर कहालीलाग्दो हाहाकारमा दसैं त देशकै दशाजस्तो भएको छ । हेरौं ओलीको सरकारले जनतालाई कस्तो राहत दिन्छ ?
विजयरत्न तुलाधर, निर्देशक
अब सधैं यस्तै हो भने देश र कामको चिन्ता लिइँदैन, बरु परिवार तथा इस्टमित्रहरूलाई समय दिएर जे जसरी सकिन्छ, त्यसरी दसैं मनाइन्छ ।
अर्जुन तिवारी, छायाँकार
मनमा उत्साह छैन, तनमा उमंग छैन । इन्धन नभएर काम छैन । काम नभएपछि धनमा पनि कटौती भएको छ ।
पवित्रा आचार्य, नायिका
भोकै दसैं मनाउन सकिन्न, छाक टारेर मनाउनुपर्ला ।
अनन्त तिमिल्सिना, निर्माण नियन्त्रक
खसीको ठाउँमा फर्सी, रक्सीको ठाउँमा लप्सी, दुई–चार हात र दुई–चार गाँसमै बित्लाजस्तो छ दसैं । ससुराले टीका लगाउन बोलाउँदा दक्षिणाको ठाउँमा ४ लिटर पेट्रोल दिने भए आइन्छ, नत्र आइन्न भनिन्छ ।
दीपकराज गिरी, हास्यकलाकार
संविधान बनेपछिको यो पहिलो दसैं आफ्नै गाउँ भोजपुरमा मनाउँदैछु । हाम्रो गाउँमा त दसैंको माहौल पनि सुरु भैसक्यो भन्ने सुनेको छु । दसैं लगत्तै संखुवासभाको कार्यक्रममा सहभागिता जनाउँदैछु ।
दावा के शेर्पा, गायक
अरू केही गर्न नसके पनि पिङ खेलेरै भए पनि दसैं मनाउँछु ।
मिङ्स लामा, गायिका
यसपटकको दसैंमा त म इजरायलमा बसोबास गर्ने नेपालीहरूसँग पो मनाउँदै छु त ।
ताराप्रकाश लिम्बू, संगीतकार