भद्रकला आङबुहाङ राई, गीतकार
नढाँटी भन्ने हो भने दसैंमा सबैभन्दा बढी रमाइलो बालबालिकाहरूले नै गर्छन् । लामो समय विद्यालय बिदा हुने, बुवा–आमाले नयाँ लुगा किनिदिने, बजार घुमाउन लाने, विभिन्न खेल खेलाउने, पिङ खेल्ने, मीठा–मीठा कुरा खाने, टीका लगाएर दक्षिणा दिने आदि गतिविधिका कारण दसैं बालबालिकाहरूका लागि सबैभन्दा रमाइलो पर्व बनेको छ ।
मेरो बाल्यकालको दसैं पनि असाध्यै रमाइलो थियो । म ताप्लेजुङको चाँगे गाउँमा लिम्बू परिवारमा हुर्किएकी चेली हुँ । भन्नेहरूले त लिम्बूहरूले दसैं मनाउने होइन पनि भने, तर हामीले गाउँमा मनाएको दसैं म अहिले पनि झलझली सम्झिन्छु । आज पनि हाम्रो गाउँमा दसैं मनाउनेहरूको कमी छैन ।
दसैं नेपालको सबैभन्दा ठूलो पर्व हो । यो कुनै एउटा अथवा दुईवटा जातिले मात्र मनाउने पर्व होइन । यो त हामी सबै नेपालीको राष्ट्रिय चाड हो । यही मान्यताअनुसार ताप्लेजुङको चांगे गाउँमा हामीले मनाएको दसैं जीवनकै अविष्मरणीय क्षणहरू मध्येको एक हो ।
बाल्यकालमा मनाइएको दसैं खोइ किन हो कहिल्लै बिर्सन सकिँदैन । अहिले पनि दसैं आयो कि सानोमा मनाएको दसैंकै सम्झना आउँछ । सानोछँदा मनाएको दसैं सम्झिँदा नै खुसी लाग्छ । दसैंताकाको मौसम नै रमणीय हुन्छ । अझ आफू सानो हुँदा गाउँघरको वातावरण कतिसम्म रमणीय हुन्थ्यो भन्ने कुरा शब्दमा वर्णन गर्न सकिँदैन । दसैंमा खासगरी पहाडका गाउँहरूमा चारैतिर देखिने हरियाली, धानका बाला झुलेको, बारीभरी रंगीबिरंगी फूल फूलेको देख्दा जो–कसैको मन पनि प्रसन्न हुन्छ । सबैभन्दा रमाइलो कुरा त के हुन्थ्यो भने दसैं आउन लागेपछि आफ्नो घरलाई कसरी सजाउने भन्ने प्रतिस्पर्धा नै चल्थ्यो । हामी टाढा–टाढा पुगेर कमेरो माटो ल्याएर घर सजाउँथ्यौं । घरलाई रंगीविरंगी तरिकाले सजाएपछि कति बेला साथीहरूसंग पिङ खेल्न जाने भन्ने हतार हुन्थ्यो ।
यतिबेला म दसैंको सम्झना गीत–संगीतबाट मात्र व्यक्त गर्न सक्छु । चाहेर पनि बाल्यकालको जस्तो गरी दसैं मनाउन न त भ्याइन्छ, न त त्यो उमंग नै बाँकी छ । यसपटक देशमा गएको भूकम्प तथा उक्त भूकम्पपछि म जन्मिएको चांगे गाउँमा गएको पहिरोले दसैं खासै रमाइलो होला जस्तो छैन । मैले आफ्नै नेतृत्वमा ‘चांगे धर्ती आमा कोष’ स्थापना गरेर आफ्नो गाउँका पहिरोपीडितहरूले दसैं राम्रोसँग मनाउन पाउन् भनेर पहल गरिरहेकी छु । गाउँका आमा–बुवादेखि बालबालिकाहरूको मुहार दसैंका बेला खुसी देखिनुपर्छ भन्ने मेरो चाहना हो ।