कोरियामा दसैं
कोरियामा दसैंका बेला बिदा हुँदैन । हाम्रो महान् चाडमा बिदा नमिल्दा एकदम दु:ख लाग्छ । यसपालि आइतबार र शनिबार बिदाको समयमा साथीभाइहरू जम्मा भएर दसैं मनाउने योजना छ । परदेशमा जब चाडबाड आउँछ, मुटुमाथि ढुंगा राखी हाँस्नुपर्या छ भनेजस्तै हुन्छ । घर, परिवार, साथीभाइ, आफन्त सबैको सम्झना आउँछ । आमा, जन्मभूमि र छोरीको सम्झनाले अझ बढी सताउँछ । परदेशमा दुई–चार जना साथीभाइ त हुन्छन् तर नेपालको जस्तो रमाइलो हुँदैन । गत वर्षको दसैंमा म भर्खर कोरियामा पाइला टेक्दै थिएँ । पहिलो पटक विदेश पुग्दा न भाषा जानेको थिएँ, न म सँग पैसा नै थियो । चाउचाउ र पाउरोटी खाएर त्यो दसैं बित्यो । दु:खद तर अविस्मरणिय रह्यो अघिल्लो नर्षको दशैं । यसपालि भने त्योभन्दा फरक र रमाइलो हुनेछ । हामी यहाँ चिनेजानेका साथीभाइहरूसँग शुभकामना आदानप्रदान गरेर, मीठो–मसिनो खाएर दसैं मनाउने तयारीमा छौं । यस्तो महत्त्वपूर्ण चाडमा विदेशमा बस्नुपर्दा एकदमै खल्लो लाग्छ । हामी रहरले बिदेसिएका होइनौं । युवा जनशक्ति यसरी विदेश पलायन हुनबाट रोक्न सरकारले विशेष कार्यक्रमहरू ल्याए त स्वदेशमै बसिन्थ्यो । श्रम, सीप, बुद्धि, विवेक स्वदेशमै लगानी गर्न सक्ने हो भने देशको मुहार नै फेरिन्थ्यो । विदेशमा त सबै जना सानो–ठूलो नभनी काममा अहोरात्र खटिराखेका हुन्छन् । यहाँ समयको अधिकतम सदुपयोग गरिएको देखिन्छ । त्यसै कारण प्रगति पनि सम्भव भयो । त्यही बाटो हाम्रो देशले पछ्याउने हो भने परिबर्तन आउन धेरै समय लाग्दैन ।
खप्तड अधिकारी, कोरिया
मन बुझ्दैन अरबमा
यसपालि यो परदेशीको दसैं खासै रमाइलो होला जस्तो छैन । किनभने बिहीबार मेरो ड्युटी छ, शुक्रबार र शनिबार भने बिदा हुन्छ । रमाइलो त गर्नै पर्यो । परदेशमा बसेर चाडबाड मनाउँदा पक्कै पनि रमाइलो लाग्दैन, तर पनि साथीभाइसँग मिलेर मनाउँदा खुसी नै लाग्छ । दसंैमा मामाघर गएको, साथीभाइहरूसँग मिलेर लिङ्गे पिङ खेलेको सम्झना आउँछ । यहाँ साउदी अरबमा टीकाको भोलिपल्ट खसी काटेर साथीभाइसँग बसेर रमाइलो गर्ने योजना छ । यद्यपि परिवारसँग दसंै मनाउन नपाउँदा दु:ख लाग्नु स्वभाविक हो । चार वर्ष भयो, मैले दसैं राम्रोसँग मनाउन पाएको छैन । रियादमा दसैंको रमाइलो पक्ष भनेको पूर्व मेचीदेखी पश्चिम महाकालीसम्मका दाजुभाइ सँगै मिलेर दसैं मनाउनु नै हो । चाडबाडले घरको याद ताजा गराइदिन्छ । साथीभाइहरू कहाँ पुगे होलान्, गाउँतिरको दसैं कस्तो भयो होला, म पनि यदि घरमा भैदिएको भए कति रमाइलो हुने थियो होला भन्ने सोच्छु । यद्यपि परदेशमा भएपछि मन बुझाउनुपर्छ ।
दिपेश खड्का, रियाद, साउदी अरब
दसैंमा सामाजिक सेवा
साथीहरूसँग भेटघाट एवं रमाइलो गर्ने योजनामा छु । विदेशमा रहँदा सबैभन्दा नरमाइलो लाग्ने भनेकै चाडबाडमा हो । मन खिन्न हुन्छ । आफ्नो गाउँघर, परिवार, आफन्त एवं साथीभाइहरूसँग मनाए जस्तो हुँदैन । तैपनि आफ्नो संस्कृति र परम्परा हो । जब दसैं नजिकिन्छ, मन उडेर आफ्नै गाउँ पुग्छ । साथीहरूसँग खेलेको, डुलेको, घुमेको सम्झना आउन थाल्छ । देउसी र भैलो खेलेको सम्भँmदा त तुरुन्तै नेपाल फर्कौं जस्तो लाग्छ । दसैंको अवसरमा हामी आफ्नो देशका लागि सामाजिक काम गर्ने तयारीमा छौं । भूकम्पपीडित विद्यालय एवं जेलमा रहेका बन्दिहरूका लागि सहयोग जुटाउने तयारीमा छौं । यहाँ हरेक वर्ष दसैंमा विशेष कार्यक्रम हुन्छ । यसपालि पनि उक्त कार्यक्रम सम्पन्न हुँदैछ । साथीहरूसँग नाचगान, पार्टी गरेर मनाउने योजना बनेको छ ।
तुलसी शिवाकोटी, बार्सिलोना, स्पेन
आयरल्यान्डमा दसैं
अन्तर्राष्ट्रिय शान्ति अध्ययन विषयमा एमफिल गर्न आयरल्यान्ड आइपुगेको झन्डै एक महिना हुन लागेछ । गत साता मात्रै एनआरएन, आएरल्यान्डका साथीहरूसँग भेटघाट र चिनाजानी
गर्ने मौका जुर्यो । उहााहरूले दसैंसँगै मनाउन निम्तो दिइसक्नुभएको छ । सबै प्रवासीहरू एकै ठाउँमा भेला भएर नाचगान र रमाइलो गर्दैछौं । गत महिना बेल्जियममा व्यक्तिगत प्रयासमा नेपालको पर्यटन प्रवद्र्धन कार्यक्रमको सबैतिरबाट प्रशंसा पाएपछि निकै उत्साहित छु । यहाँ पनि दसैंमा पर्यटनमा टेवा पुग्ने कार्यक्रम गर्ने योजना बनाएको छु । सहभागी सबैलाई डब्लिनका मुख्य सडकमा पुगेर ‘नेपाल इज सेफ् टु ट्रावल नाउ’ नामक पम्प्लेट बोकाएर आधा घण्टा हिँडाउने योजना छ । साथै भिडीओ कन्फरेन्स गरेर परिवारलाई पनि साथमै भएको आभाष गराउनेछु ।
राजेन्द्र सेन्चुरी
ट्रिनिटी कलेज डब्लिन, आयरल्यान्ड
साइप्रसको दसैं
यसपालि दसैं अलि फरक र विशेष ढंगमा मनाउने मन छ । साथीभाइ जम्मा हुँदा कसरी नेपाल र नेपालीहरूलाई विदेशबाट योगदान पुर्याउन सकिन्छ भन्ने विषयमा छलफल गर्नेछौं । हामीले गरेको सानो सहयोगले कसै न कसैलाई मद्दत पुग्छ भन्ने सोच छ ।
परदेशमा बसेर दसैं मनाउँदा अलि नरमाइलो अथवा कताकता खल्लो महसुस हुन्छ । महान् चाडमा स्वदेशका धेरै कुराको सम्झना आउँछ । विदेशमा सबै कुरा भएर पनि केही नभए जस्तो लाग्छ । हामी धेरैले विदेश–विदेश भन्छौं तर यहाँको वास्तविकता भने अर्कै छ । सोचेजस्तो सजिलो र सुख भने हुँदैन । तैपनि यहाँ साइप्रसमा हुने विभिन्न कार्यक्रमले थोरै भए पनि दु:ख–पीडा भुलाउँछन् । यस्ता कार्यक्रममा धेरै जनासँग भेटघाट र शुभकामना आदानप्रदान हुन्छ । आफ्नो देश भनेको आफ्नै हो । नेपालमा मनाएको जस्तो त हुँदैन । यहाँ जम्मा एक दिनको बिदा हुन्छ, समय बितेको पत्तै हुँदैन । अर्को दिनदेखि फेरि उही पुरानै दैनिकी सुरु हुन्छ ।
दिपेन भण्डारी, साइप्रस
बेलायतमा दसैं
हरेक वर्षझैं यो वर्षको दसैं पनि परिवारका साथ बेलायतमै मनाउँदैछु । घटस्थापनाका दिन जमरा राखेर नवरात्रभर पूजाआजा गरिन्छ । यहाँको कानुनअनुसार आफैंले जिउँदो खसी काट्न नपाइने भएकाले बुचर हाउसमा खसी काटेर राखिदिन अर्डर गरिसकेको छु । यता खसीको मासु सबैतिर सहजै पाइँदैन । १ सय ३० किलोमिटर टाढा गएर ल्याउनुपर्छ । नेपालमा जस्तै मासुका परिकार बनाउन श्रीमतीलाई सघाउनेछु । टीकाको दिन केही आफन्त तथा साथीहरू जम्मा गर्ने मन छ ।
परदेशमा रहे पनि हामी नेपालीहरूले आफनो धर्म, संस्कृति र परम्परा भुल्न सकेका छैनौं । म बसेको क्षेत्रमा स–सानो नेपाल नै छ । गत वर्षझैं यो वर्ष पनि करिब ३ सय नेपालीका बीच दसैंको शुभकामना आदान–प्रदान गर्ने दसैं पार्टीको आयोजित हुँदैछ । परिवारका सबै सदस्यको सहभागिता हुने भएकाले रमाइलो हुन्छ । वर्षभरि विभिन्न पहिरनमा सजिने अधिकांशले उक्त दिन दौरा–सुरुवाल, साडी–चोलो लगाउँछन् । यस्तो पहिरनले एकैछिन भए पनि हामीलाई नेपाली हुनुको अनुभूति दिलाउँछ । हामी विभिन्न नेपाली परिकार खाएर अनि नाचगान गरेर हर्षोल्लासका साथ दसैं मनाउँछौं । त्यति धेरै नेपालीका माझ आफूलाई पाउँदा नेपालमै पो कि छु जस्तो पनि लाग्छ ।
परदेशमा चाडबाड मनाउनुपर्दा खल्लो त महसुस हुन्छ । खासगरी नेपालमा रहेका आफन्त, मान्यजन एवं साथीभाइहरूको सम्झना आउँछ । अब त अलिक बानी पनि परिसक्यो । उता जस्तो चाडबाडको रौनक यता हुँदैन, तर पनि विदेशमा नेपाली साथीभाइहरूसँगै दसैं मनाउनुको अर्कै मज्जा छ । विगतका १६ वटा दसैं परदेशमै परिवारका साथ मनाएको छु । हरेक वर्ष हुने दसैं पार्टी छुटाएको छैन । यहाँ कहिल्यै भेटघाट र चिनजान नभएका नेपालीहरूलाई भेट गराइदिन्छ दसैंले ।
परदेशमा नेपालीहरूलाई भावानात्मक रूपमा जोड्ने चाड हो दसैं । परदेशमा नयाँ वर्ष, तीज, दसैं, तिहारजस्ता चाडपर्वलाई नेपाली जातिको चाडपर्व सम्झेर सबैले मनाउँछौं । यसले गर्दा यता जन्मिएका नानीहरूलाई कमसे कम हाम्रो धर्म, संस्कृति चिनाउन सहयोग पुगेको छ । परदेशमा चाडपर्वमा त्यसमा पनि विशेष गरी दसैंमा अलिक नरमाइलो हुन्छ । नेपालमा हुँदा नवरात्रमा गरिने मन्दिर दर्शन तथा टीकाको दिन खेलिने लिंगे पिङको खुर्ब सम्झना आउँछ ।
कृष्ण बजगाईं, बेलायत
दुबईमा दसैं
दुबईमा नेपालीहरूको महान् चाड दसैं हर्षोल्लासका साथ मनाउने कार्यक्रम भए पनि मुलुकको गम्भीर परिस्थतिले गर्दा नमीठो र खल्लोपनले सताइरहेको छ । यसपटक दसैं नमनाउने कि भन्ने पनि लाग्छ । एकातिर देश गहिरो संकटको भुमरीमा फसिरहेको छ भने अर्कातिर बडादसैं नजिकिँदै छ ।
देशमा फैलिरहेको अराजक स्थितिमा खुसी मनाउन मनले पनि मानेको छैन ।
नेपाल आमा रोइरहँदा हामीले कसरी खुसी मनाउनु ? तर यो मेरो आफ्नो मनको भावना हो । कसैलाई नमनाउन प्रेरित गरेको पनि होइन । सारा देश स्तब्ध भएको अवस्थामा देशले उचित दिशा नपाएसम्म खुसीयाली मनाउनु पनि नेपाल आमाको उपेक्षा गर्नु हो जस्तो लाग्छ । जे–जस्तो भए पनि यो बडादसैंले हामी सबै नेपालीको घर एवं सम्पूर्ण देशमा खुसीयाली ल्याओस् देश उचित निकास पाएर विकासको पथमा अग्रसर होस् ।
ज्याक लामा, दुबई